किन बैशाक १ को नयाँ बर्षलाई नेपाली नयाँबर्ष मान्न सकिन्न ? – विश्वास दीप तिगेला
प्रत्येक बैशाक १ गते हामी निष्फिक्री नयाँ बर्षको शुभ कामना साटासाट गर्नेगर्दछौ । जब यो नयाँ बर्षको विरासत के हो भनेर जानकारी हुनेवित्तिकै चाहि हामी सतर्क हुने गर्छौ अर्थात सतर्क हुनपर्ने हुन्छ । शुभ कामना साटासाट जुनसुकै अवसरमा गर्नुलाई नराम्रो मान्न सकिन्न तर सोच्नपर्ने कुरा चाहि आफ्नो विरासतलाई विर्षिएर अरु कसैको विरासतको पो चाहिने भन्दा बढि जयजयकार गरिरहेका छौ की? त्यहि जयजयकारले आफैलाई औपनिवेशिकको शिकार पो बनि रहेका छौ की ख्याल गर्न जरुरी हुन्छ ।
भारतको उज्वैन राज्यको हिन्दु राजा बिक्रमादित्यले गैरहिन्दु अर्थात शुद्र शासक शकसलाई भारतको मुल्तान नजिकको कुरु क्षेत्रको युद्धमा मारेपछि नयाँ युगको शुरुवात भयो भनी ९ औं शताब्दिमा यो सवंतको शुरुवात भएको मानिन्छ । सामान्यतया बैशाक १ गतेको नयाँ बर्ष भारतको एक प्रान्त उज्वैनको राजा बिक्रमादित्यको विरासत हो । हामी नेपाली हौं तर भारतीय विरासतको जयजयकार गरिरहेका हुन्छौ । त्यतिमात्र होइन बिक्रमादित्य हिन्दु राजा भएकोले यसलाई हिन्दु नयाँ बर्ष र भारतीय नयाँ बर्ष पनि भन्ने गरिन्छ । गजब चाहि इतिहासको विरासत भारतको छ तर बडो हर्सोउल्लासको साथ नेपालकाले नयाँ बर्ष मनाउदछन्, त्यसमा पनि गैर हिन्दु आदिवासीहरुले अन्धाधुन्ध मनाउछन । तर पछिल्लो समय ख्याल गर्ने हो भने नेपालका हिन्दुहरुले पनि नेपाली नयाँबर्ष भन्न छोड्दै गएका छन । उनीहरु नयाँ बर्ष मात्र भनेर शुभ कामना साटासाट गरिरहेका हुन्छन, केही आदिवासीहरुले चाहि नेपाली नयाँबर्ष भनेर शुभकामना कार्ड बाँडी रहेका हुन्छन, उनीहरुले यो क्यालेण्डरको ईतिहास बारे ख्यालै गरेकै छैनन ।
वास्तवमा के हो त क्यालेण्डर (पात्रो) ? सामान्य भाषामा चन्द्रमा र सूर्य घुमिरहेको हुन्छ, त्यहि घुम्नेक्रमको गतिको गणना नै क्यालेण्डर हो । यो गणित हो, विज्ञान हो । चन्द्र र सूर्यको गतिको गणना जो कसैले गर्नसक्दछ । मुख्यतया ३ कुराको आधारमा क्यालेण्डर निर्माण हुन्छ । १. चन्द्रमाको गतिको आधारमा, २. सूर्यको गतिको आधारमा र ३. चन्द्रमा र सूर्य दुबैको गतिको आधारमा, पछिल्लो समय केतकी ग्रह गणितको आधारमा समेत नयाँ पात्रो निर्माण गरिने बताईएको छ ।
विश्वमा ४० भन्दा बढि क्यालेण्डर प्रचलनमा रहेका छन् । क्यालेण्डरहरु धर्म र सभ्यताको आधारमा विकास भई प्रचलनमा रहेको पाइन्छ । ईस्लामहरुले चन्द्रमाको गतिको आधारमा हिज्रिक सवंत प्रयोग गर्दछन भने हिन्दुले चन्द्रमाकै गतिको आधारमा विक्रम संवत र सूर्यको गतिको आधारमा शक सवंत प्रयोग गर्दछन । बुद्धिष्ट अर्थात चाईनीजहरुले चन्द्रमा र सूर्य दुबैको गतिको आधारमा निर्माण गर्ने गर्दछन । क्रिश्चियनले सूर्यको गतिको आधारमा गेग्रोरियन क्यालेण्डर निर्माण गर्नेगर्दछन त्यस्तै क्रिश्चियनले नै जुलियन क्यालेण्डर पनि प्रयोग गर्नेगर्दछन । जुईस÷यहुदीहरुले चन्द्र र सूर्य दुबैको गतिको आधारमा निर्माण भएको क्यालेण्डर चलाउछन भने पर्सियन हिज्रिक क्यालेण्डरलाई विश्वमै ठ्याक्कै समय मिल्ने क्यालेण्डरको रुपमा लिइन्छ ।
अनेक क्यालेण्डरहरु मध्ये विश्वकै सबैभन्दा बैज्ञानिक क्यालेण्डर गेग्रोरियन क्यालेण्डर मानिन्छ र विश्वभर यहि क्यालेण्डरमा आधारित भई दैनिक, साप्ताहिक, मासिक र बार्षिक योजनाहरु बन्ने गर्दछन । कसरी यो क्यालेण्डर बैज्ञानिक मानिन्छ सो कुराको रहस्य यस्तो छ ः एक बर्षमा कति पटक चन्द्रमाले पृथ्वीको चक्कर लगाउछ भन्ने थाह पाउनु पर्दछ । सामान्यतया ३६५ दिन, ६ घण्टा र ९ मिनेटको एक बर्ष हुन्छ । यसर्थ प्रत्येक बर्ष ६ घण्टा र ९ मिनेट उब्रन्छ । त्यो ६ घण्टा प्रत्येक ४ बर्षमा २४ घण्टा बन्न जान्छ र एकदिन हुन्छ । त्यो एकदिनलाई गेग्रोरियन क्यालेण्डरले फेब्रुवरीमा लगेर थपी दिन्छ तब त्यो साल २९ दिन भएको फेब्रुवरी हुन्छ, सामान्यतया प्रत्येक फेब्रुवरी २८ दिनको हुने गर्दछ । त्यसैले भनिन्छ फेब्रुवरी २९ मा जन्मेका ब्यक्तिले प्रत्येक ४ बर्षमा मात्र उसको जन्मउत्सव मनाउन पाउदछ । यसरी चन्द्रमाको गतिको गणनासँगसगै मिलान गरिने भएकोले यो गेग्रोरियन क्यालेण्डर बैज्ञानिक मानिन्छ र विश्वभर चलाईन्छ ।
अत्यधिक नेपालीले चलाउने अर्थात नेपाल सरकारले प्रयोग गर्ने बिक्रम संंवत अर्थात हिन्दु क्यालेण्डरमा चाहि प्रत्येक बर्ष बाँकी हुनआउने ६ घण्टालाई मिलान गरिन्न । प्रत्येक ४ बर्षमा १ दिन फाल्टो दिन हुन आउछ भने १०० बर्षमा २५ दिन फाल्टो दिन हुन आउदछ । यो बर्ष लगभग २९ दिन फाल्टो दिन भएको हुनुपर्छ । यसर्थ बैशाक १ गते भनिए पनि वास्ताविक चैत्र ३ वा ४ गते हुनुपर्दथ्यो तर छिटो हुनगयो ।
इतिहासलाई सम्झने हो भने वि.स. २०६८ ताका तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक महिना चैत्रलाई हटाएर एकैचाटी बैशाक शुरुगरि मिलाउने निर्णय गरेका थिए तर पंचाङ्ग निर्णायक समिति लगायतका ज्योतिषहरुले विरोध गरेको कारण त्यो कार्यान्वयन हुनसकेन । विरोध गर्नुको कारण थियो क्यालेण्डरको सफ्टवेयर भर्खरै मात्र करोडौ लगानी गरेर बनाईएको र चैत्र हटाउदा सो सफ्टवेर काम नलाग्ने अवस्था हुने भएकोले भन्ने सुनियो । यसरी अहिले नेपालमा अबैज्ञानिक क्यालेण्डर प्रचलनमा छ । प्रत्येक ४ बर्षमा बन्न जाने फाटो १ दिनलाई मिलान गरिएको बर्षलाई मधुमास पनि भनिन्छ । यहि मधुमास मिलानमा वैज्ञानिकीकरण एकरुपता नहुदा भारतमा मनाईने विक्रम संवत पनि फरक परेको पाइन्छ । वास्तवमा बैशाक १ गते भन्छौ, मान्छौ तर गति चाहि लगभग जेठ १ गतेको हाराहारी पुगेको छ ।
प्रत्येक २४ बर्षमा १ दिन फाल्टो निस्कन्छ र १२० बर्षमा ३० दिन फाल्टो निस्कन्छ । कहिले देखि मधुमास मिलान गरिएन र कहिले देखि मधुमास मिलान गर्न थालियो भन्ने एकिन भएको खण्डमा नयाँ बर्षको शुरुवात कतिदिनले गलत छ भन्न सकिन्छ । वि.स. २०६८ मा करिब २७ दिन अगाडी गएको मान्ने हो भने १४ बर्ष पछाडी साढे ३ दिन जोड्दा ठिक एक महिना फाल्टो भएको मान्न सकिन्छ । समग्रमा विक्रम संवत अबैज्ञानिक छ । एक महिना हटाएर चन्द्रमाको गति र क्यालेण्डर मिलाउन आवश्यक छ ।
भारतका सबै राज्यहरुमा र केन्द्र सरकारले गेग्रोरियन क्यालेण्डरमा कार्यक्रम तर्जुमा गर्ने गर्दछ यद्यपी केही राज्यहरुमा बिक्रम संवत पनि चलाउछन तर उनीहरुले भारतमा पहिले नै एक महिना हटाएर मिलान गरिसकेको अर्थात मधुमास बर्षलाई पहिला देखि नै मिलान गर्न थालेको कारण नेपालले मनाउने बिक्रम संंवतको नयाँबर्ष र भारतले मनाउने विक्रम संवतको नयाँबर्षको दिन फरकफरक हुनेगर्दछ ।
भारतमा सामान्यतया ५ वटा क्यालेण्डरहरु गेग्रोरियन (अंग्रेजी), हिन्दु शक सवंत, विक्रम सवंत, हिज्रिक सवंत र बुद्धिष्ट सवंत प्रयोग गर्दछन भने नेपालमा ७ वटा सवंतहरु प्रयोग गरेको पाईन्छ । भारतका तिनै पाँच क्यालेण्डरहरुमा थप नेपाल सवंत र किरात यलम्बर सवंतको क्यालेण्डर नेपालमा प्रयोग हुनेगरेको पाईन्छ ।
यी माथिका क्यालेण्डरहरु प्राय सबैको गणना मिलान भएको पाइन्छ तर किरात यलम्बर सवंतको भने अहिले निक्कै विवादमा रहेको छ । प्रथम किरात राजा यलम्बरले शासन शुरु गरेको बिन्दुलाई गणनाको शुरुवात मानिएको छ । सामान्यतया अन्तर्राष्ट्रिय अभ्यास अनुसार लगभग २५ बर्षलाई एकपुस्ता मानिन्छ । डब्लुडब्लुडब्लु डट वल्डपपुलेशन रिभ्यू डटकम स्रोतका अनुसार अहिलेको संघीय लोकतान्त्रिक शासन ब्यवस्था (२००८ – २०२४) १६ बर्ष भयो त्यसअघि शाह वंशको १३ पुस्ताले (१७६८ – २००८) १४२ बर्ष शासन गरयो । शाह वंश अघि मल्ल वंशले (१२०० – १७६८) ५६८ बर्ष, मल्ल बंश अघि लिच्छिवी वंशले (३०० – १२००) ९०० बर्ष शासन गरे भने लिच्छिवी वंश अघि (–८०० – ३००) ११०० बर्ष किरातहरुले शासन गरे भन्ने इतिहास पाइन्छ । यसलाई आधार मान्ने हो भने किरात यलम्बर संवत ३१२४ भएको देखिन्छ ।
काठमाडौ मालिगाँउमा पाईएको र हाल राष्ट्रिय संग्राहलयमा एक सालिक रहेको छ । सो सालिक जयवर्मा नामको राजाले आफ्नो राज्यस्थापना गरेको उपलक्ष्यमा आफ्नो सालिक सो मितिमा खडा गरेको बुझिन आउँछ । यस आधारबाट किरात शासनको अन्त्य संवत् १०७ (ई.सं. १८५) मा भएको र वर्मावंशको शासन सुरु भएको देखिन आउँछ । यस कालगणनाको आधारमा गोपालराजवंशावलीमा वर्णित ३२ पुस्ता किरात राजाहरूको शासन वर्षका अङ्कहरू सबै जोडेर हिसाब गर्दा हुन आउने काल गणनालाई किरात राजवंशको शासन अवधि मान्नु पर्ने देखिन्छ भन्ने तर्कलाई मान्ने हो भने अहिले सन् २०२४ मा किरात येले सवंत ३८०३ हुन आउदछ । विडम्बना ४ वंश अगाडीको किरातकाल अर्थात प्रथम किरात राजा यलम्बरले शासन शुरु गरेको गणना भनी किरातजन्य संस्थाहरुले ५०८४ प्रयोग गर्छन जुन लज्जाजनक छ । किरात काल पछि सोम वंश रहेको भन्ने पनि चर्चामा छ त्यसको गहिराईमा पुग्न जरुरी छ ।
सामान्यतया अंग्रेजी नयाँ बर्ष भनेर गेग्रोरियन क्यालेण्डर अन्तर्गतको जनवरी १ लाई मनाउने विश्वभरमा चलन छ वास्तवमा यो अंग्रेजी सवंत भन्नु पूर्णरुपमा सहि होइन इटालीको बोलग्नाका एक पोप गेग्रोरिय आठौले सन् १५८२ शुरु गरेका क्यालेण्डर हो । क्रिश्चियन समुदायमै प्रचलनमा रहेको जुलियन क्यालेण्डर वा गेग्रोरियन कुन चलाउने भन्ने बारेमा पनि लामो समय बहस भएको पाईन्छ, अझै पनि रसियन, अर्थोडक्सहरु जुलियन क्यालेण्डर चलाउछन र उनीहरु सोहि पात्रोको आधारमा जनवरी ७ तारिखका दिन क्रिशमस मनाउने गर्दछन तर बैज्ञानिक क्यालेण्ड भएकोले विश्वभर अहिले गेग्रोरियन क्यालेण्डर नै प्रयोग हुदै आएको छ । विरासतको हिसाबले होइन बैज्ञानिकताको आधारमा सोहि नयाँबर्षलाई पनि हर्षोल्लासपूर्वक मनाउन सकिन्छ ।
कान्तिपुर दैनिकमा यहि ३१ चैत्र २०८१ मा प्रकाशित बसन्त थापाको लेखमा उल्लेखभए अनुसार २९ चैत्र २०५९ का दिन गोरखापत्रमा जानकारी छापिएको उल्लेख छ र सो छापिएको जानकारी अनुसार विक्रम संवतलाई नेपालको कामकाजी भाषाको रुपमा श्री ३ चन्द्र शम्शेरको पालामा विक्रम संवत १९७० देखि चलाएका हुन । भारतीय विरासत बोक्ने सवंतलाई नेपालले प्रचलनमा ल्याएको अहिले १११ बर्ष भएको मानिन्छ ।
कसरी नेपालमा क्यालेण्डरहरुको विकास र ब्यवस्थापन हुन्छ त्यो पाटोलाई पनि हेरौः नेपाल पंचाङ् निर्णायक विकास समिति वि.स. २०२५ मा स्थापना भई हाल नारायणहिटी दरबार भित्र यसको कार्यालय रहेको छ । सरकारको ठूलो सेवासुविधाबाट यो पंचाङ्ग समिति संचालनमा छ । यो सरकारको अभिन्न अंग हो । रोचक कुरा अब २०८३ देखि नै आउने गरि केतकी ग्रह गणितको आधारमा समेत नयाँ पात्रो निर्माण गरिने बताएका छन । यहि समितिले नेपालका अनेक पात्रोहरु मध्ये कुनकुनलाई प्रकाशनको मान्यता दिने वा नदिने भन्ने निक्र्यौल समेत गर्दछ । ख्याल गर्नुपर्ने कुरा ग्रहगतिको आधारमा तयार हुने पात्रो र रासिफल आध्यात्मिक नभई विज्ञान हो । मानिस जन्मदा ग्रहहरुको स्थान (पोजिशन) कहाँकहाँ रहेको थियो भन्नेले प्रभाव पार्ने मानिन्छ । सो कुरालाई शुक्ष्म रुपमा हेर्नको लागि जुम्ल्याह बच्चाहरुको हाउभाउ र आचारणलाई अध्ययन गर्दा प्रष्ट हुन्छ । त्यसैले ग्रहहरुको गतिको आधारमा निर्मित पात्रो, पात्रोमै आधारित रासिफलको ज्ञान हुनुलाई वान्छानीय मानिन्छ ।
बैशाक १ गतेको नयाँ बर्ष नेपाली बिरासत बोक्ने नयाँबर्ष होइन, भारत राजस्थानको उज्वैन राजाको विरासत बोक्ने हो भने कुन चाहि मौलिक नेपाली सवंत हो त? सम्भवतः नेपाल सवंतको नयाँबर्ष नेपाली माटोको सुगन्ध बोक्ने क्यालेण्डर हो तर ब्यवस्थित र विकसित हुनु हो भने किरात यलम्बर सवंत नेपालको पहिलो र मौलिक सवंत हो किन की नेपाल देश भनी अस्तित्वमा भेटिएको नै किरातकाल देखि भेटिन्छ । नेपाल देश पृथ्वी नारायण शाहले बनाएका होइनन, करिब ३ हजार बर्ष भन्दा अगाडी देखि नेपाल अस्थित्वमा रहदै आएको छ ।
अन्तमा, नयाँ बर्षको उल्लास छ तर नेपालीले गर्व गर्नेप्रकारको इतिहास त होइन रहेछ । त्यसो भए के गर्ने त? यसको सहज उपाय भनेको सामान्य रुपमा नयाँ बर्षको शुभ कामना साटासाट गर्ने तर नेपाली नयाँबर्ष नभन्ने सिर्फ नयाँ बर्षको शुभ कामना मात्र भने पुग्यो । अर्थात विक्रम सवंत २०८२ को शुभ कामना, हिन्दु नयाँ बर्षको शुभ कामना, विक्रमादित्य नयाँ बर्षको शुभ कामना आदिआदि भन्न सकियो । नयाँ बर्ष २०८२ अवसरमा सुख, शान्ति, समृद्धि र दीर्घायूको हार्दिक शुभ कामना सहित विदा ।
biswasdip@ymail.com
२८ चैत्र २०८०