समाचार

इलाममा मुन्धुम विमर्श सम्पन्न

दुई पुस्तककाे लाेकार्पण

५ नाेभेम्बर, इलाम । इलामको ऐतिहासिक इलाम दरबारस्थित अरनिको संग्रहालयमा मुन्धुम विमर्श कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र मुन्धुम अध्ययन प्रतिष्ठान हङकङको सहकार्य तथा इलाम नगर साहित्य प्रतिष्ठानको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा दुईवटा पुस्तक विमोचन गरिएको छ । मुन्धुम अध्ययन प्रतिष्ठान हङकङद्वारा प्रकाशित ‘सिङ्जा:ङ्गो (मुन्धुम मन्थन)’ र डा. अस्मिता विष्टको ‘समयसालमा नृत्यमग्न आकृति’ विमोचन गरिएको हो । कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख केदार थापा, तेह्रथुमको लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुनबाबु माबोहाङ, नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंका प्राज्ञ दीपक सापकोटासहित साहित्यकार, लेखक तथा साहित्यप्रेमीहरूको उपस्थिति थियो ।

कार्यक्रममा प्राज्ञ दीपक सापकोटा, नवीन अभिलाषी, सीता तुम्खेवा र डा. अस्मिता विष्टले मुन्धुम विमर्शका विभिन्न पक्षमा विचार राख्नुभएको थियो । कार्यक्रममा डा. दीपक लुङ्गेलीले ‘मुन्धुमको सौन्दर्य दर्शन’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले मुन्धुमभित्र समेटिएको प्रकृति, संस्कृति, जीवन दर्शन र सौन्दर्य चेतनाका पक्षबारे चर्चा गर्नुभएको थियो । मुन्धुमलाई किरात समुदायको मौलिक ज्ञान, अनुभव र जीवन पद्धतिको महत्वपूर्ण अभिव्यक्तिका रूपमा बुझ्नुपर्ने उहाँको धारणा थियो ।

त्यसैगरी डा. मधुराज केरुङले ‘सि: मेरिङ हाम्लाक्वा’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले मुन्धुममा समेटिएका आख्यान, सांस्कृतिक परम्परा र सामुदायिक ज्ञानका पक्षबारे प्रकाश पार्नुभएको थियो । मुन्धुमसँग जोडिएका मौखिक आख्यान तथा परम्पराको अध्ययन, अभिलेखीकरण र पुस्तान्तरणमा जोड दिनुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा गायक तथा संगीतकार गणेश पराजुली र गायिका यशोदा पराजुलीले सांगीतिक प्रस्तुति दिनुभएको थियो। साथै कवि सुन्दर कुरूपले आफ्ना कविता प्रस्तुत गर्नुभएको थियो ।

यसअघि इलामको टुँडिखेलबाट कार्यक्रमस्थल इलाम दरबारसम्म लिम्बू समुदायको सांस्कृतिक भेषभूषासहितको र्‍याली निकालिएको थियो ।
कार्यक्रमको अन्त्यमा इलाम नगर साहित्य प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले मुन्धुमको अध्ययन, अनुसन्धान, संरक्षण र पुस्तान्तरणका लागि यस्ता विमर्श कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले मुन्धुमसँग जोडिएका ज्ञान, दर्शन र सांस्कृतिक सम्पदालाई नयाँ पुस्तासम्म पुर्‍याउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो ।
कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव जय नारायण भट्टराईले गर्नुभएको थियो ।

Related Articles

Back to top button