मेडवेमा सामूहिक देउसी–भैलोसहित तिहार उत्सव सम्पन्न

– भूमिराज राई
चाथाम, बेलायत — गोर्खा नेपाली समाज मेडवे केन्ट (जिएनसिएम) को आयोजनामा सामूहिक देउसी–भैलो तथा सांस्कृतिक प्रस्तुतिसहित तिहार उत्सव २०२६ सम्पन्न भएको छ। शनिबार, ७ नोभेम्बरमा चाथामस्थित गोर्खा ब्रदर्स रेस्टुरेन्टमा आयोजित कार्यक्रममा नेपाली समुदायका सदस्य तथा स्थानीय बासिन्दाको सहभागिता थियो।
समाजकी उपाध्यक्ष उषा गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि जिलिङ्घाम तथा रेनहामकी सांसद नौशाबा खान हुनुहुन्थ्यो। नेपाल र बेलायतका राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि तथा उपस्थित ज्येष्ठ नागरिकहरूले संयुक्त रूपमा पानसमा बत्ती बालेर गर्नुभएको थियो। समाजका अर्का उपाध्यक्ष इन्डीसेन राईले स्वागत मन्तव्य राख्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद खानले बेलायतमा रहेका नेपाली समुदायले आफ्नो भाषा, संस्कृति र पहिचानको संरक्षणमा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो। उहाँले उपस्थित सबैलाई तिहारको शुभकामनासमेत व्यक्त गर्नुभयो।
समाजकी कोषाध्यक्ष चन्द्रवती राईले तिहारको सांस्कृतिक महत्त्व, यमपञ्चकका पाँच दिनमा गरिने पूजा तथा भाइटीकाको परम्पराबारे जानकारी दिनुभयो। उहाँले दाजुभाइ र दिदीबहिनीबीचको आत्मीय सम्बन्धलाई बलियो बनाउने भाइटीका तथा समुदायमा मेलमिलाप र सद्भाव बढाउने देउसी–भैलोको महत्त्वबारे चर्चा गर्नुभयो।
उत्सवका अवसरमा पूर्वमेयर तथा काउन्सिलर निना गुरुङ, नेपाली चलचित्रमा अभिनय गरी बेलायत फर्कनुभएकी अभिनेत्री तथा युट्युबर सिर्जना निङ्लेकु र गोर्खा ब्रदर्सका नयाँ सञ्चालकहरूलाई खादा ओढाएर सम्मान तथा बधाई ज्ञापन गरिएको थियो।
त्यस्तै, गत वर्षको ‘स्विप्स फेस्टिभल मेडवे’ मा नेपाली समुदायको प्रतिनिधित्व गर्दै नृत्य प्रस्तुत गर्ने समूह तथा नृत्य प्रशिक्षकहरू सविता र दुर्गासहितको टोलीलाई मायाको चिनो प्रदान गरिएको थियो।
सांस्कृतिक कार्यक्रममा गायक सूर्यविक्रम राईले ‘कहाँ तिम्रो मायालुलाई छाडी राख्यौ’ र ‘सुन भनन’ लगायतका गीत प्रस्तुत गर्नुभयो। रोशन राई, सुमित्रा राई, चन्द्रवती राई, दृष्या राई र पदम गुरुङले नेपाली, अंग्रेजी तथा हिन्दी गीत प्रस्तुत गर्नुभएको थियो भने दुर्गा राईको टोलीले नृत्य प्रस्तुत गरेको थियो।
साँझ ५ बजेदेखि राति १०:४५ बजेसम्म चलेको कार्यक्रमको समापन सामूहिक देउसी–भैलोबाट गरिएको थियो। सहभागीहरूले परम्परागत भाकामा देउसी–भैलो गाउँदै, नाच्दै र शुभकामना आदानप्रदान गर्दै तिहार मनाएका थिए।
समाजका महासचिव रोशन राईले सञ्चालन गर्नुभएको कार्यक्रममा भूमिराज राईले ध्वनि व्यवस्थापन र कुमार गुरुङले सुरक्षा व्यवस्थापनको जिम्मेवारी सम्हाल्नुभएको थियो।




