फिचर न्यूज

दुवै मिर्गाैला फेल भएका प्रिजलको उपचार खर्चका लागि याचना

खोटाङ, २३ कात्तिक : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका पेशलकुमार मगर र दुर्गा आलेमगर आफ्ना चार वर्षीय छोरा प्रिजलको दुवै मिर्गाैला फेल भएपछि खर्च अभावका कारण थप उपचार गराउन नसक्ने अवस्थामा पुगेका छन् । यही कात्तिक १२ गते सामान्य वान्ता गरेपछि कान्तिबाल अस्पताल काठमाडौँमा पुर्याइएका छोराका दुवै मिर्गाैलाले काम नगरेको र थप उपचारका लागि भारततर्फ लैजानुपर्ने सुझाव सम्बन्धित चिकित्किसबाट आएसँगै अहिले उहाँहरू थप समस्यामा परेका छन् ।

आफन्त तथा भाइसाथीको सरसापटीमा कान्ति बालअस्पतालमा यही कात्तिक १३ गते भर्ना गरिएका प्रिजलको अहिले सोही अस्पतालको आइसियू (सघन उपचार कक्ष) मा उपचार भइरहेको छ । बुवा पेशलका अनुसार जसोतसो स्वदेशमै उपचार गराइरहेको अवस्थामा थप उपचारका लागि गम्भीर बिरामी अवस्थामा रहेका छोरालाई विदेश लैजानुपर्ने सुझाव चिकित्सकबाट आएपछि बाध्य भई मनकारीजनसँग हात थाप्नुपर्ने अवस्था आएको छ ।

अस्पताल भर्ना गरेपछि अहिलेसम्म पिसाबसमेत नगरेका प्रिजलको उपचार नेपालका कुनै पनि अस्पतालमा सम्भव नहुने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । दिनानुदिन स्वास्थ्य अवस्था बिग्रदै गएको प्रिजललाई कान्तिबाल अस्पतालले भारतको नयाँ दिल्लीस्थित सर गङ्गाराम अस्पताल लैजान सुझाव दिएको उहाँले बताउनुभयो ।

“आफूसँग भएको र आफन्तसँग सापटी लिएको रकमले उपचार गराइरहेका छौँ । उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले यहाँ ठीक हुँदैन भनेका छन् । विदेशमा लगेर उपचार गर्ने खर्च हामीसँगै छैन”, उहाँले भन्नुभयो, “भारतको अस्पतालमा उपचार गर्न रु एक करोड बढी खर्च लाग्छ भन्ने बुझियो । यत्रो पैसा कसरी जुटाउनु ! सबैले सकेको सहयोग गरेर हाम्रो छोरा प्रिजलको ज्यान बचाइदिन अनुरोध गर्दछु ।”

जीवन र मरणको दोसाँधमा रहेका प्रिजलको जीवन रक्षाका लागि सबैले सकेको आर्थिक सहयोग गरिदिनहुन आग्रह गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत ‘प्रिजल मगर बचाऔँ’ अभियान सुरु गरिएको छ । प्रिजलको उपचार गर्न परिवारको आर्थिक अवस्थाले नधान्ने भएपछि सहयोग सङ्कलन अभियान सुरु गरिएको अभियानका सदस्य गिरिराज रानामगरले बताउनुभएको छ ।

‘प्रिजल मगर बचाऔँ’ अभियानका सदस्यहरुले आफन्त तथा शुभेच्छुकलाई सामाजिक सञ्जालका साथै प्रत्येक्ष भेट गरेर उपचारमा सहयोग गरिदिन अनुरोध गरिरहेका छन् । आर्थिक सहयोग गर्न चाहनुहुने महानुभावका लागि प्रिजलका बुबा पेशलकुमारको राष्ट्रिय वाणिज्य बैङ्कमा रहेको खाता नं. २२७०१००००३१९००१० अथवा क्यूआर उपलब्ध गराइएको छ ।

छोराको गुणस्तरीय शिक्षाका लागि राजधानी काठमाडौँमा कोठा भाडामा बस्दै आएको अवस्थामा एकमात्र सन्तान प्रिजलको दुवै मृगौला फेल भएको जानकारी अस्पतालबाट पाएसँगै तिहार पर्व विशेषमा परिवार तथा आफन्तजन र छरछिमेक सबै चिन्तित रहेको बताउँदै पेशल दम्पत्तिले दुवै मृगौला फेल भई उपचारका लागि भारत लैजानुपर्ने छोराको उपचारका लागि सक्दो सहयोग गरिदिनुहुन सबैसँग अनुरोध गर्नुभएको छ ।

Related Articles

Back to top button