नेम्बाङको ‘इक्किसुम इक्ला’को धरानमा लाेकार्पण

५ नाेभेम्बर, विजयपुर । एक नम्बर प्रदेश प्रमुख परशुराम खापुङले धुप बाल्दै च्याब्रुङ बजाएर पालामसाम्वा सुवर्ण नेम्बाङको पालाम संग्रह ‘इक्किसुम इक्ला’ को धरानमा लोकापर्ण गरेका छन् ।
उनले पालाम संग्रह लोकापर्ण गर्दै याक्थुङ लोक संस्कृतिमा आधारित पालाम, यालाङलाई सुवर्ण नेम्बाङले संरक्षण गरेर ठूलो योगदान दिएको बताए । उनले भने, ‘पहिचानको मुद्धा उठिरहेको बेला भाषा र लोक संस्कृतिलाई पछिल्लो पुस्तालाई हस्तान्तण गर्दै जिवित कायम राख्न सुवर्ण नेम्बाङको पालामको पुस्तक ‘इक्किसुम इक्ला’ ले ठूलो मदत गर्ने विश्वास लिएको छु ।’
उनले कुनै पनि जाति वा समुदायको भाषा, साहित्य र संस्कृति समाप्त भएमा पहिचान पनि सकिने भएकाले नेम्बाङको नवीन पालाम कृति इक्किसुम इक्लाले भाषा, साहित्य र संस्कृति तिनै वटै क्षेत्रलाई समेटेर तयार भएकाले पहिचानलाई जिवित राख्न अहम योगदान रहेको बताए ।
सिरिजंगा लिपि र देवनागरी लिपि प्रयोग गरेर लेखिएको पालाम याक्थुङ लिम्बू समुदायको लोकगीत संगितको इक्किसुम इक्ला पहिलो हो । संग्रह भित्र पालामसहित याक्थुङ लिम्बू समुदायले विभिन्न अवसरमा गाउने हक्पारे, ख्यालीहरु पनि समावेश भएकाले नया पुस्ताले सिक्न र अध्ययन गर्न जरुरी रहेको प्रदेश प्रमुख खापुङले बताए ।
पूर्वप्रदेश प्रमुख प्रा.डा. गोविन्द तुम्बाहाङले पछिल्लो समय ताप्लेजुङ, तेह्रथुम, पान्थर, धनकुटा जस्ता पहाडी लिम्बू बस्तीमा समेत पालाम, यालाङ हराउन लागेको बेला याक्थुङ लोक कला संस्कृति हराउन दिनु हुदैन भनेर सुवर्ण नेम्बाङ व्यत्तिगत खर्चमा सिरिजंगा लिपि र देवनागरी लिपिमा पालामको किताव प्रकाशन गरेर राज्यलाई ठूलो गुन लगाएको बताए । उनले भने, ‘अचेल नया पुस्ताले लिम्बू भाषा कमै बोल्छ । भरसक विदेश ताक्छन् । विदेश जानका लागि अंग्रेजी सिक्छन् । यसो गर्दा यता आफ्नो मौलिक भाषा, लिपी, कला संस्कृति भने संकटमा पर्छ । यस्ता संकटलाई समाधान गर्न पालामसाम्बा नेम्बाङले किताव नै प्रकाशित गरेर समग्र पाठकलाई दिएका छन् ।’
उक्त अवसरमा सिक्किम विश्वविद्यालयका लिम्बू भाषा, मुन्धुम र संस्कृतिका विभागीय प्रमुख प्राध्यापक बल मुरिङला र सिक्किम अल्पाइन विश्वविद्यालय नाम्चीका लिम्बू भाषाका विभागीय प्रमुख प्राध्यापक कर्ण ताम्लिङले कुनै पनि समुदायको भाषा, लिपी र कला संस्कृति जोगाउनकालागि राज्यले चासो दिएर लगानी नगरेसम्म समुदायले मात्र बचाउन नसकिने बताए । मुरिङ्लाले सिक्किमका उदाहरण दिदै भने, ‘सिक्किमका प्राय शैक्षिक संस्थामा याक्थुङ लिम्बू भाषा र सिरिजंगा लिपिबाट विद्यावारिधिसम्म पठनपाठन हुदै आएको छ । हिन्दी, अंग्रेजी, बंगाली, नेपाली भाषासंगै लिम्बू भाषाको पठन पाठन भएकाले नया पुस्ताले रुचीकासाथ अध्ययन गर्दा भाषा र लिपि जिवन्त रहेको छ ।’
प्राध्यापक कर्ण ताम्लिङले पालाम यालाङ बुझ्नका लागि याक्थुङ लिम्बूको भाषा, लिपि र संस्कृति बुझ्नु पर्ने र यसरी बुझ्नकालागि नयां पुस्ताले चासो दिनु पर्ने बताए । उनले भने, ‘विश्व भूमण्डलीकराणमा अंग्रेजी, हिन्दी, चिनिया, कोरियनदेखि फ्रेन्च, स्पेनिश भाषा पनि सिक्ने, बोल्ने हो । ती भाषाहरु हाम्रा लागि रोजगारकालागि मात्र सहायक हुन सक्छन् । कतिपय अवस्थामा प्राज्ञीक उन्नयनकालागि हुनसक्छन् । तर ती भाषाले पालाम, ख्याली, हाक्पारे, यालाङ जस्ता याक्थुङ लिम्बूका मौलिक ज्ञान र लोकसंस्कृति बुझाउन सक्दैनन् ।’
लोकापर्ण समारोहमा पालाम सम्राट भनेर सार्वजनिक रुपमा उपाधी पाएका सुवर्ण नेम्बाङले आफ्ना लागि लेखिएका पालामको कृति अवदेखि मुलुककै राज्यको सार्वजनिक सम्पतिको रुपमा छाडेको बताए ।
उनले भने, ‘यो इक्किसुम इक्ला पुस्तकलाई मैले व्यक्तिगत उपललिव्धका रुपमा भन्दा पनि हराउदै गएको मौलिक लोक संस्कृतिको एउटा अंशलाई अभिलेखित र पुस्तान्तरण गर्ने सानो प्रयासका रुपमा लिएको छु ।’
उनले तीन दशक अघि यालाङ (धाननाच), पालाम, हाक्पारे, ख्याली गाउनकालागि कुनै प्रशिक्षण लिनु पर्दैन थियो । घरघरमै आफु भन्दा ठूलाले गाएको सुने पछि त्यसलाई दोहाेर्याउँँदै मेलापर्व, घांस दाउरा गर्दा पालाम गाउन आफै सिक्ने गरेका थियौं । र विभिन्न अवसरमा विवाह, मेलामा साइनो नलाग्ने तरुनी तन्नेरीले एकापसमा हात समाएर प्रेम र सुख दुख व्यक्त गर्दै पालाम सुनाउने गरेका थियौं । तर अहिले प्रशिक्षण दिनु पर्ने अवस्था आएको छ ।’ यो उनको दोश्रो पालाम कृति हो । उनको यो इक्किसुम इक्ला पालाम सङ्रह्को सम्पादन सम्योजन मुन्धुम कवि तथा सन्चारकरमी प्रदीप मेन्ययाङ्बोले गरेका थिए । यसअघि नेम्बाङले ‘मालाजे’ पालाम संग्रह निकालेका थिए । पुर्व व्रिटिश लाहुरे समेत रहेका नेम्बाङले लेखेका पालामलाई पुर्वका अधिकांस पालाम गायक गायिकाहरुले म्यूजिक भिडियो बनाएका छन् ।
लिम्बू पत्रकार संघ सुनसरीद्धारा आयोजित लोकापर्ण समारोहमा रेडियो नेपाल धनकुटाकी लिम्बूभाषा सम्पादक विष्णुमाया सिंगकले सहजीकरण गरेकी थिइन् । पुस्तकमाथि धरान उपमहानगर पालिकाका कार्यवाहक मेयर अइन्द्रविक्रम बेघा, याक्थुङ संस्कृतिविदहरु अम्बिका सम्बाहाङ्फे र आइत खजुमले टिप्पणी गरेका थिए ।




