सम्बाहाङ्फेकाे पुस्तक सिक्किमकाे विश्वविद्यालयमा समावेश

०५ नाेभेम्बर, काठमाडौं । याक्थुङ (लिम्बू) समुदायको मौखिक परम्परा, लोकसाहित्य तथा लोकवाङ्मयको महत्त्वपूर्ण विधा पालामबारे लेखिएको अनुसन्धानमूलक तथा सैद्धान्तिक कृति ‘पालाम : हेन्जिला, मुक्सि नु परिक्हा’ सिक्किमस्थित सिक्किम सरदार पटेल विश्वविद्यालयको स्नातक (बीए) र स्नातकोत्तर (एमए) तहको पाठ्यक्रममा समावेश हुने भएको छ ।
बसन्ता सम्बाहाम्फेद्वारा लिखित उक्त कृतिलाई विश्वविद्यालयको लिम्बू भाषा विभागअन्तर्गतका दुवै तहमा अध्ययन–अध्यापनका लागि उपयुक्त ठहर गर्दै विश्वविद्यालयले लेखकसँग औपचारिक अनुमति माग गरेको छ । विश्वविद्यालयका रजिस्ट्रार डा. बलवन्त खोटद्वारा सम्बाहाम्फेलाई पठाइएको पत्रमा उक्त कृतिका विभिन्न अध्याय तथा खण्डहरू लिम्बू भाषा अध्ययनसम्बन्धी स्नातक तथा स्नातकोत्तर तहका पाठ्यक्रमका लागि अत्यन्तै सान्दर्भिक र उपयोगी रहेको उल्लेख छ ।
पत्रमा विश्वविद्यालयको लिम्बू भाषा विभागमा उक्त पुस्तकलाई सन्दर्भ सामग्री तथा निर्धारित पाठ्यपुस्तकका रूपमा समावेश गर्न लेखकको सहमति माग गरिएको छ ।

‘पालाम : हेन्जिला, मुक्सि नु परिक्हा’ अर्थात् ‘पालाम : परिभाषा, तत्त्व र प्रकारहरू’ पालामको सैद्धान्तिक पक्ष, संरचना, स्वरूप तथा विविध विधागत आयाममाथि केन्द्रित अनुसन्धानमूलक कृति हो । याक्थुङ समुदायको मौलिक मौखिक ज्ञान, सांस्कृतिक अभिव्यक्ति र पुस्तान्तरण हुँदै आएको लोकसाहित्यलाई प्राज्ञिक अध्ययनको दायरामा ल्याउन यस कृतिले महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
विश्वविद्यालयको लिम्बू भाषा विभागका प्रमुख प्रनेश थेबेले उक्त कृति बीए र एमए दुवै तहका विद्यार्थीका लागि उपयोगी रहेको बताएका छन् । उनका अनुसार पालामको सैद्धान्तिक तथा विधागत अध्ययनका लागि पुस्तकले शैक्षिक सामग्रीको अभाव पूर्ति गर्न सहयोग पुर्याउनेछ ।




