छेडेदहको आँगनमा सांस्कृतिक उत्सवः संस्कृति र प्राकृतिक सम्पदा संरक्षणको सन्देश

टेकबहादुर बुढा/रासस
बाजुरा, २० कात्तिकः ‘छेडेदह नाम गयो, पानी नाउलो सुकी गयो, छेडेदह ताल वृक्षरोपण गरौँ ।’ ‘माथि छ मालिका, तल पर्छ नाटेश्वरी, वडा गाउँपालिका पहिरोको रोकथाम गरौँ ।’
उक्त हरफ शब्दमा मात्रै सीमित छैनन् । देउडाको भाकामार्फत स्थानीय मौलिक संस्कृति र प्राकृतिक सम्पदाको संरक्षण गर्नुपर्ने सन्देश पनि बोकेका छन् ।
चारैतिर हरियाली र मनोरम प्राकृतिक दृश्यले घेरिएको नीलो पानीको सुन्दर छेडेदह तालको आँगनमा जब देउडाका भाका गुञ्जिए, त्यहाँको वातावरण थप मनमोहक बन्यो । कसैका स्वरमा मौलिक संस्कृतिको मिठास थियो भने कसैका शब्दमा प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनको सन्देश ।
बाजुराको खप्तड छेडेदह गाउँपालिकामा अवस्थित पर्यटकीय गन्तव्य छेडेदह तालमा छेडेदह कला साहित्य प्रतिष्ठानले कात्तिक १८ र १९ गते सांस्कृतिक तथा देउडा उत्सव ‘रैबार छेडेदह’को दोस्रो संस्करण आयोजना गरेको छ ।
प्राकृतिक सौन्दर्यको बीचमा आयोजित उत्सवले स्थानीय मौलिकता र पर्यावरण संरक्षणलाई एउटै मञ्चमा जोड्ने प्रयास गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष गणेश बुढाका अनुसार बडीमालिका, खप्तड, बुढीनन्दा, रानीसैन र छेडेदह ताललगायतका धार्मिक तथा पर्यटकीय सम्पदाको संरक्षण र प्रवर्द्धनसँगै स्थानीय कला तथा संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
उहाँले यस्ता गतिविधिले स्थानीय सम्पदाको पहिचान विस्तार गर्न सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा देउडा खेलसँगै साहित्यका विभिन्न विधामा सक्रिय कलाकारले आफ्ना सिर्जना तथा कला प्रस्तुत गरेका थिए ।
प्रतिष्ठानका सल्लाहकार कृष्ण ओलीले कला, साहित्य र संस्कृतिको क्षेत्रमा प्रतिष्ठानले हरेक वर्ष विभिन्न सकारात्मक गतिविधि सञ्चालन गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा सहभागी वक्ताहरूले छेडेदह ताल पहिरोको जोखिममा रहेकाले यसको संरक्षण र व्यवस्थापनमा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।
तालको संरक्षण र प्रवर्द्धनमा समयमै ध्यान नदिए प्राकृतिक सम्पदासँगै यस क्षेत्रको पहिचानसमेत सङ्कटमा पर्न सक्ने उनीहरूको भनाइ थियो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर मौनीले यस्ता सांस्कृतिक कार्यक्रमले मौलिक कला र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
गाउँपालिकाकी उपाध्यक्ष विशुदेवी नाथले गाउँपालिकाकै नामकरणसँग जोडिएको छेडेदह तालको संरक्षण र मौलिक संस्कृतिको जगेर्ना गर्न नसकिए यहाँको पहिचान अप्ठेरामा पर्ने बताउनुभएको छ ।
उहाँले प्राकृतिक सम्पदा र सांस्कृतिक पहिचान जोगाउन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले भन्नुभयो, “छेडेदह ताल हाम्रो पहिचान हो । बडीमालिका जाने पर्यटक यही तालको सौन्दर्य देखेर रमाउँछन्, तर दुखद् अहिले ताल पहिरोको जोखिममा छ”, उहाँले भन्नुभयो, “अब हामी आपसी विवाद र राजनीतिक आस्थाभन्दा माथि उठेर साझा योजना र सहमतिका साथ यसको संरक्षणमा अघि बढ्नुपर्छ ।”
स्थानीय वेशभूषा, भाषा र परम्परासहित प्रस्तुत गरिएको देउडाले नयाँ पुस्तालाई आफ्नै मौलिक संस्कृतिसँग जोड्ने सन्देश दिएको छ । छेडेदह ताल बाजुराको महत्वपूर्ण प्राकृतिक तथा पर्यटकीय सम्पदा हो ।
तालको स्वच्छ पानी, वरिपरिको हरियाली र शान्त प्राकृतिक वातावरणले यहाँ पुग्ने पर्यटकलाई आकर्षित गर्छ । तर, यसको प्राकृतिक सुन्दरता र अस्तित्व जोगाउन संरक्षणका ठोस प्रयास आवश्यक छन् ।
विशेषगरी पहिरो नियन्त्रण, ताल आसपासको फोहोर व्यवस्थापन तथा व्यवस्थित पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने देखिन्छ । गाउँपालिकाले तालको संरक्षण र प्रवद्र्धनका लागि दीर्घकालीन योजना बनाएर कार्यान्वयन गर्न सके यसको पर्यटकीय सम्भावना थप विस्तार हुन सक्छ ।
छेडेदहलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न प्राकृतिक सुन्दरता पर्याप्त हुँदैन । यहाँको मौलिक संस्कृति, स्थानीय जीवनशैली, भाषा, भेषभूषा र परम्परालाई पर्यटनसँग जोड्न आवश्यक छ ।
देउडा, स्थानीय कला र प्राकृतिक सम्पदाको एकीकृत प्रवर्द्धन गर्नसके यस क्षेत्रको पर्यटन विकासमा नयाँ सम्भावना खुल्न सक्छ । सांस्कृतिक उत्सवले पर्यटन विकास पर्यटकको आगमन र भौतिक पूर्वाधार निर्माणमा मात्र सीमित नहुने सन्देशसमेत दिएको छ ।
स्थानीय कला, संस्कृति, परम्परा र प्राकृतिक सम्पदाको संरक्षणसँगै पर्यटन विकासलाई अघि बढाउन सके मात्रै यसको वास्तविक सम्भावना उजागर हुन सक्छ ।
छेडेदह तालको किनारमा गुञ्जिएको देउडाको भाकाले मनोरञ्जन मात्रै दिएको छैन, प्रकृति र संस्कृतिप्रतिको सामूहिक जिम्मेवारी पनि सम्झाएको छ ।
प्रकृति साझा सम्पत्ति हो भने संस्कृति हाम्रो पहिचान हो । यी दुवैको संरक्षण गर्न सके मात्रै भावी पुस्तालाई सुन्दर प्राकृतिक सम्पदा र समृद्ध सांस्कृतिक विरासत हस्तान्तरण गर्न सकिन्छ ।
यस अर्थमा छेडेदहको आँगनमा गुञ्जिएको देउडा कला र संस्कृतिको उत्सवसँगै प्राकृतिक सम्पदा जोगाउने सामूहिक प्रतिबद्धताको आवाज बनेको छ ।




