खोटाङ सेवा समाज बेलायतको २०औँ वार्षिकोत्सवमा साकेलामा भलिबल प्रतियोगिता र स्मारिका विमोचन हुने

भूमिराज राई,
बेलायत — खोटाङ सेवा समाज बेलायतले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवका अवसरमा जन्मभूमि खोटाङमा अन्तरपालिका महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गर्नुका साथै ‘खोटाङ–यूके स्मारिका’ विमोचन गर्ने भएको छ।
समाजका अनुसार आगामी ६ र ७ फेब्रुअरी २०२७ मा खोटाङको साकेला गाउँपालिकामा अन्तरगाउँपालिका तथा नगरपालिका स्तरीय भलिबल प्रतियोगिता हुनेछ। प्रतियोगिताकै अवसरमा ६ फेब्रुअरीमा स्मारिका विमोचन गरी जिल्लाभर निःशुल्क वितरण गर्ने तयारी गरिएको छ।
सन् २००७ मा स्थापना भएको समाजले दुई दशक पूरा गरेको अवसरलाई खेलकुद, साहित्य र सामाजिक एकतासँग जोडेर मनाउन लागेको जनाएको छ। प्रतियोगितामार्फत जिल्लाका पालिकाहरूबीच सम्बन्ध विस्तार गर्ने, आपसी भाइचारा र सद्भाव अभिवृद्धि गर्ने तथा युवा पुस्तालाई खेलकुदमा प्रोत्साहित गर्ने उद्देश्य राखिएको छ।
समाजले स्वदेश तथा विदेशमा रहेका खोटाङ्गेहरूलाई कार्यक्रममा सहभागी हुन आह्वान गर्दै प्रतियोगिता व्यवस्थित रूपमा सञ्चालन गर्न आर्थिक सहयोगको अपिलसमेत गरेको छ।
“हामी जहाँ रहे पनि आफ्नो जन्मभूमि, गाउँठाउँ र समाजप्रतिको माया तथा जिम्मेवारी सधैँ रहिरहन्छ। तपाईंहरूको सानोभन्दा सानो सहयोगले पनि हाम्रो गाउँको खेलकुद विकास, युवाहरूको उत्साह र सामाजिक एकतामा ठूलो योगदान पुर्याउनेछ,” समाजको अपिलमा भनिएको छ।
समाचार तयार पार्दासम्म धन कुमार राई र डा. प्रमोद कोयी राईबाट जनही दुई लाख रुपैयाँ सहयोगको प्रतिबद्धता प्राप्त भएको समाजले जनाएको छ। प्रसाद राई, राजेन रामजाङ राई र शिवध्वज राईले जनही एक लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
त्यस्तै, क्याप्टेन अशोककुमार राई, सञ्जीव राई, उदिप राई, चन्द्र जयपाल राई र झलम राईबाट जनही ५० हजार रुपैयाँ, देवेन्द्र राईबाट १४ हजार रुपैयाँ तथा डिल्लिराम राई र मेजर भुपजित राईबाट जनही १० हजार रुपैयाँ सहयोगको प्रतिबद्धता प्राप्त भएको छ। आगामी दिनमा थप सहयोगीहरूको नामावली सार्वजनिक गर्दै जाने समाजले जनाएको छ।
नेपाली ५० हजार रुपैयाँभन्दा बढी सहयोग गर्ने दाताहरूको तस्बिर कार्यक्रमस्थलमा विशेष रूपमा प्रदर्शन गरिने जनाइएको छ। सहयोगका लागि समाजले ‘Khotang Society UK KSS’ नाममा रहेको खाता नम्बर 55528438 र सर्ट कोड 23-05-80 उपलब्ध गराएको छ। रकम पठाउँदा ‘रेफरेन्स’मा आफ्नो नाम उल्लेख गर्न आग्रह गरिएको छ।
वार्षिकोत्सवका अवसरमा प्रकाशन हुन लागेको ‘खोटाङ–यूके स्मारिका’का लागि समाजले बेलायतमा रहेका खोटाङ्गे कवि, लेखक, साहित्यकार तथा स्रष्टाहरूबाट लेखरचना आह्वान गरेको छ। वर्तमान वा पुर्ख्यौली घर खोटाङ भएका व्यक्तिहरूलाई आफ्ना विचार, अनुभूति र सिर्जना पठाउन आग्रह गरिएको हो।
स्मारिकामा कथा, कविता, गीत, गजल, मुक्तक, निबन्ध, यात्रा संस्मरण तथा राजनीतिक र पार्टीगत रणनीतिबाहेकका जानकारीमूलक लेख समावेश गर्न सकिने जनाइएको छ। संस्थागत विवरणबाहेकका सामग्री बढीमा दुई हजार शब्दसम्मको हुनुपर्नेछ।
लेखरचना पठाउने अन्तिम मिति ३० नोभेम्बर २०२६ तोकिएको छ। सामग्री इमेल kheres1@yahoo.com वा ह्वाट्सएप नम्बर +44 7403 329265 मा पठाउन सकिनेछ।
समाजले यसअघि पनि खोटाङको स्वास्थ्य तथा सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ। सन् २०१७ मा जिल्लाका विभिन्न स्थानमा सातवटा एम्बुलेन्स र अल्ट्रासाउन्ड मेसिन उपलब्ध गराएको समाजले बृहत् स्वास्थ्य शिविरसमेत सञ्चालन गरेको थियो। आर्थिक अभावका कारण उपचार खर्च जुटाउन नसकेका दर्जनौँ खोटाङ्गेका लागि सहयोग रकम सङ्कलन गरी हस्तान्तरण गर्दै आएको पनि समाजले उल्लेख गरेको छ।
समाजका उपाध्यक्ष भबिन साम्पाङ राईले जिल्लाको विकासमा बेलायतवासी खोटाङ्गेहरू सधैँ हातेमालो गर्न तयार रहेको बताए।
“आफ्नो जन्मस्थानको सधैँ प्रगति–उन्नति भएको हेर्ने चाहना हरेक व्यक्तिमा हुन्छ। त्यो चाहना मैले सबै खोटाङ्गेहरूमा पाएको छु,” उनले भने।
समाजको छैटौँ कार्यसमितिको अध्यक्षमा प्रसाद कुमार राई छन्। उपाध्यक्षहरूमा वसन्त गुरुङ, ईश्वर चाम्लिङ, भबिन साम्पाङ राई, राजेन रामजाङ राई र मेनुका राई रहेका छन्। महासचिवमा चन्द्र जयपाल राई, उपमहासचिवमा देवेन्द्र राई, सचिवमा किरण चाम्लिङ, कोषाध्यक्षमा शिवध्वज राई र सहकोषाध्यक्षमा सञ्जीव राई छन्।
कार्यसमितिका सदस्यहरूमा ढकबहादुर राना मगर, ध्रुव राई ‘काइँला’, खगेन्द्र राई, चित्रकुमार राई, विनोद राई, सन्तोष दीर्घा राई, अनिता राई, दीपा क्षेत्री, किसन राई, दीपक राई, रोहित राई, एडविन राई, बलिरत्न राई र तापेन्द्र कुमार राई रहेका छन्।
महासचिव चन्द्र जयपाल राई र कोषाध्यक्ष शिवध्वज राईले प्रवासमा रहेर पनि जन्मभूमिको विकास, खेलकुदको उत्थान र सामाजिक एकतामा योगदान गर्न सम्पूर्ण खोटाङ्गेलाई आग्रह गरेका छन्। उनीहरूले आर्थिक सहयोग, सिर्जनात्मक सहभागिता र कार्यक्रममा उपस्थितिमार्फत वार्षिकोत्सव सफल बनाउन आह्वान गरेका छन्।




