लेख

उथलपुथलमा अस्ताएका दक्षिण एशियाका नेताहरु

डा. विधुप्रकाश कायस्थ


संसारको एक चौथाई भन्दा बढी जनसंख्याको घर रहेको दक्षिण एशिया समृध्द राजनीतिक इतिहासको धरोहर हो। अफगानिस्तान, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल, भुटान, र मालदिभ्स जस्ता देशहरू भएको यस क्षेत्रमा शक्तिशाली सत्तासिन नेताहरु अस्वाभाविक ढंगले अस्ताएका छन्। । प्रायः भ्रष्टाचार, काण्ड र अधिनायक शैलीका कारणले यी नेताहरूको पतन भएका हुन्।

लेखकः डा. विधुप्रकाश कायस्थ

शेख हसिनाः बंगलादेश
हालै भएको बिशाल बिरोध प्रदर्शनका कारण लामो समय सम्म बंगलादेशको राजनीतिमा एक प्रमुख व्यक्तित्व प्रधानमन्त्री रहिआएकी शेख हसिनाको राजनैतिक पतन भए। बिद्यार्थीहरुको नेतृत्वमा भएको एक महिना लामो बिरोध प्रदर्शन पछि उनी पद त्यागेर देश छाड्न बाध्य भइन। उनले नियुक्त गरेका प्रधान सेनापति वकर जमिनले उनलाई देश छाड्न ४५ मिनेटको छोटो समयको अल्टिमेटम दिए पछि सेना कै बिमानमा उनी हतारहतार भारततर्फ भागिन्। उनको नेतृत्व आर्थिक वृध्दि भए तापनि उनको कार्यकाल अधिनायकवाद, विरोधको दमन र चुनावमा धाँधली गरेको आलोचनामा परेका छन्। भ्रष्टाचार र बिभेदको आरोपहरूले पनि उनको सरकारलाई घेरेका थिए।

राजापाक्षे परिवारः श्रीलंका
लोकतान्त्रिक गणतन्त्र श्रीलंकाको राजनीतिमा राजापाक्षे परिवारको लामो समय सम्म दबदबा रह्यो। महिन्दा राजापाक्षे २००५ देखि २०१५ सम्म राष्ट्रपति र पछि प्रधानमन्त्री भएर श्रीलंकाको नेतृत्व गरेका थिए। उनको नेतृत्वमा श्रीलंकाले २००९ मा आफ्नो लामो गृहयुध्द समाप्त गर्‍यो। उनको प्रशासनले युध्द अपराध, मानव अधिकार उल्लङ्घन, र भ्रष्टाचारका गम्भीर आरोपहरूको सामना गर्‍यो। उनी पछि राष्ट्रपति भएका उनका भाइ गोताबाया राजापाक्षेले पनि महत्वपूर्ण शक्ति राखेका थिए र समान आरोपहरूको सामना गरेका थिए। २०१९ को इस्टर बम विस्फोट र आर्थिक संकटपछि परिवारको प्रभाव उल्लेखनीय रूपमा घट्यो। विशाल विरोध प्रदर्शनहरूको दबाब बढ्दै गए पछि अन्ततः २०२२ मा सत्तासीन राजापाक्षे परिवार देशबाट पलायन भए।

इन्दिरा गान्धी – भारत
भारतकी पहिलो र एकमात्र महिला प्रधानमन्त्री इन्दिरा गान्धी भारतीय राजनीतिमा एक प्रख्यात व्यक्तित्व थिइन्। उनको कार्यकाल १९६६ देखि १९७७ र फेरि १९८० देखि १९८४ रह्यो। सन् १९८४ मा उनको हत्या भए पछि उनका महत्वपूर्ण उपलब्धिहरूमा विवादहरूको छायाँ देखिन थाले । उनको शासनको सबैभन्दा कुख्यात अवधि १९७५ देखि १९७७ सम्मको आपतकालीन अवस्था थियो। आपतकालमा नागरिक स्वतन्त्रताहरू निलम्बन गरियो र राजनीतिक विरोधीहरूलाई जेलमा राखिए। यस अवधिमा अधिनायकवाद र मानव अधिकार उल्लङ्घनका आरोपहरूले उनको धरोहरलाई कलंकित गर्यो। भारतको विकासमा उनको महत्वपूर्ण योगदानको बाबजुद अधिनायकवादी प्रवृत्तिका कारण उनको प्रतिष्ठामा प्रश्न चिन्हहरु खडा भए।

बेनजीर भुट्टो – पाकिस्तान
बेनजीर भुट्टो मुस्लिम बहुसंख्यक देशको नेतृत्व गर्ने पहिलो महिला हुन्। उनी एक करिश्माई व्यक्तित्व थिइन्। उनी धेरै पाकिस्तानीहरूका लागि आशा र आधुनिकताको प्रतीक बनेकी थिइन्। उनले १९८० र १९९० को दशकमा पाकिस्तानको प्रधानमन्त्रीको रूपमा सेवा गरिन्। तर उनको राजनीतिक करियर भ्रष्टाचारका आरोपहरूले ग्रस्त थियो। उनको दुवै कार्यकालमा गम्भीर आरोपहरूले ग्रस्त थिए। उनले थुप्रै भ्रष्टाचारको आरोपहरू झेलिन्। उनको नेतृत्व विवादास्पद रह्यो। लामो प्रवासन पछि सत्तामा फर्किने प्रयासरत रहँदा सैनिक शासक परवेज मुसर्रफ सर्बशक्तिमान राष्ट्रपतिको कार्यकालमा सन् २००७ मा उनको हत्या भयो।

राजा ज्ञानेन्द्र – नेपाल
नेपालका राजा ज्ञानेन्द्रको शासनलाई अशान्तिको अवधि भनेर प्रायः हेरिन्छ। उनले सन् २००१ मा राजपरिवारको दुःखद हत्यापछि सिँहासन ग्रहण गरे। जननिर्वाचित सरकारलाई असक्षम भन्दै सरकार भङ्ग गरेपछि उनले २००५ देखि २००६ सम्म प्रत्यक्ष शासन गरेका थिए। उनको शासन व्यापक रूपमा अलोकप्रिय भएको थियो। लोकतन्त्रलाई पुनर्स्थापनाका लागि भएको दोस्रो जनआन्दोलनलाई बलपूर्बक दबाउने उनका प्रयासहरूले विशाल विरोध प्रदर्शनको निम्त्यायो। २००८ मा राजतन्त्रको अन्त्य भयो र नेपाल गणतन्त्र भयो।

मोहम्मद नशीद – मालदिभ्स
मालदिभ्सको पहिलो प्रजातान्त्रिक रूपमा निर्वाचित राष्ट्रपति मोहम्मद नशीद प्रारम्भमा प्रगतिशील नीतिहरू र वातावरणीय वकालतका लागि प्रशंसित थिए। तर उनको राष्ट्रपति पदले गम्भीर चुनौतीहरूको सामना गर्यो। उनी भ्रष्टाचार र अधिनायकवादी व्यवहारका आरोपहरूमा घेरिए। सन् २०१२ मा उनलाई राजीनामा दिन बाध्य पारियो।

निष्कर्ष
यी नेताहरूका सत्ता आरोहण र अवसानका कथाहरू दक्षिण एशियामा शक्ति र शासनको जटिल गतिशीलतालाई प्रतिबिम्बित गर्छन्। तिनीहरूको पतनले भ्रष्टाचार, अधिनायकवाद, र शक्तिको दुरुपयोगका खतराहरूको बारेमा चेतावनीका उदाहरणहरु प्रस्तुत गर्छ। तिनीहरु मध्ये केहीले प्रगतिशील र विकासको धरोहर छोडे तापनि प्रायः गंभिर आरोपहरुका कारण तिनीहरूको ब्यक्तित्व विवादित बनेका छन्। दक्षिण एशियाका देशहरूको राजनीतिक परिदृश्यहरू निरन्तर विकसित भइरहेका छन्।यी नेताहरूका उदय र पतनबाट बर्तमान सत्तासिन तथा भविष्यका नेताहरुले पाठहरू सिक्दा राम्रो हुने छ।
(vidhukayastha@gmail.com)

Related Articles

Back to top button