खेलकुद

सात दिन, सात प्रदेश, सात म्याराथन, गोर्खा चिता तिलविक्रमको म्याराथन दौड किन रोकिएका छैनन?

२१ वटा पूर्ण म्याराथन पूरा गरेका तिलविक्रम दौडलाई व्यक्तिगत उपलब्धिसँगै परोपकार र नयाँ पुस्ताको प्रेरणासँग जोडिरहेका छन्। अब उनको नजर सन् २०२७ का नयाँ चुनौतीमा छ।

लन्डनका सडकदेखि नेपालको हिमाली गोरेटोसम्म, चीनको विशाल पर्खालदेखि दक्षिण अफ्रिकाको केप टाउनसम्म—तिलविक्रम सम्बाहाङ्फेका पाइलाले फरक भूगोल र फरक चुनौती पार गरेका छन्। तर उनको दौड यात्राको सबैभन्दा अविस्मरणीय अनुभवमध्ये एउटा आफ्नै देशसँग जोडिएको छ : नेपालको सातवटै प्रदेशमा सात दिनभित्र सातवटा पूर्ण म्याराथन पूरा गर्ने ‘७७७ च्यालेन्ज’।

हरेक दिन एउटा पूर्ण म्याराथन, अनि अर्को दिन फेरि नयाँ दौड। सात दिनसम्म दोहोरिएको यो चुनौती उनका लागि शारीरिक सहनशीलतासँगै मानसिक दृढताको परीक्षा थियो। उनले त्यो परीक्षा पूरा गरे। अहिले उनी त्यसलाई आफ्नो जीवनका सबैभन्दा चुनौतीपूर्ण र आत्मविश्वास बढाउने अनुभवमध्ये एक मान्छन्।

तेह्रथुम म्याङलुङ नगर पालिका ८, कप्याकमा २०१९ साल चैत्र १६ मा जन्मिएका ६४ बर्षे सम्बाहाम्फे भन्छनः “मेरा लागि दौड भनेको आफूलाई निरन्तर चुनौती दिनु, आफ्नो क्षमताको परीक्षण गर्नु र हरेक अनुभवबाट केही नयाँ सिक्नु हो ।”

उनको यही सोचले दौडको एउटा अन्तिम रेखालाई अर्को यात्राको सुरुवात बनाउँदै आएको छ। हालसम्म २१ वटा पूर्ण म्याराथन पूरा गरेका उनी अब सन् २०२७ मा नयाँ चुनौती स्वीकार गर्ने योजनामा छन्। जनवरीमा हाइरक्समा सहभागी हुने र सोही वर्ष विश्व च्याम्पियनसिपमा ६० वर्षभन्दा माथिको उमेर समूहमा प्रतिस्पर्धा गर्ने उनको लक्ष्य छ।

तिलविक्रमको लामो दूरीको दौड यात्रा भने एकैपटक यहाँसम्म आइपुगेको होइन। यसको पछाडि दशकौँको लगाव, नियमितता र आफ्नो क्षमता विस्तार गर्दै यहा सम्म आईपुगेका हुन । करिब दुईदशक (मे १९८१ देखि नोभेम्बर १९९९) वेलायती गोर्खा सेनामा रहेर सेवा गरेपनि अवकाश पछि मात्र वहाको दौडको उडान भने शुरु भयो ।

सुरुमा मध्यम दूरीका धावक रहेका उनको हाफ म्याराथन यात्रा सन् १९८९ मा वेल्सबाट सुरु भएको थियो। त्यसयता उनले ४५ वटा हाफ म्याराथन पूरा गरिसकेका छन्। अधिकांश प्रतियोगिता बेलायतमा भए पनि सन् २००० मा कोसोभोमा दौडिएको हाफ म्याराथन उनको सम्झनामा विशेष छ। त्यही प्रतियोगितामा उनले आफ्नो व्यक्तिगत उत्कृष्ट समय हासिल गरेका थिए।

पूर्ण म्याराथनतर्फ भने सन् २०१४ निर्णायक मोड बन्यो। पहिलोपटक लन्डन म्याराथन पूरा गरेपछि ४२.१९५ किलोमिटरको दूरीप्रति उनको आकर्षण अझ बढ्यो। त्यसपछि उनले लामो दूरीको दौडलाई थप प्राथमिकता दिन थाले।

उनलेका अनुसार पछिल्ला १२ वर्षमा पूरा गरेका २१ पूर्ण म्याराथनमध्ये लन्डन म्याराथन मात्रै सातपटक परेको छ। म्यानचेस्टर, डोर्नी लेक र ब्राइटनमा पनि उनले पूर्ण म्याराथन पूरा गरेका छन्। बेलायतबाहिर पेरिस, ग्रेट वाल अफ चाइना, एभरेस्ट र केप टाउन म्याराथन उनका अनुभवमा थपिएका छन्।

यी दौड उनका लागि नयाँ ठाउँ पुग्ने अवसर पनि बने। फरक देशका धावकहरूसँगको भेटघाट, भिन्न दौड संस्कृति र बदलिँदो मौसम तथा भूगोलले हरेक प्रतियोगितालाई छुट्टै अनुभव बनाएको उनी बताउँछन्।

पूर्ण र हाफ म्याराथनसँगै उनले ४० भन्दा बढी १० किलोमिटर र ५० भन्दा बढी पाँच किलोमिटरका प्रतियोगिता पनि पूरा गरेका छन्। बेलायतसहित सर्बिया र नेपालमा सहभागी भएका छोटा दूरीका दौडले उनलाई नियमित सक्रिय रहन र अरूलाई पनि दौडसँग जोड्न सहयोग गरेका छन्।

उनको यात्रामा प्रतियोगिता पूरा गरेका क्षणसँगै विजयका सम्झना पनि छन्। बेलायतको एशफोर्डमा १३ जना गोर्खा भिक्टोरिया क्रस पदक विजेताको सम्मानमा आयोजना हुने १३ किलोमिटर स्मृति दौडमा उनले सन् २०१७, २०२१ र २०२४ मा सहभागिता जनाएका थिए। उनका अनुसार, ती तीनै अवसरमा विजेता बन्न पाउनु विशेष गर्वको विषय हो।

सन् २०२५ को सेप्टेम्बरमा उनले अर्को लामो चुनौती स्वीकार गरे। गोर्खा वेलफेयर ट्रस्टको १०० किलोमिटर च्यालेन्जमा बुढोजोस २/८१’ टोलीको सदस्यका रूपमा सहभागी भएर उनले उक्त दूरी पूरा गरे। यो अनुभव उनको दौड यात्रा र परोपकारी संलग्नता जोडिने अर्को अवसर बन्यो।

सहनशीलता जाँच्ने उनको रुचि दौडमा मात्र सीमित छैन। सन् २०१० मा लन्डनदेखि ब्राइटनसम्मको १०० किलोमिटर साइकल यात्रा पूरा गरेका उनले बेजिङस्टोक तथा विन्चेस्टर आसपास आयोजित ‘बेजिङस्टोक बिग ह्विल’ कार्यक्रममा दुईपटक सहभागिता जनाएका छन्। सन् १९९८ मा सर्बियामा आयोजित डुआथलनमा भने उनी शीर्ष पाँच स्थानभित्र पर्न सफल भएका थिए।

यति धेरै प्रतियोगिताका अनुभव सुनाउँदा तिलविक्रम पदक र प्रमाणपत्रभन्दा तिनले सिकाएका पाठलाई बढी महत्त्व दिन्छन्। धैर्य, अनुशासन, आत्मविश्वास र अप्ठ्यारो अवस्थामा पनि प्रयास जारी राख्ने बानीलाई उनी दौडबाट प्राप्त उपलब्धि मान्छन्।

त्यही अनुभवलाई उनी समुदायसम्म पुर्‍याउन चाहन्छन्। साथीभाइ, आफन्त र युवा पुस्ताले नियमित शारीरिक गतिविधिमा रुचि राखून् र आफ्नो क्षमताअनुसार सक्रिय जीवन बिताऊन् भन्ने उनको चाहना छ।

दौडप्रतिको यही लगावलाई उनले परोपकारसँग पनि जोडेका छन्। विभिन्न परोपकारी संस्थाका लागि दौडमार्फत आर्थिक सहयोग जुटाउने प्रयास गर्दै आएका तिलविक्रम अहिले नेपाल रन यूकेको कार्यसमिति सदस्यका रूपमा सक्रिय छन्।

उनका अनुसार, संस्थाले दौड तथा विभिन्न कार्यक्रमबाट सङ्कलन गरेको रकम नेपालका खेलकुद क्लबलाई सहयोग गर्न, खेलमैदान बनाउन र खेलाडीका लागि होस्टेल निर्माणमा सघाउन उपयोग गरेको छ। खेलाडीले अभ्यास गर्ने ठाउँ र आवश्यक सहयोग पाऊन् भन्ने उद्देश्यले उनी संस्थाको काममा जोडिएका हुन्।

व्यक्तिगत दौडको उपलब्धिले अरूका लागि अवसर सिर्जना गर्न सघाउँदा आफूलाई विशेष सन्तुष्टि मिल्ने उनी बताउँछन्।

“आफ्नो दौड यात्रालाई व्यक्तिगत उपलब्धिमा मात्र सीमित नराखी समाजका लागि केही योगदान गर्न सक्नु नै मेरो लागि ठूलो उपलब्धि हो,” उनी भन्छन्।

तिलविक्रमका तिर्खा मेटिएको छैन, लक्ष्य पूरा भइसकेका छैनन । सन् २०२७ मा विश्वकै ठूलो हाइरक्समा प्रतियोगितालाई ध्यानमा राखेर निरन्तर अभ्यास जारी छ। शरीर र स्वास्थ्यले साथ दिएसम्म दौड तथा अन्य खेलकुद चुनौतीमा सहभागी भइरहने उनी बताउँछन्।

उनका लागि उमेर बढ्नु सक्रिय जीवनबाट पछि हट्ने कारण होइन। बरु आफ्नो स्वास्थ्य र क्षमता बुझ्दै नयाँ लक्ष्य तय गर्ने अवसर हो। सबैले एउटै गतिमा दौडनुपर्छ भन्ने पनि उनी ठान्दैनन्। कसैले छिटो, कसैले बिस्तारै—आफ्नो क्षमताअनुसार अघि बढ्नु र यात्राको आनन्द लिनु उनका लागि महत्त्वपूर्ण छ।

वेल्सको हाफ म्याराथनबाट लन्डनका सडक, नेपालको सात प्रदेश र एभरेस्टका गोरेटोसम्म फैलिएको उनको यात्रामा यही निरन्तरता देखिन्छ। हरेक दौडले एउटा अनुभव थपेको छ र अर्को चुनौती स्वीकार गर्ने इच्छा जगाएको छ।

उनकै शब्दमा, “एउटा दौडको अन्तिम रेखा अर्को नयाँ सुरुवात पनि हुन सक्छ।” नेपालीहरुको दौडको इतिहासमा चर्चामा रहेका सर्विया निवासी खोप बहादुर गुरुङ, बैकुण्ठ मानन्धर र हरि रोकायालाई झण्डैझण्डै पछि पार्दै लगेका छन ६४ बर्षको उमेरमा पनि विश्व जित्ने हिम्मतका साथ दौडी रहेका तिलबिक्रम सम्बाहाम्फेलेलाई गोर्खा चिताको रुपमा चिन्न सकिन्छ । हाल उनी रहदै आएको युके बेजिङस्टोक र वरपरका साथीभाईहरुलाई समेत दौडमा प्रेरणा दिईरहेका गोर्खा चिता तिलविक्रमलाई अझ प्रगति, उन्नतिको शुभ कामना ।
विश्वास दीप तिगेला
६ नोभेम्बर २०२७

Related Articles

Back to top button