ब्रिगेड ओफ गोर्खास ईन्टेक २/८१ को ४५ औ नम्बरी भेला पोखरा नेपालमा – फर्केर हेर्दा

लण्डन। नम्बरी भन्नासाथ, भविष्य बनाउने सिलसिलामा जोडिएका आत्मिय मित्र, परिवार देखि टाढा हुंदाको एक्लो र नियास्रो पन मेटाउने साथी। खुशीमा होस् या दुखमा, झगडा गर्दा नि परालको आगो जस्तो छिन भरमै निभ्ने। कस्तो हो कस्तो बिर्सेर नि सम्झिने, सम्झेर नि नम्बरीको मायां बाहेक केहि दिन नसक्ने अचम्मैको नाता।
यहि नाता बलियो बन्ने र बनाउने क्रममा थाहै नपाई जवानी नै छु भन्दा भन्दै भर्ति भएको ४५ बर्ष पनि बितेछ। समयको माग हो या नम्बरीको दृढ ईच्छा हो, यस पटक भने भर्ति केन्द्र शहर पोखरा नेपालमा बार्षिक उत्सव मनाउन जुर्यो। हुनत यो भन्दा पहिले ४०औ बर्षको भेला हङकङमा गर्ने पक्का भईसक्दा कोभिड 19 ले गर्दा स्थगित गर्नु परेको थियो। त्यो भन्दा पहिले पनि २/८१ नम्बरीलाई पहिलो पटक रोयल मिलिटरी एकाडेमी स्यान्डर्श्टमा मानाउन पाउंदा ऐतिहासिक एक नमुना नै भएको थियो।

भर्ति भएको ४५ बर्षको अन्तरालमा बिभिन्न आरोह अबरोहमा परिवारको जीवनस्तरको सुब्यबस्था गर्दै ४५औ बार्षिक उत्सव नेपालमा मनाउने भईसके पछि सबैलाई सहज, भब्य र अबिष्मरणीय होस् भनि थप उत्साहका साथ काम बिभाजन गर्ने निर्णय भयो। मेजर रि. खुशीमान गुरुङ, मेजर रि शोभित हमाल, क्या रि महेन्द्र लिम्बु, रामलाल श्रेष्ठ लगायत वहांहरु टिमको अथक परिश्रमले साच्चिकै कार्यक्रम अत्यन्तै सौहार्दपुर्ण भब्य सफल भएको थियो।
चार दिनको कार्यक्रममा पहिलो दिन सहारा नेपालको मैदानमा खेल हेर्न पुगियो। सहारा नेपालका नानीहरुलाई त्यहां सस्थाबाट र ब्यक्तिगत सहयोग गर्ने मौका मिल्यो। त्यसपछि सांझ पोखरा लेकसाईड रेष्टुरेन्टको चहलपहल हेर्दै खान पान गर्दै हिड्यौं। जस्को लिड पोखराबासी हरि कुमार श्रेष्ठ दाईले गर्नु भएको थियो, दाईलाई धन्यबाद। खुशी लाग्यो रेष्टुरेन्टको ब्यबसाय राम्रो हुनु नै हामी नेपालीहरुको सन्तुलन आय श्रोत भएर नै हो।
दोस्रो दिन बिहान भोलि पल्ट अनगिन्ती मिठो परिकारको भोजन पछि मुख्य कार्यक्रम हुने स्थल राज महलमा सबै बन्दोबस्तको लागि प्रस्थान गरे भने दिदी बहिनीहरु सुन्दरी हुनको लागि गहना देखि छुटेका समान किन्न ब्यस्त भए । अध्यक्ष सुनिल राना राजमहल तिर म महराटोलमा गहना किन्न गएं कत्ति नै राम्री देखिन्छु भनेर। तर के को हुने नि ! वास्तबमा राम्रो त ब्यबहारले हुने हो बाहिर आवरण त क्षणिक मात्र हो। जे होस् अलि अलि खर्च गरेर रमाउनु पनि थेरापी नै हो।
बेलुका होटल बराहमा रिसेप्सन कार्यक्रम – सास्कृतिक नृत्कासाथ गज्जबको रात्रिभोज सम्पन्न भयो। नेपाल, हङकङ, युके र अन्य देशबाट पनि भेट भएर रमाईलो कुराकानीमा ब्यस्त देखिन्थे। रमाईलो त धेरै बर्ष भेट नभएका छुटेकाले एकआपसमा नाम पनि भुले जस्तो अनकनाई राखेको देख्दा लाग्थ्यो यो भेटले पक्कै अतित स्मरण गरायो। आफ्नो नम्बरीसंग त त्यो चाल भने हामी दिदी बहिनी त झन चिनेको संगै डल्लो पर्दै गफ् छाटियो तर केहि समय पस्चात सबैसंग चिनापर्ची गरियो रमाईलोको त कुनै सिमाना थिएन।
अर्को दिन २१ फेब्रुअरी शनिबार मुख्य दिन बिहान ११ बजे बस आउने समय राजमहल जानको लागि। दिदीबहिनीहरुले ब्युटिसियनलाई बुक गरेका थियौं, केहि दिदीबहिनीहरु सिंगार पटार गर्नमा ब्यस्त देखिन्थे। अन्जुलाई बिशेष धन्यबाद यो ब्यबस्था मिलाई दिएकोमा। नम्बरी दाजुहरुको सुटमा निलो टाई संग दिदीबहिनीहरुको एउटै रंग निलो सारी मिलाएर सबैजना सजिएर राजमहल तिर प्रस्थान गर्यौं मानौ सबैजना ४५औ नभएर पहिलो बर्षगाठ मनाए जत्तिकै अलिक लजालु तर खुशी देखिन्थे। दिदीबहिनीहरु त आम्मै चिन्नै नसकेका दाजुहरु पनि झन्डै झुक्किएका भन्न नमिल्ने।
जे होस् बेलायतको ब्यस्त समय देखि गुज्रेका हामी त्यस्तो रमाईलो क्षण अवसर पाउंदा मख्खै थियौं।
बिशेष दिन मौसमले पनि साथ दिएको उज्यालो न्यानो दिन, बेलायतको अध्यारो चिसो बाट गएको पोखराको घाम ताप्न पाउंदा सबैजना अत्यन्तै खुशी मुद्रामा बाहिर सबैतिर हेर्दै मिठो मिठो परिकार सेवन गर्दै प्रफुल्ल देखिन्थे।
साच्चि सुरुमा प्रवेश गर्दा त श्रीमान श्रीमती जोडी जोडी बिरालु हिडाई (क्याट वाक) गर्नु पर्ने, फोटोग्राफर मिलन तमु दाजु (गोरखा मिडिया), सम्राट बाबु (भ्लगर) र सस्थाबाट ल्याईएको फोटोग्राफरको भिडियोमा कैद भईयो। सबैलाई धन्यबाद। उक्त दिन प्रमुख अतिथि कर्नेल जे पी क्रस (गोरा साहेब) हुनुहुन्थ्यो, वहांको छोरा धनबहादुर गुरुङ संग आउनु भएको थियो। वहांको खुशी नाप्ने हो भने १०० डिग्रीभन्दा धेरै पुग्ने थियो। उपस्थितिको लागि १ बजेको समय दिएको, १० बजे नै आउन हतार गरेको भन्ने सुनियो, कति उत्साहित। उमेरको हिसाबले १०० बर्ष तर जोस् भने ४० बर्षको जस्तो। खै हामीले नेपालमा के देखेनौं र पलायन भयौं, जे पी क्रस साहेबले बेलायतमा के देखेनन् र नेपालमा सबैकुरा देखेर स्थायी बसोबास गरे। नपाली मै स्नातकोत्तर सम्म अध्ययन गरे। वहांसंगको बातचित अहिले पनि कानमा गुन्जिरहेको छ। कति जोस् कति उत्साहित, दिल खोलेर हांस्ने प्रसन्न मुहारमा।
बिहानै देखि राती सम्मको कार्यक्रम अत्यन्तै भब्य भएको थियो। बिशेष धन्यबाद खुशीमान दाजु ,मन्जु दिदी, शोभित हमाल दाजु, यशोधा दिदी, हङ्कङ्बाट त्रिलोक दाजु र नम्बर्नी, रामलाल दाजु र रामु, महेन्द्र दाजु र नम्बर्नी दिदी, सेर दाजु र नम्बर्नी, बेम दाजु र नम्बर्नी, बेल दाजु र दिलु लगायत सबै कार्यसमिती पुर्ब अध्यक्षहरु सबैलाई धन्यबाद।
अध्यक्ष सुनिल रानाको जिम्मेवार र वहांको ब्यस्तता देखेर साथै दाजुहरुको काम रफ्तार देखेर अलिक मन भारी कस्तो होला भन्ने जिज्ञासा चाहिं थियो। जे हुन्छ राम्रै हुन्छ भन्ने पनि थियो र अन्ततः समग्रमा ठुलो कुनै कमि नभै भब्य सफल भयो। बिहान देखि बेलुकी सम्ममा बिभिन्न प्याकेजको बयान गरि साध्य छैन हिमालयन सास्कृतिक टिमले माहोल अझ तताएको थियो त्यस्मा कक्टेल डान्सले थप रौनक दिएको थियो भन्नुमा कुनै अत्युक्ति नहोला।
भोलि पल्ट अन्तिम दिन बिहानको होटल बराहको परिकार खाजा नास्ता पछि गोरखा संग्राहलय तिर लाग्यौ। त्यहांको टिमबाट स्वागत खादा माला पछि बेलायतमा नै नम्बरीबाट संकलन गरेको दुई लाख रुपिया हस्तारण गर्नु थियो तर गोरखा म्युजियमको संरचना ब्यबस्थापन देखेर भित्तामा आफ्नो फोटो टासिनाले पनि सबैको मन जितेर २१ लाख भन्दा बढी रकम उठ्न सफल भएको थियो।
त्यसपछि गुटुटु क्या्म्प तिर लाग्यौ। दाजुभाईले आफुहरु बस्दाको क्षण स्मरण गर्दै सर्प, भ्यागुटा, बिच्छी संग झगडा गर्दै तालिम गरेको अहिले त कति परिवर्तन राम्रो भएछ भन्दै ठुला ठुला स्वरले गफ् हाक्दै भावुक र उत्साहित हुंदै अगाडि बढिरहेका थिए। लाग्थ्यो ८ कक्षाका बिधार्थीहरु स्कुल भ्रमण गएका जस्तै। चौतारीमा बस्दै बि जी क्याम्प को टु इ सी कप्तान बेल बहादुर गुरुङ बाट वर्तमान गतिबिधी प्रस्तुत गर्दै हुनुहन्थ्यो। मलाई भने गाउंमा घांस भारी बिसाएर थकान मेटेको आनन्दको अनुभव भयो। त्यस पश्चात बि जी क्याम्प कै आडमा गोर्खा वेल्फ़र त्रस्त (GWT) तिर हन्नियौ अनि कर्नेल जे डी फेन द्वारा गोर्खा वेल्फ़र त्रस्त (GWT) ले गरेको गतिबिधि अनि त्यसको लक्ष्य सुनाउनु भयो। ईन्टेक २/८१ को सदस्यहरुले यूके मा १०० कि मि ट्रेल वल्क गरेर £२००० भन्दा बडी उठाएको थियो र त्यसैको सन्दर्भमा अध्यक्ष सुनिलले उपस्थित मेम्बरहरुलाई चिना-पर्चि गरिदिनु भयो।
हामी क्याम्प देखि बाहिर निस्केर नजिकै दिप ग्रिन रेष्टुरेन्टमा दिउसोको खाना खान बस्यौं। खाना असाध्यै मिठो भयो। एक त नेपालको पानी, खाना त्यसै मिठो त्यस्मा भोक र तिर्खाले अति नै मिठो भयो बयान गर्दा अहिले भोक नलागे पनि मुख रसाएर आउंछ। फेब्रुअरी २२ नचाहंदा नचाहदै छुट्टिनु पर्ने दिन, अरु कसैले खोसिदेला, आफ्नो कुरा राख्न बन्चित भईएला जस्तो, अरुले पालो मिच्देला भन्ने डर भए जस्तै तछाड मछाड सबै गफमा ब्यस्त । एकजना नम्बर्नी साथीले राजनितिको कुरा निकाल्नु भयो वहां पनि राजनितिामा होमिनु भएको रहेछ निकै राम्रा कुरा पनि भए। त्यति बेला देशमा चुनावको चरम चहल पहल भएको अवस्था थियो। बहुसंङख्यक जन जिब्रोमा रास्वपा घन्टीको कुरा हुन्थ्यो त्यसैमा अर्का नम्बरी दाईसंग हेल्दी बहस चल्यो। मानौं चुनाव त्यहि समयमा भईरहेको छ, एकले अर्कोलाई आलोचना गर्दै आफ्नो पक्ष जितको लागि घमासान हुंदैछ। जे होस् देशका जनताको हितमा काम गर्ने सबैले बराबर न्याय पाउने समृद्दि र सुशासन नेपाल जस्ले गर्छ उहि राम्रो।
म भने त्यो माहोलबाट खुसुक्क निस्केर सम्राट मगर र नानीसंग फोटो खिच्न तर्फ लागें । प्रचलित भ्लगर सम्राट बाबु नम्बरी दाजुको छोरी ज्वाई पर्नु भयो। हामी सबैले खाना खाई सकेपछि आआफ्नो गन्तब्य तिर लाग्यौं। सांझ होटलमा फर्किदा त्यहां नेपाली भिलेज (वेल्स) का डाईरेक्टर दाजु खुशीमान र अन्य बिशिष्ट महानुभावको बैठक भईरहेको रहेछ अन्त्यमा दाजुको निमन्त्रणामा भब्य रात्रीभोजमा सामेल हुने अवसर पायौ यस्को लागि दाजु, मन्जु दिदी र वहांको टिमलाई मुरी मुरी धन्यबाद।
यसरी २/८१ को ४५ओं बार्षिक उत्सब एक ऐतिहासिक र अबिस्मरणीय भयो। जो जति बिभिन्न कारणले उपस्थित हुन सक्नु भएन, कोहि नेपलमानै भएर पनि समय निकाल्न सक्नु भएन वहाहरुले मिस गर्नु भयो या भएन हामीले भने मिस गर्यौं। सुख र दुखमा साथ चाहिन्छ। यो अवसर फेरि आउला नआउला भनेर कोहि दाजुहरु नेपालबाट फर्केको २ हप्ता भित्र यो कार्यक्रमको लागि फेरि नेपाल जानु भयो। पैसा चाहिन्छ चाहिन्छ तर कहिले काहि लाग्छ पैसा भएर पनि यस्तो अवसर त पाईदैन। स्वास्थ्य, पैसा र समयलाई मिलाएर लान सक्यो भने जीवन अझ सार्थक हुंदो रहेछ।

अब पचासौं उत्सव हङकङमा मनाउने कुरा भईरहेको छ। हामी सबैलाई स्वस्थ, धन र समयले साथ दिवस् भनि कामना गर्दै २/८१ ईन्टेक दाजुहरु दिदी बहिनीहरुलाई धेरै धेरै धन्यबाद। यसपटक हामीले नेपाल आफ्नो देशलाई पर्यटकले जस्तै आर्थिक सहयोग पनि गरेकोमा दुई मत हुंदैन।
पोखराको कार्यक्रम सकिएपछि भोलि पल्ट ट्रेकिङ गाईडलाई लिएर सुनिल र म अन्नपुर्ण आधार शिविर तिर लाग्यौं। पांच दिनको राति घान्द्रुक आएर बसेको अर्को अंशमा राख्ने छु ।




