युके विशेष

भबिन साम्पाङ् राई बने गोर्खा नेपाली समाज मेडवेको नयाँ अध्यक्ष

लण्डन । गोर्खा नेपाली समाज मेडवेमा नयाँ कार्य समितिको चयन भएको छ ।

सेप्टेम्बर १० आइतबारका दिन मेडवेको चाथाम टाउनमा रहेको नेपाली रेस्टुरेन्ट गोर्खा ब्रदर्समा सम्पन्न भएको नयाँ कार्यसमिति चयनका निमित्त निर्वाचन समितिमा पूर्व अध्यक्ष तथा सल्लाहाकारद्वय भीम राई र हाल मेडवे काउन्सिलका मेयर श्रीमती नीना गुरुङ र बाबु पन्त रहनु भएको थियो ।

सूर्यविक्रम राईको नेतृत्वको यस अघिको कार्यसमिति बिघटन पछि धन्यवाद दिंदै बिदाई गरेपश्चात निर्वाचन समितिले भबिन साम्पाङ् राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरी नयाँ कार्य समितिलाई पद तथा गोपनियताको सपथ खुवाएर बधाई ज्ञापन गर्दै जिम्मेवारी हस्तान्तरण गरेको थियो ।

नयाँ कार्यसमितिमा उपाध्यक्षद्वय ज्ञानेन्द्र राई र स्म्रीता राई, महासचिव हरित पोख्रेल, सहसचिव केशव ढकाल, कोषाध्यक्ष रोशन राई, सहकोषाध्यक्ष उत्तर पतङवा, साँस्कृतिक संयोजक श्रीमती सृजना निङ्लेकु, साँस्कृतिक सहसंयोजक चन्द्रावती राई, खेलकुद संयोजक राम काम्बाङ्, खेलकुद सहसंयोजक जोग आले, प्रोपर्टी, मिडिया, वेबमास्टर संयोजक मोहन सिं तामाङ्सहित महिला संयोजकमा श्रीमती उषा गुरुङ चयन हुनु भएको छ ।

समाजको निवर्तमान अध्यक्ष सूर्यविक्रम राई सल्लाहकारमा नियुक्त हुनु भएको छ ।

मेडवे नेपाली समाज सानो भए पनि अत्यन्तै चर्चित र सफल नेपाली समाजहरूमा अगाडी रहेको समाज हो ।

पूर्व अध्यक्ष श्रीमती नीना गुरुङ् अहिले मेडवे काउन्सिलको मेयर (नेपाली मूलकी युकेको पहिलो महिला मेयर) बनेर समग्र गोर्खा र नेपालीहरुकै उदाहरण बन्दै लोकप्रिय मेयरको छवि बनाइरहनु भएको उदाहरण छ ।

मेडवे नेपाली समाजले नेपालमा बिभिन्न आर्थिक र भौतिक सहयोग निरन्तर गर्दै उल्लेख्य योगदान पुर्याउँदै आइरहेको छ भने युक्रेन युद्दले आक्रान्त बनिरहेको यो बेला सकेको आर्थिक सहयोग संकलन गरेर सहयोग पुर्याउन सफल रहेको छ ।

मेडवे चर्चित गीतकार, कवि, लेखक र चर्चित युट्युबरहरुको बासस्थान भएकाले पनि यसै परिचित हो ।

को हुन् नयाँ अध्यक्ष भबिन साम्पाङ् राई

खोटांगमा जन्मिएका भबिन साम्पाङ् राइको अफिसियल नाम भुपेन्द्र जँग राना साम्पाङ् राई हो । १९९९ सालमा ब्रिटिश सेनामा भर्ती भएर युके आउनु भएका साम्पाङ् सेवा निवृत्ति पश्चात श्रीमती र एक मात्र सन्तान छोरासहित जिलिंघाम टाउनमा बस्दै आउनु भएको छ ।

पदलोलुपताभन्दा बढी सामाजिक सेवाका निमित्त धेरै संस्थामा विभिन्न पदमा रहेर समाजको सेवामा समर्पित भबिन अहिले पनि खोटांग सेवा समाज युकेको उपाध्यक्ष, रावाखोला सेरोफेरो युके, किरात राई यायोख्खा युके प्रारम्भिक कार्यसमिति मेडवे, किरात साम्पाङ् जुम्लेखा युके लगायत आधा दर्जन बढी संघ संस्था र समाजमा आवद्ध भएर समाज सेवा गरिरहनु भएको छ ।

धेरै पटक आर्थिक सहयोग संकलन गरेर आर्थिक विपन्नताका कारण उपचार रोकिएका बिरामीको सफल उपचारदेखि, बाढी पहिरो प्राकृतिक बिपत्ति अनि कोरोना कालमा समेत आर्थिक संकलन गरेर नेपालका बिभिन्न ठाउँमा खाना र नानाको समेत सहयोग पुर्याइरहनु भएको छ ।

खोटांग समाज युकेले खोटांग जिल्लामा ७ वटा एम्बुलेन्स प्रदान गर्दा चालक दललाई तालिम दिन समेत आफ्नो समय र खर्चमा युकेदेखि नेपाल गएर उहाँले अमूल्य योगदान दिनु भएको थियो ।

स्नात्तकोत्तर सम्मको अध्ययन पूरा गर्नु भएका भबिन साम्पाङ् राईले अफगानिस्तान, ब्रुनाई, अधिकांस युरोपका देश, अमेरिका, क्यानडा, एसियाका धेरै देशहरुको भ्रमणसहित लामो समय सैन्य पेशाको अनुभब हासिल गर्नुभएको छ ।

गोर्खा नेपाली समाज मेडवेमा आफ्नो कार्यकालमा नेपाली समाजको निमित्त अति आवश्यक सामुदायिक भबनको जोहो गर्ने तर्फ आफ्नो ध्यान केन्द्रित रहेको र प्राबिधिक रुपमा अहिले समाजको पूर्ब अध्यक्ष हाल मेडवे काउन्सिलको मेयर रहनु भएको अवसरमा पहल गरे साथै स्थानीय दाजुभाइ दिदी बहिनीहरुको साथ र सहयोग अनुसारको कार्यमा सफल हुनेमा आफू बिश्वस्त रहेको बताउँदै सबैले होस्टेमा हैंसे गरेर अघि बढ्न अनुरोध गर्नु भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button