आज हुने आदिवासी मेलाको तयारी पूरा, २५ टिम भलिबलमा र दर्जनभन्दा बढी सांस्कृतिक झाँकी

लण्डन।
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेको आयोजनामा आज ८ अगष्टका दिन सम्पन्न हुन गइरहेको आदिवासी मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।
३२औँ विश्व आदिवासी दिवसको अवसरमा यूकेको ग्याम्बरल्यान्डमा आयोजना हुने कार्यक्रममा एक दर्जनभन्दा बढी विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रस्तुत गरिनेछन्। त्यस्तै, नेपालबाट आमन्त्रित आधा दर्जन ख्यातिप्राप्त कलाकारहरूले आकर्षक सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिने नेफिन यूकेका अध्यक्ष योगेश कोयूले बताएका छन्।
मेलाको अर्को प्रमुख आकर्षण भलिबल प्रतियोगिता रहनेछ। यस वर्ष प्रतियोगितामा २५ टिमले सहभागिता जनाउने भएका छन्। प्रतियोगिता सञ्चालनका लागि ६ वटा खेलमैदान तयार गरिएको खेलकुद संयोजक तथा नेफिन यूकेका पूर्वअध्यक्ष कर्म पहाडीले बताएका छन्। गत वर्षको प्रतियोगितामा ग्रिनवीच भलिबल क्लब विजयी भएको थियो। भलिबलका अतिरिक्त आर्चरी अर्थात् धनुषकाँड हान्ने प्रतियोगिता पनि आयोजना गरिनेछ। त्यस्तै अनेक बिक्रिका स्टलहरु रहनेछन् ।
यस वर्ष सांस्कृतिक झाँकीतर्फ थारु, मगर, गुरुङ, लिम्बु, याक्खा, राई, तामाङ, दुरा, छन्त्याल र शेर्पालगायत विभिन्न समुदायको आकर्षक सहभागिता रहने जनाइएको छ।
नेपालबाट आमन्त्रित कलाकारहरूमा दिपा सुहाङ, राजेन्द्र केरुङ, अस्मिता राना र लक्ष्मण लिम्बुलगायत रहेका छन्।
लण्डन नजिकै ग्याम्बरल्यान्डमा आयोजना हुने कार्यक्रममा सहभागी हुन सहज होस् भनेर आयोजकले कार्यक्रमस्थलको पोस्टकोड GU23 6HS तथा आवश्यक सहयोगका लागि सम्पर्क फोन नम्बर 07912847615 उपलब्ध गराएको छ। विश्वभर अगष्ट ९ का दिन विश्व आदिवासी दिवस मनाउने प्रचलन रहेको छ । विश्वभर अगष्ट ९ का दिन विश्व आदिवासी दिवस मनाउने प्रचलन रहेको छ । युकेमा आदिवासी मेला पनि गतबर्ष देखि शुरु भएको हो । यो बर्ष दोस्रो आदिवासी मेला हो ।
गत बर्षको झाँकी:




