‘याक्थुङ साम्जिक मुन्धुम शब्दकोश’ सार्वजनिक

ललितपुर, २७ कात्तिक २०८३। याक्थुङ (लिम्बू) जातिको धार्मिक ग्रन्थ मुन्धुममा रहेका विशिष्ट शब्दहरू समेटेर तयार पारिएको ‘याक्थुङ साम्जिक मुन्धुम शब्दकोश’ सार्वजनिक भएको छ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तथा मुन्धुमविद् बैरागी काइँलाले शुक्रबार ललितपुरमा आयोजित समारोहमा उक्त कृति सार्वजनिक गर्नुभएको हो। डीबी आङ्बुङ र विष्णुदत्त आङ्बुहाङको सङ्कलन तथा लेखनमा मुन्धुम एकाडेमीले प्रकाशन गरेको शब्दकोशमा लिम्बू, नेपाली र अंग्रेजी भाषा तथा सिरिजङ्गा, देवनागरी र रोमन लिपि प्रयोग गरिएका छन्।
मुन्धुम याक्थुङ जातिको मौलिक ज्ञानको प्रमुख स्रोत हो। यसमा धार्मिक अनुष्ठान, कर्मकाण्डीय वाचन, पुर्खाहरूका ऐतिहासिक अनुभव, सामाजिक स्मृति, प्रकृतिसम्बन्धी ज्ञान, जीवनदर्शन तथा सांस्कृतिक अभ्यासहरू समेटिएका छन्। उक्त शब्दकोशमा मौखिक तथा लिखित ज्ञानपरम्परा ‘याक्थुङ साम्जिक मुन्धुम’मा प्रयोग हुने विशिष्ट शब्दावलीको अर्थ र परिभाषा दिइएको छ। विशेषगरी मुन्धुम वाचन तथा कर्मकाण्डीय परम्परामा प्रयोग हुने दुईपदीय मुन्धुमी शब्दका दुवै पदको अर्थ र सन्दर्भ व्याख्या गरिएको छ।
याक्थुङ (लिम्बू) भाषा हालै प्रदेश–१ को सरकारी कामकाजको भाषा कायम भएको छ। याक्थुङ लिम्बू भाषामा गीत, सङ्गीत, पालाम, हाक्पारे साम्लो, साहित्य तथा मुन्धुम लेखनका कार्य भइरहँदा मुन्धुमी शब्दकोशको आवश्यकता महसुस भएकाले यो कृति प्रकाशन गरिएको लेखकद्वयले बताउनुभएको छ। कुल ४२० पृष्ठको शब्दकोशमा १ हजार ५०० भन्दा बढी शब्दका प्रविष्टि समावेश छन्। पुस्तकको मूल्य दुई हजार रुपैयाँ राखिएको छ।
यसअघि पनि याक्थुङ भाषाका विविध विषय समेटिएका लिम्बू शब्दकोशहरू प्रकाशित भइसकेका छन्। विदेशी अन्वेषकहरूले सन् १८११ देखि नै लिम्बू भाषाका शब्द सङ्कलन गरेको पाइन्छ। स्वदेशमा मातृभाषी काजीमान कन्दङ्वाले वि.सं. २०१० मा लिम्बू शब्दकोश सङ्कलन गर्नुभएको थियो। इमानसिंह चेम्जोङको सङ्कलन तथा लेखनमा ‘लिम्बू–नेपाली–अंग्रेजी शब्दकोश’ वि.सं. २०१८ मा प्रकाशित भएको थियो। नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित उक्त शब्दकोशलाई पछि बैरागी काइँलाको अगुवाइमा संशोधन गरी ४० हजार शब्द समेटिएको छ।
लेखकद्वय आङ्बुङ र आङ्बुहाङको संयुक्त अनुसन्धानात्मक कृति ‘लिम्बू नामकोश’ यसअघि नै प्रकाशित भइसकेको छ। याक्थुङ भाषा, साहित्य, इतिहास, संस्कृति तथा मौलिक ज्ञानप्रणालीको अध्ययन, अनुसन्धान र संरक्षणमार्फत भावी पुस्तामा ऐतिहासिक चेतना तथा सांस्कृतिक निरन्तरता कायम राख्ने प्रयास जारी रहेको मुन्धुम एकाडेमीको विज्ञप्तिमा उल्लेख छ।




