लिम्बू भाषाको वंशावली सार्वजनिक
सुन्दरहरैँचा, २७ माघ : लामो समयको खोज अनुसन्धानपछि फेम्सोहाङ लिबाङ (लिम्बू) समुदायको वंशावली सार्वजनिक भएको छ । दश वर्षको अनुसन्धानपछि शुक्रबार मोरङको पथरीशनिश्चरेमा उक्त वंशावली सार्वजनिक गरिएको हो । साँवा वंशावलीका अध्यक्ष धनप्रसाद साँवाको प्रमुख आतिथ्यमा वंशावली सार्वजनिक भएको थियो ।
पुस्तक सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि साँवाले वंशावली पुस्तक प्रकाशन गर्नु चुनौतीपूर्ण कार्य रहेको भन्दै अनुसन्धानकर्तालाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । उहाँले चुनौतीपूर्ण कार्यमा केही समस्या हुनसक्ने भएकाले कमीकमजोरी रहे अनुसन्धानकर्तालाई सुझाव दिएर सहयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा लेखन तथा सङ्कलन टोलीका संयोजक ताराहाङ लिम्बूले पुस्तकमा भएका कमीकमजोरीलाई सुझावका रूपमा ग्रहण गर्दै दोस्रो संंकरणमा थप सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा झापा, मोरङ, सुनसरीलगायत जिल्लाका फेम्सोहाङ लिबाङ लिम्बूहरूको उपस्थिति थियो ।