आदिवासी

जातीय उत्थानका लागि सङ्गठित हुँदै बोटेहरू

तनहुँ, ८ असारः मादी नदी किरानामा बसेर जीविका चलाउँदै आएका तनहुँका बोटेहरू सङ्गठित हुन थालेका छन् । आफूहरू सङ्गठित नहुँदा बोटेहरूको उत्थानको बहस अघि बढ्न नसकेकामा तनहुँका बोटेहरूले दुखेसो समेत पोखेका छन् ।

नेपाल बोटे समाज तनहुँको आज व्यास नगरपालिका–७ बोटेटारमा आयोजित तेस्रो जिल्ला अधिवेशनका क्रममा बोल्ने बोटेहरूले माछा र खेती किसानी गरी जीवन चलाउँदै आएका आफूहरू अब जातीय पहिचान कायम गर्ने कार्यमा अग्रसर हुनुपर्नेमा जोड दिएका हुन् । जातीय पहिचान कायम गर्न अग्रसर हुनुपर्ने आफूहरू दैनिक ज्याला, मजदुरी गर्न व्यस्त हुनुपरेको बताइएकाे छ ।

माछा मार्ने र नदीमा सुन चालेर जीविका चलाउँदै आएका बोटेलाई विकल्पका रूपमा व्यावसायिक कृषि पेसामा अग्रसर गराउनेतर्फ राज्यको ध्यान जान आवश्यक रहेको नेपाल बोटे समाज केन्द्रीय उपाध्यक्ष सञ्जना बोटेले बताउनुभयो । आफूहरूलाई वैकल्पिक पेसातर्फ आकर्षित गराउनेतर्फ राज्यबाट प्रभावकारी कार्यक्रम नै कार्यान्वयन हुन नसक्दा गरिबीको चपेटामा बोटेहरू रहनुपरेको उहाँको भनाइ थियो ।

तनहुँको व्यास–५, ७ र १० क्षेत्रको सेती र मादी नदी किनारामा बोटेहरू बसोबास गर्दै आएका छन् । माछा बिक्री गरी जीविका चलाउँदै आएका उनीहरू पछिल्लो समय निर्वाहमुखी कृषि र घर निर्माण तथा मजदुरीमा संलग्न रहँदै आएका छन् । बोटेहरूको शिक्षादीक्षा र उत्थानको क्षेत्रमा राज्यले आवश्यक कार्यक्रम नल्याउँदा आफूहरूको विकास हुन नसकेको नेपाल बोटे समाजका केन्द्रीय अध्यक्ष राजकुमार बोटेको भनाइ छ ।

“बोटे समुदायको विकासका लागि राज्यबाट हुनुपर्ने पहल पर्याप्त छैनन्, उनीहरूको उत्थानका लागि राज्यले प्रभावकारी कार्यक्रम ल्याउन आवश्यक छ”, केन्द्रीय अध्यक्ष बाटेले भन्नुभयो । ऋषि वेदव्यास जन्मिएका भनिएको तनहुँको व्यास–५ परासर गुफा वरपर अहिले पनि बोटे समुदायको बसोबास छ । परासर ऋषि र बोटे समुदायकी युवतीबीच सम्बन्धबाट व्यास ऋषि जन्मिएको जनविश्वास छ ।

अध्यक्षमा होमबहादुर बोटे
नेपाल बोटे समाज तनहुँको अध्यक्षमा होमबहादर बोटे सर्वसम्मत चयन हुनुभएको छ । आज सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट उपाध्यक्षमा मनिसरा बोटे, सचिवमा रिना बोटे, कोषाध्यक्षमा सुकबहादुर बोटे चयन हुनुभएको छ । साथै सदस्यहरुमा भनुमाया बोटे, अस्मिता बोटे र जमुना बोटे चयन हुनुभएको नेपाल बोटे समाज केन्द्रीय उपाध्यक्ष सञ्जना बोटेले जानकारी दिनुभयो ।

Related Articles

Back to top button