आदिवासी

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासङ्घको महाधिवेशन आगामी असारमा हुने

काठमाडौँ, २८ जेठ : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको प्रथम राष्ट्रिय महाधिवेशन असार ११ देखि १३ गतेसम्म हुने भएको छ । ‘सङ्गठित, प्रशिक्षित र समुन्नत समाज निर्माण अभियान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षताको रक्षार्थ प्रथम राष्ट्रिय महाधिवेशन’ भन्ने मूलनाराका साथ काठमाडौँमा प्रथम राष्ट्रिय महाधिवेशन हुने भएको हो ।

विसं २०५५ मा स्थापना भएको महासङ्घले असार ११ देखि १३ गतेसम्म पहिलोपटक प्रथम राष्ट्रिय महाधिवेशन आयोजना गरेको महासङ्घका अध्यक्ष ओमबहादुर घर्तीमगरले जानकारी दिनुभयो । महाधिवेशन सम्पन्न गर्न अध्यक्ष घर्ती मगरको संयोजकत्वमा एक सय एक सदस्यीय मूल व्यस्थापन समिति गठन गरिएको छ । उक्त समितिमा केन्द्रीय सदस्य, जातीय सङ्घका अध्यक्ष, महासङ्घका प्रदेश अध्यक्ष र काठमाडौँ, भक्तपुर, ललितपुर महासङ्घका अध्यक्षहरू रहेका छन् ।

अध्यक्ष घर्तीमगरका अनुसार महाधिवेशन व्यवस्थित बनाउन विभिन्न उपसमिति समेत गठन गरिएको छ । प्रचारप्रसार उपसमितिमा केन्द्रीय सदस्य पासाङ शेर्पा, आर्थिक उपसमितिमा मनमोहन छन्त्याल, स्वयम्सेवक परिचालन उपसमितिमा नेपाल तामाङ सङ्घका अध्यक्ष रामकृष्ण लामा, अतिथि सत्कार उपसमितिमा केन्द्रीय सदस्य केशाङ्मु शेर्पा संयोजक रहनुभएको छ ।

आवास तथा भोजन व्यवस्थापन उपसमितिमा केन्द्रीय सदस्य टोपबहादुर थापामगर, मञ्च व्यवस्थापन उपसमितिमा केन्द्रीय सदस्य मदनलाल श्रेष्ठ, सांस्कृतिक कार्यक्रम उपसमितिमा नेपाल तमु सङ्घका अध्यक्ष भुवनसिंह गुरुङ र प्रतिनिधि दर्ता उपसमितिमा केन्द्रीय सदस्य रेनुका काउचा मगरलाई संयोजक तोकिएको अध्यक्ष घर्तीमगरले बताउनुभयो ।

Related Articles

Back to top button