युके विशेष

राई यायोक्खा यूकेको नवौं विशेष एकता महाधिवेशन सम्पन्न, सबै राईहरू एकताको मार्गमा

किरात राई यायोक्खा यूकेले २१ सेप्टेम्बर २०२४ मा नवौं विशेष एकता महाधिवेशन सफलतापूर्वक सम्पन्न गरी नयाँ कार्यसमिति चयन गरेको छ। ऐतिहासिक मेलमिलापको प्रतीकका रूपमा रहेको यस महाधिवेशनले तीन अध्यक्ष, तीन वरिष्ठ उपाध्यक्ष र १० उपाध्यक्षलाई सर्वसम्मत रूपमा निर्वाचित गरेको छ।

यो विशेष महाधिवेशनले दुई विगतका विभाजित समूहलाई पुनः एक बनाउँदै नवौं कार्यसमिति गठन गरेको थियो। तटस्थ बौद्धिक समूहको दबाबपछि दुई पक्षले मिलेर महाधिवेशन सफल बनाएका हुन्। यो दिनले यूकेस्थित किरात राई समुदायलाई एकताको नयाँ सन्देश दिएको छ।

कार्यक्रमको शुरुवात ग्याम्बल्स लेन, वोकिङस्थित किरात राई हाउसमा खुल्ला र बन्द सत्रको रूपमा गरियो। १६ प्रारम्भिक समितिका प्रतिनिधिहरू र अन्य सदस्यहरूको सहभागितामा नयाँ नेतृत्वको चयन गरिएको थियो।

निर्वाचन समितिको निर्णय अनुसार, दुवै कार्यसमितिबीच संयुक्त कार्यक्रम सम्पन्न गरिएको थियो।

दुवै कार्यसमितिको छलफलपछि, महासचिवहरूले संयुक्त रूपमा महासचिबहरु चन्द्रावती राई र इश्वर चाम्लिङ राईले कार्यक्रम सञ्चालन गरेका थिए। स्वास्थ्य र सुरक्षा सम्बन्धी जानकारीपछि, योगेश राई र चन्द्र बहादुर राईलाई कार्यक्रमको अध्यक्षता गर्ने जिम्मेवारी दिइयो।

प्रमुख अतिथि श्रीमती तारा राई, विशिष्ट अतिथि श्री रत्न राई, किराया नेपालका पूर्ब अध्यक्षहरु, किराया युकेका पूर्ब अध्यक्षहरु, भाषिक र प्राकास अध्यक्षहरु बिशिष्ठ संरक्षक सदस्यहरु र अन्य आमन्त्रित अतिथिहरूलाई सम्मानपूर्वक फेटा गुथेर स्वागत गरिएको थियो। कार्यक्रममा साकेला गाउँपालिकाका अध्यक्ष रबी प्रकाश राई पनि सहभागी थिए।

दुवै कार्यसमितिका उपाध्यक्षहरूको स्वागत मन्तव्यपछि दीप प्रज्वलन र राष्ट्रिय गानका साथ महाधिवेशन उद्घाटन गरिएको थियो। त्यस लगत्तै पितृहरू र दिवंगत सदस्यहरूको सम्झनामा दुई मिनेट मौनधारण पनि गरिएको थियो।

महाधिवेशन आयोजक समितिले निर्धारण गरेको कार्यक्रम अनुसार विभिन्न वक्ताहरूले महाधिवेशनको सफलताको लागि शुभकामना मन्तव्य व्यक्त गरे।

कार्यक्रममा कडा सुरक्षा व्यवस्था गरिएको थियो। सीसीटीभी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरूको व्यवस्था थियो। मदिरा निषेध गरिएको कार्यक्रममा, मदिरा सेवन गरी सहभागी भएमा, झैं झगडा वा होहल्ला गर्दै कार्यक्रम बिथोल्ने प्रयास गरे बाहिर निकालिने चेतावनी पनि दिइएको थियो।

पाँच वर्षको विभाजनपछि दुवै पक्षले एकता नै अगाडि बढ्ने एक मात्र विकल्प रहेको निष्कर्षमा पुगेकाले हदै सम्मको लचकता अपनाएर कार्यक्रममा सहभागिता जनाएको स्पष्ट देख्न सकिन्थ्यो। उम्मेद्वारहरु र उपस्थित प्रारम्भिक कार्य समितिका प्रतिनिधिहरु बुद्दिजिबि र निर्बाचन समितिको रोहबरमा भएको सहमतिअनुसार, तीन अध्यक्षले एक-एक वर्षको कार्यकाल सम्हाल्नेछन्, भने अन्य पदाधिकारीहरू उपाध्यक्ष, सचिव, कोषाध्यक्षसहित समायोजन गरिएका छन्।

नयाँ नेतृत्वले किरात संस्कृति, भाषा, र भेषभूषाको संरक्षण गर्दै समुदायलाई एकताबद्ध गर्ने जिम्मेवारी सम्हाल्नेछ। यो एकता महाधिवेशनले विगतका मनमुटावलाई अन्त्य गर्दै किरात समुदायलाई उज्ज्वल भविष्यतर्फ अघि बढ्न प्रेरित गरेको छ।
नव निर्वाचित अध्यक्षहरू: आशा राई, दिल कुमार राई, भूपजित राई
वरिष्ठ उपाध्यक्षहरू: प्रेम कुमार राई, सुमन चन्द्र राई, प्रसाद कुमार राई
उपाध्यक्षहरू: बिनोद कुमार राई, युगराज राई, ईश्वर चाम्लिङ, शान्ताकला राई, अंकिता राई, भाग्यवती राई, शंकर राई, प्रमिला लाबुङ राई, निलम राई, चन्द्रावती राई
महासचिवहरू: रामजङ (राजेन) राई, गंगाराज राई
कोषाध्यक्षहरू: दिल कुमार राई, डा. महा राई
सह-कोषाध्यक्षहरू: सबित्रा राई, सन्देश राहुल राई
कार्यक्रममा बधाई र शुभकामनासहित नव निर्वाचित कार्यसमितिले पद तथा गोपनीयताको सपथ लिएपछि, उपस्थित किरात राईहरूले बधाई दिए। विभिन्न वक्ताहरूले नवौं एकता विशेष महाधिवेशनले दिएको म्यान्डेट इमान्दारपूर्वक पूरा गर्ने चुनौतीलाई आत्मसात् गर्नुपर्ने जिम्मेवारीको बोध गराए।

नयाँ कार्यसमितिले किरात राई समुदायलाई एकताबद्ध गर्दै, नयाँ नेतृत्व विकास गर्ने, किरात संस्कार, संस्कृति, भाषा र भेषभूषाको संरक्षण गर्ने जिम्मेवारी पाएको छ। यसले किरात माङ्खिमको व्यवस्थापन गर्दै समुदायलाई अघि बढाउने चुनौती पनि सामना गर्नुपर्नेछ। यूकेको बहुसांस्कृतिक समाजमा किरात संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न पनि सबै राईहरू एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता छ।

विभाजन र मनमुटावका वर्षौंले पुर्‍याएको क्षतिलाई अब सम्बोधन गरेर सुधार गर्न आवश्यक छ। यो एकता कार्यक्रम आशाको प्रतीक बनेर, सबैलाई हातमा हात, पाइलामा पाइला मिलाएर उज्ज्वल भविष्यतर्फ अघि बढ्न प्रेरित गरोस्। सुम्निमा पारुहाङ र हाम्रा पितृहरूको आशीर्वाद सम्पूर्ण राई समुदायसँग रहोस्। सबै राई सदस्यहरूलाई हार्दिक शुभकामना!

जातीय संस्थाहरूमा राजनीति वा व्यक्तिगत लाभ खोज्नु हुँदैन। समुदायको परम्परा र संस्कृतिको संरक्षण तथा विकासका लागि निःस्वार्थ भावले समर्पित हुनु आवश्यक छ। राजनीतिमा लाग्न चाहनेहरूलाई त्यसमा स्वतन्त्रता छ, तर जातीय संस्थामा राजनीति र व्यक्तिगत लाभको खोजी मिश्रित गर्नु हुँदैन। यो चेतनाले युकेमा रहेका किरात राई समुदायलाई लोभ, स्वार्थ, र विभाजनबाट मुक्त भएर एकतामा अघि बढ्न मद्दत गरोस । नव निर्वाचित कार्यसमितिको सफल कार्यकालको शुभकामना!

-भूमिराज राई

Related Articles

Back to top button