२ सय पटक भन्दा बढी रक्तदान गर्ने अर्जुन मैनालीले गरे अमेरिकामा आत्माहत्या
गत १२ फेब्रुवरी २०२४ का दिन १ लाख भन्दा बढी मिलिलिटर रक्तदान गरेर ६ सयभन्दा बढीको जीवन बचाएका अमेरिका निवासी चर्चित रक्तदाता अर्जुन मैनालीले अमेरिकामा आत्माहत्या गरेका छन । सामाजिक सञ्जाल फेसबुकमा जलेर आत्मदाह गर्न लागेको सन्देश पोष्ट गरेर बेपत्ता भएका मैनालीको शव त्यसको केही घण्टामा नर्थ क्यारोलिनाको लाटा नेचर प्रिजर्भको क्वेष्ट पार्कमा भेटिएको हो । भाडामा लिएको गाडीभित्र उनको शव भेटिएको हो ।
मैनालीले सामाजिक सञ्जालमा आफूले आत्मदाह गर्न लागेको सन्देश पोष्ट गरेपछि स्थानीय प्रहरीलाई खबर गरिएको थियो । स्थानीय प्रहरी केहीबेरमा नर्थ क्यारोलिनामा रहेको मैनालीको निवासमा पुगेको थियो । त्यसपछि उनको फोन ट्रयाक गर्दा लाटा नेचर प्रिजर्भ क्षेत्रमा भएको पत्ता लागेको थियो । नेपाली समुदायका व्यक्तिसहित प्रहरी उक्त क्षेत्रमा पुगेको थियो । त्यहाँ पुग्दा मैनालीले विभत्स मृत्यु रोजेको प्रहरीले फेला पारेको थियो । उनको शरीर जलेको अवस्थामा भेटिएको थियो ।
मैनालीले विश्वका २० देशमा २ सयभन्दा बढीपटक रक्तदान गरेर ६ सयभन्दा बढीको ज्यान बचाएका थिए । उनले अमेरिकामा रहेको नेपाली समाज र विश्वभर रहेका नेपालीहरुलाई रक्तदानको लागि प्रेरित गर्दै आएका थिए । रक्तदानमात्र नभएर मैनालीले अन्य सामाजिक क्षेत्रमा पनि उल्लेख्य योगदान दिदै आएका थिए । अमेरिकादेखि नेपालसम्म समस्यामा परेका विभिन्न व्यक्तिलाई दानका लागि पनि उनी सधै अगाडि सर्थे ।
मैनालीको सम्मानमा न्युयोर्कको ओएस्टर बे टाउनले सन् २०१९ डिसेम्बर २२ लाई अर्जुन मैनाली डे घोषणा गरेको थियो । सन् १८१८ को डिसेम्बर २२ मा पहिलोपटक मानवमा रक्त प्रत्यारोपण गरिएको इतिहास छ । त्यही इतिहासलाई मध्यनजर गरेर २०१९ को डिसेम्बर २२ लाई विश्व रक्तदाता अर्जुन मैनाली डे घोषणा गरिएको थियो ।
सन् १९६८ मा काभ्रेको सिपाली ९ मा जन्मिएका थिए अर्जुन प्रसाद मैनाली । बुबा पदम केशर मैनाली र माता सावित्री मैनालीका छोरा अर्जुन मैनालीले सन् १९८७ को अगस्त २० मा काठमाडौंको विशाल बजार लायन्स क्लबमा गरिएको रक्तदान कार्यक्रममा पहिलोपल्ट रक्तदान गरेपछि लगातार रक्तदान गर्दै आएका थिए ।
रक्तदान गर्दा कमजोर भइन्छ भन्ने भ्रम पालेकाहरुलाई मैनालीले सचेतनाको पाठ समेत पढाउदै आए । यस्तो भ्रम रहेको थाहापाएपछि उनले आफैले भ्रम चिर्न अभियान नै चलाए । सन् १९९० मा १६ औं पटक रक्तदान गरेको एक घण्टापछि उनी भक्तपुरबाट देशब्यापी साइकल यात्रामा निस्किएका थिए । रक्तदान गरेको एकघण्टापछि नै साइकलमा देशव्यापी भ्रमण गर्न सकिने भएपछि कमजोर भइन्छ भन्ने भ्रम हटाउन सहयोग पुगेको थियो ।
सन् २००० मा अमेरिका आएपछि उनले अमेरिकाका ब्लड बैंकहरुको पनि भ्रमण गरे । अनि थाहा पाए, हरेक २ सेकेन्डमा कोही न कोही बिरामीलाई रगतको जरुरत पर्दो रहेछ । त्यो थाहा पाएदेखि मैनालीले मौका मिलेसम्म वर्षको ६ पटक रक्तदान गर्दै आएका थिए । कोरोना महामारीमा त उनले २२ पटक रक्तदान गरेका थिए । अमेरिका आउदाका सुरुका वर्षमा उनी एक्लै ब्लड बैंकमा जान्थे । पछि विस्तारै अरुलाई पनि लिएर जान थाले । पछि अमेरिकामा रहेका नेपाली संस्थाहरुलाई पनि रक्तदान कार्यक्रम गर्न प्रोत्साहित गरे ।
ब्लड डोनेशनमा आफ्नो जीवन समर्पित गरे बापत उनले पाएका प्रशंसापत्र, प्रमाणपत्र र अवार्डहरुको ठूलै चाङ छ । अर्जुन मैनाली रक्तदानमा मात्र होइन, नगद दानमा पनि निकै दानी थिए । २०४६ सालमा हुलाकमा मुखिया हुंदा उनले मासिक तलब ६४५ रुपैया पाउथे । तलब पाएकै दिन उनले रेडक्रशमा गएर ५ सय रुपैया चन्दा दिएका थिए । अमेरिकामा पनि उनले आफ्नो कमाइको ठूलो रकम समाजसेवामा खर्च गर्दै आएका थिए । मैनालीले ५० लाख भन्दा धेरै नगद रकम समाजसेवामा खर्च गरेका थिए ।
उनी न्युयोर्कको हिक्सभिलमा श्रीमति तारा मैनाली र छोरी अमून र छोरा अमितका साथ लामो समय बसेका थिए । कोरोना महामारीपछि परिवारका साथमा उनी नर्थ क्यारोलिना बसाई सरेपछि पनि रक्तदान र सामाजिक कार्यमा सकृय रहदै आएका थिए । ११ भाषामा उनको बायोग्राफी लेखिएको पुस्तक समेत प्रकाशित गरिएको थियो ।
News sources: khasokhas