बान्तावा रुङ्माहाङ राई वात्तोङ् युकेको सभा सम्पन्न

लण्डन,
प्रवासको व्यस्त जीवनशैलीका बाबजुद आफ्नो मौलिक संस्कृति, बंशीय नाता र जातीय पहिचानलाई जोगाइराख्ने उद्देश्यका साथ किरात बान्तावा रुङ्माहाङ राई वात्तोङ् समिति युकेको वार्षिक साधारण सभा तथा बंशीय भेला सम्पन्न भएको छ।
२५ जुलाई २०२६ शनिवार युकेको रिप्लेस्थित ग्याम्बल्स लेनमा रहेको किरात राई हाउसमा आयोजित समारोह संस्थाका अध्यक्ष बिनोद कुमार राईको अध्यक्षता र ९३ वर्षीया ज्येष्ठ नागरिक श्रीमती दिल कुमारी राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
यसै वर्षदेखि विधानमा गरिएको व्यवस्था अनुसार अध्यक्ष बिनोद कुमार राईले बंशीय झण्डा फहराएर कार्यक्रमको सुरुआत गर्नुभयो। दीप प्रज्वलन र सुम्निमा-पारुहाङको तस्बिरमा माल्यार्पण गरी विधिवत् उद्घाटन गरिएको सो सभामा बंशीय गान गाइएको थियो भने दिवंगत वंशज र पितृहरूप्रति १ मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरियो।
उपाध्यक्ष पोपिराज राईले उपस्थित सम्पूर्णमा स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा सामाजिक तथा साहित्यिक क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई विशेष सम्मान गरियो।
बान्तावा खिम युकेको अध्यक्षमा निर्वाचित जुवाइँ चेला सुरेश राईलाई ससुरालीका तर्फबाट र ‘अन्तरदेशीय प्रज्ञा पुरस्कार २०८२’ बाट सम्मानित कवि काङमाङ नरेश (नरेश काङ्माङ्) लाई उहाँको साहित्यिक योगदानको कदर गर्दै ढाका टोपी र खादाद्वारा सम्मान गरियो। बेलायत आएका नयाँ वंशज र आफन्तहरूलाई पनि स्वागत गरियो।
साधारण सभाको बन्द सत्रमा सचिव भूमिराज राईले सन् २०२४ देखि २०२६ सम्मको साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। “सुखमा भन्दा दुःखमा वंश र आफन्तको बढी आवश्यकता पर्दछ; रगत र दूधको रक्षा गर्दै एकताबद्ध बनौँ” भन्ने मूल मर्मलाई आत्मसात गर्दै प्रस्तुत प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ।
प्रतिवेदनले युकेमा बसोबास गर्ने रुङ्माहाङ राई वंशजहरूको एकीकृत डाटाबेस तयार गर्ने, १८ वर्ष पुगेका युवालाई आजीवन सदस्यता अनिवार्य गर्ने, धरानमा बन्ने केन्द्रीय भवन निर्माणमा युकेबाट आर्थिक सहयोग जुटाउने र विन्टर भेलाको सम्भाव्यता अध्ययन गर्नेजस्ता रणनीतिक योजनाहरू अघि सारेको छ।
सभामा स्रष्टा काङमाङ नरेशले रुङ्माहाङ वंशको लोगोमा दाहिनेतर्फ भाले चिन्डो र देब्रेतर्फ पोथी चिन्डो राख्दा सांस्कृतिक अर्थ प्रष्ट हुने सुझाव दिँदै फेटा बाँध्ने नियमबारे प्रकाश पार्नुभयो।
अध्यक्ष बिनोद कुमार राईले समिति प्रकाशक रहेको ‘दिवाहाङ बाक्खा बुलेटिन’ नेपालबाट प्रकाशित भई आएको जानकारी दिँदै काठमाडौँको माङ्खिम निर्माणमा जस्तै धरानको केन्द्रीय भवनका लागि पनि ऐक्यबद्ध हुन अपिल गर्नुभयो।
समारोहको औपचारिक सत्रपछि सामूहिक तस्बिर खिचिएको थियो।
दोस्रो सत्रमा बंशीय भोज, आत्मीय भलाकुसारी र कोषाध्यक्ष रञ्जित राईको संयोजनमा बुलेटिन, क्यालेन्डर, ब्याच तथा बेसबल क्याप वितरण गरियो। सचिव भूमिराज राई र सह-सचिव किरण राईले सञ्चालन गर्नुभएको सभाको समीक्षा बैठक छिट्टै बस्ने आयोजकले जनाएको छ।
– भूमिराज राईबाट




