समाचार

पर्यटकको पर्खाइमा छ, मण्डनको रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक, १० कात्तिकः पर्यटकीयस्थल कोटथुम्का । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र । जहाँबाट मौसम खुलेको बेला विश्वको उच्च हिमशिखर सगरमाथाको चुचुरो देख्न सकिन्छ । गणेश, जुगल, गौरीशङ्कर, लाम्टाङलगायत उत्तरतर्फ लस्करै चम्किएका अग्ला हिमशृङ्खलाको सोही स्थानबाट दृश्यावलोकन गर्न सकिन्छ ।

जिल्ला सदरमुकाम धुलिखेलबाट करिब ३० किलोमिटरको दूरीमा दुई हजार ५०० मिटर उचाइको उत्तरपूर्वी क्षेत्रमा अवस्थित कोटथुम्का (हाल बुद्ध–थुम्का) पर्यटकको आकर्षणको केन्द्र बनेको छ । सो स्थानमा शान्तिका प्रतिक ‘गौतम बुद्ध’को प्रतिमा तथा पार्क निर्माण भएपछि आकर्षण थपिएको हो ।

स्थानीय शिक्षक शालिकराम श्रेष्ठ अनुसार कोटथुम्कामा स्थानीयसँगै सङ्घीय सरकारले थप पर्यटकीय पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता देखिन्छ । कोटथुम्का वरिपरि ऐतिहासिक उमादेवी मन्दिर, कश्यपेश्वर महादेव मन्दिर, गुप्तेश्वर महादेव गुफा, खर्कको पोखरीलगायतका महत्वपूर्ण गन्तव्य रहेका छन् ।

कोटथुम्कामा पर्यटकीय क्षेत्र दोलालघाट तथा मण्डन क्षेत्रबाटै पर्यटकीय क्षेत्र दोलालघाट तथा मण्डन क्षेत्रबाटै ‘हाइकिङ’ वा यातायातबाट पुग्न सकिन्छ । काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकको सीमास्थल भएर बग्ने इन्द्रावती नदीको मनमोहक दृष्यले त त्यहाँ पुग्ने जो कसैको मन लोभ्याउँछ । नजिकका जङ्गलमा फागुन र चैत महिनामा ढकमक्क लालीगुराँस फुल्छ ।

विसं २०७२ को विनाशकारी भूकम्पपछि थुम्का नजिक रामपुर भीमसेन थुम्कामा बुद्धपार्कको निर्माण गरी थप आकर्षण बढाइएको छ । त्यस स्थानमा धार्मिक गुरु (श्रीलङ्कन नागरिक) भन्ते वीमालाले विश्व शान्तिको कामना गर्दै बुद्ध प्रतिमा निर्माण गरेको स्थानीय अगुवा गणेश पराजुलीले बताउनुभयो । उहाँका अनुसार रु चार करोड लगानीमा बुद्ध प्रतिमालगायत पूर्वाधार निर्माण गरिएको हो । बौद्ध धर्मालम्बीले यस स्थललाई ‘समाधि बुद्ध माउण्टेन’को नामले चिनिने गरेको पराजुली बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “बुद्ध प्रतिमा निर्माणपछि बौद्ध धर्मालम्बीको बाक्लो उपस्थिति हुन थालेको छ ।”

विसं २०७३ मा तीन देउपुर र चार मण्डन गाभिएर मण्डनदेउपुर नगरपालिका घोषणा गरिएको हो । मण्डनका चार गाविस चण्डेनीमण्डन, महादेवस्थान, जैशीथोक र ज्याम्दी जोडिएर बनेको नगरको मुख्य आकर्षण कोटथुम्काको महत्वमा थप उजागर गर्नसके यहाँ आन्तरिक तथा बाह्य पर्यटकलाई कोटथुम्का चिनाएर रमाउन सकिने स्थानीय बताउँछन् । “हामी कोटथुम्कालाई हालको संरचनाभन्दा थप पर्यटकीय बनाउन स्थानीय अगुवासँग आवश्यक पूर्वाधारबारे छलफल चलाउँदैछौँ”, स्थानीय सामाजिक कार्यकर्ता रामबहादुर तामाङले भन्नुभयो ।

आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन स्थानीयस्तरबाट मात्र सम्भव नभएकाले जिल्ला र राष्ट्रियस्तरबाटै पहल आवश्यक रहेको स्थानीयको भनाइ छ । यस्तै कोटथुम्का नजिकको अर्को पर्यटकीय क्षेत्र थानडाँडा, जहाँ खानेपानी र बसोवासको राम्रो सुविधा छ ।

Related Articles

Back to top button