थेम्समा देखिएको छायाँ – भीम राई
सेक्सपियरको चर्चित नाटक ह्यामलेटमा राजकुमार ह्यामलेटले “हुनु वा नहुनु एउटा प्रश्न हो ?” भनेर बिलौना गरिरहेको उक्त कुरो सम्झदा मलाई जीवन नहुनुभन्दा पनि हुनु पर्छ भन्ने लाग्छ । जीवन छ र त संसार देख्न सकिन्छ, नत्रभने त के देख्न सकिएला र ?
बेलायती ग्रिष्मकालिन समयमा तिनै भनाईलाई सम्झदै सम्झदै हामी यतिबेला बेलायतको राजधानी लण्डनमा छौं । अझै मध्यान्हको सूर्यको किरण बिगबेनको सिरमा टलक्कै टल्कदा लण्डनको समय ठीक १२ बजिरहेको देखिन्छ । यस्तो मौसमको फाइदा लिदै हामी “सर्कुलर क्रुज” को छातीमा टेकेर थेम्स नदीको पानीमाथि तैरिरहेका छौ ।
हामी त्यसरी पानीमा तैरिरहेको त्यति धेरै लामो समय त भएको छैन् । तर सर्कुलर क्रुजले लण्डन नै थर्काउने गरेर एकचोटी कसेर हर्न बजाउँछ । अनि तिनै हर्नको साथसाथमा सुस्तरी आफ्नो टाउको घुमाउन थाल्छ । त्यसरी क्रुजलाई आफ्नो वसमा राखेर फनक्क घुमाउने क्रुज चालकका नाम चार्ल्स डेभिस हुन् ।
तर उनले क्रुजलाई फनक्कै एकफन्को घुमाउदै गर्दा अर्को एकजना मान्छेले ध्वनी प्रसारक यन्त्रदेखि यात्राको बिषयमा खुरखुरु भट्याउन सुरु गर्छ ।
सबैभन्दा पहिले उनले आफ्नो नाम बताउछ । उनको नाम पनि बेलायती चर्चित नाम जोन रहेछन् । तर पुरै नामभन्दा उनी आफूलाई जोन फ्रान्सिस भन्छन् ।
ल यहाँहरु सबै जनालाई थेम्स क्रुजमा स्वागत छ । उनले छाडेको यो पहिलो वाक्यशं हो ।
त्यसपछि, अँ, आ-आफ्नो सिटमा बसेर सिधै अगाडी हेर्नुहोला ? हाम्रो सामुन्ने खडा भएर रहेको भीमकाया भवन बेलायती संसद भवन वेस्ट मिन्स्टर पार्लियमेन्ट हो । यस्को निर्माण तपाईहरुले कल्पना गरेको समय पाँच सय वर्ष होइन । सात सय वर्ष पनि होइन । त्योभन्दा निक्कै अगाडी भएको हो । आजभन्दा ९ सय बर्ष अगाडि भएको हो ।
उनको कुरा सुनेर म एकछिन अक्क न बक्क हुन्छु । भन्छु, – यो मुर्दो कति मज्जाले बोल्ने रहेछ । अनि कति राम्ररि शब्दहरु छान्न सकेको होला ?
ध्यान दिएर सुन्नोस है । त्यहाँ ‘हाउस अफ लर्डस’ र ‘हाउस अफ कमन्स’ गरेर दुई थरिका सदश्यहरु बस्ने गरेका छन् । अझै एउटा कुरो के मान्नोस भने यो नै विश्वको सबैभन्दा पुरानो तर आधुनिक प्रजातन्त्रको जन्म भएको देश हो । त्यसैले वेस्ट मिन्स्टर पार्लियमेन्टलाई ‘प्रजातन्त्रको जननी’ भनेर चिन्ने गरिन्छ । तर अर्को कुरो याद गर्नु होला ? प्राचीन प्रजातन्त्रको उपाधि भने एथेन्स, ग्रीसलाई नै जान्छ ।
मित्रहरु – ल ! हेर्नुहोस त । यति राम्रो मौसममा यो कति मज्जाले चमक्कै चम्किरेहको छ । तर जति मज्जाले यो भवन चम्किरहेको देखिएता पनि इतिहासका बिभिन्न कालखण्डहरुमा यहाँ बिभिन्न दुखद घटनाहरु घटेका छन् । एउटा घटना चाहिँ यस्तो घटेको थियो ।

४ नोभेम्वर १६०५ को रात्रीकालिन समय थियो । तत्कालिन इङ्गल्याण्डका राजा जेम्स प्रथमको पार्लियमेन्टमा सवारी चलेको थियो । गाइ फोक्स भन्ने मान्छेलाई राजा पटक्कै मन पर्दैन थियो । उनले बारुद (गन पाउडर) राखेर तत्कालिन इङ्गल्याण्डका राजा र भवनलाई सँगसँगै उडाइ दिने योजना बनाए ।
तर राजाका सिपाहीहरुले त्यो कुरा पत्ता लगाए । त्यसैले उनको त्यस कार्यलाई सफल गर्न दिएनन् । तैपनि त्यस्तो विचारको सम्झनामा अहिले पनि हरेक नोभेम्वर ५ तारिकलाई ‘गाइ फोक्स नाइट’ भनेर मनाउने बेलायती परम्परा रहिआएको छ ।
अनि यहाँ अर्को एउटा दु:खद घटना पनि घटेको थियो । सन् १८३४ मा पार्लियमेन्टमा ठूलो आगलागी भयो । जस्ले भवनको अधिकतम भाग जलेर खरानीमा परिणत भएको थियो । पछि त्यसलाई पुनः जिर्णोदार गरिएर यतिको अवस्थामा ल्याइएको छ ।
त्यति बोलिसकेपछि उनी एकछिन आराम गर्छन् । म क्रुज यात्रामा सहजै रम्ने खालको मान्छे हुँ । अझै यति सफा मौसमको साथमा झन मज्जाले झुमिरहेको हुन्छु । तर दुईचार मिनेट जति समय बितेपछि उनी पुन: बोल्न थाल्छन् ।
अव त्यहाँदेखि थोरै बायाँ हेर्नु होला । सिधै अगाडी एउटा बिशाल साँघु देखिएको छ । त्यसको नाम वेस्ट मिन्स्टर साँघु हो । साँघुबाट हामीलाई रमिता हेरिरहेको मानिसहरुलाई एकचोटी सबैले हात हल्लाई दिनुहोस, – उनी भन्छन् ।
क्रुजमा लगभग तीन सय जनाको हाराहारीमा यात्रीहरु छन् । उनको कुरा सुनेर हामी सबैजनाले एक्कैचोटी हात उठाउदा साँघुमा भएका मानिसहरुले लण्डन नै थर्काउने गरेर ‘हाइ’ भनेको सुन्न सकिन्छ ।
थेम्स नदीमा यस्ता साँघुहरु लगभग दुई सय वटा जति रहेका छन् । तर आजको मितिसम्म लण्डनमा मात्र २१ वटा साँघुहरु निर्माण भइसकेका छन् । अनि अर्को कुरा चाहिँ के याद गर्नु होला भने थेम्स नदी बेलायतको सबैभन्दा लामो नदी भने हुँदै होइन । सबैभन्दा लामो नदी त सेभर्न नदी हो । जुन नदी कम्ब्रिया पर्वत वेल्सदेखि सुरु भएर ब्रिस्टल जलसंयोजनमा पुगेर मिसिन्छ । जसको लम्बाई पुरै २ सय २० माईल छ ।
मध्यान्हको समय छ । त्यसैले टन्टलापुर घाम लागिरहेको छ । हुनत घाम जतिसुकै चर्को लागेको भएता पनि थेम्स नदीको सुदुर पुर्व क्षितिजदेखि बहेर आएको हावाको मन्द मन्द गतिले वातावरणलाई वातानुकुलित बनाइ रहेको आभाष हुन्छ । म जस्तो आर्थिक अवस्थाले बिलकुलै निम्छुरो मान्छे । त्यसैले जिन्दगिमा यस्तो अवसर आक्कल झुक्कल मात्र पाउने गर्छु । त्यसैले यस्तो अवसरलाई मैले पूर्ण फाइदा लुटिरहेको हुन्छु ।
पथ प्रदर्शकले एकछिन बोल्न छाडेपछि क्रुज थोरै बायाँतिर मोडिन सुरु गर्छ । त्यसपछि सिधै अगाडि देखा परेको ठूलो घरको बिषयमा उनी बेलिबिस्तार लगाउन सुरु गर्छ ।
सिधै अगाडि देखिएको घर लण्डनको सरकारी भवन ‘काउन्टि हल’ हो । घरको बिच भाग धनुष्टङ्कर आकारको देख्न सक्नु हुन्छ । त्यसैले म यसलाई ‘धुनष्टङ्कर घर’ भन्न रुचाउछु । यो घर सन् १९२२ निर्माण भएको हो । यसको निर्माण भइसकेपछि राजा जर्ज आठौंले उद्घाटन गरेका थिए । निक्कै लामो समयसम्म त्यस घरमा लण्डन महानगर पालिकाको कार्यलय थियो । तर अहिले छैन् ।
अहिले चाहिँ के होला भनेर मनमनै प्रश्न गर्नु भयो होला ? सामुन्द्रिक जीवन (सि लाईफ) अक्वेरियम रहेको छ ।
त्यहाँदेखि अलिक पछाडि हेर्नु भो भने सेन्ट थोमस अस्पताल देखिन्छ । जसमा ८ सय ४० अस्पतालका बिस्ताराहरु रहेका छन् । तै पनि यो लण्डनको सबैभन्दा ठूलो अस्पताल भने हुँदै होइन । यस सहरको सबैभन्दा ठूलो अस्पताल त सेन्ट जर्जेज अस्पताल हो । जहाँ १३ सय बिरामी सुत्ने बिस्ताराहरु छन् ।
ल ल अब यता हेर्नुहोस । यो अजङ्गको रोटे पिङ जस्तो देखिने ‘लण्डन आइ’ हो र यो लण्डनको आकर्षणको मूख्य केन्द्रबिन्दु पनि हो भनेर मानिन्छ । यस्को निर्माण स्रहस्राब्दी (मिलिनियम) मनाउने क्रममा सन् २००० मा भएको थियो ।
यस्को प्रमुख आर्किटेक मार्क्स बारफिल्ड हुन् । यो १ सय ३५ मिटर अग्लो छ र यस्मा औषधिको गोलि राखिने क्याप्सुलहरु जस्तै मानिसहरु बस्ने क्याप्सुलहरु छन् ।
ती क्याप्सुलहरु जम्मा ३२ वटा छन् र हरेक क्याप्सुलले लण्डन महानगर पालिकाको ३२ नगरहरुको (बरो) प्रतिनिधित्व गर्दछ । वास्तवमा यस्को निर्माण हुँदा नगरले ५ बर्षको लागि बनाउने अनुमति दिएको थियो । त्यसपछि भत्काएर अन्त कतै सार्ने योजना भएतापनि अत्याधिक मानिसहरुले रुचाएको हुनाले अहिलेसम्म केहि गर्न सकिएको छैन् ।
अब तपाईहरुले मेरो बायाँ दिशातर्फ हेर्नु भयो भने तीन तीनवटा झण्डा फरर फहराइ रहेको एउटा ठूलो घर देख्न सक्नु हुन्छ । यो स्थल सेना, जल सेना र वायु सेनाको सैनिक मूख्यालय अथवा बेलायती रक्षा मन्त्रालय हो । यो ह्वाइटहल सडक, सिटी अफ वेस्टमिन्स्टरमा पर्दछ ।
यस घरको डिजाइन सन् १९१५ मा भिन्सेन्ट ह्यारिसले गरेका हुन् । तर यसको निर्माण भने सन् १९३९ देखि १९५९ भएको थियो । जमिनभन्दा माथि दश तला र जमिन मुनि तीन तला रहेको उक्त बिल्डिङलाई सन् २००० मा पुन: निर्माण गर्दा ७ सय ४६ मिलियन स्टर्लिङ पाउण्ड खर्च भएको थियो र लगभग दुई वर्ष समय लागेको थियो ।
त्यहाँदेखि अब तपाईहरुको टाउकोलाई सिधै दायाँतर्फ लानु होला । बेलायती रक्षा मन्त्रालयदेखि बिपरित दिशामा खोला पारि हेर्नु भयो भने कुङलिङ्ग परेको एउटा पहेलो घर देख्न सक्नु हुनेछ ।
त्यो घरको निर्माण सन् १९५१ मा भएको हो । जुन घरभित्र ठूल्ठूला हलहरु रहेका छन् । जहाँ नाटक, सङ्गित र सिनेमाहरु देखाइने गरिन्छ । जस्ले गर्दा त्यस घरलाई राजकिय महोत्सव केन्द्र (रोयल फेस्टिभल सेन्टर) भनेर चिनिन्छ । हरेक बर्ष साढे चार मिलियन मानिसहरुले भ्रमण गर्ने त्यस ठाउँमा निशुल्क महोत्सवहरु पनि हेर्न मिल्छ ।
तर अब फेरि यता बायाँ हेर्नु होस् । रक्षा मन्त्रालयदेखि उँभोउँभो हेर्दै जानु भयो भने एउटा ठाडो स्मारक जस्तो देख्न सक्नु हुनेछ । जस्लाई लण्डनको क्लियोपत्र सुइ (ओवेलिक्स) भनेर चिनिन्छ र यो नदीको ठीक बायाँ किनारमा अवस्थित छ । यसो हेर्दा चारपाटे जस्तो देखिने तर खिइदै गएर टुप्पोमा चुच्चो भएको त्यो स्तम्भ वा स्मारकको निर्माण इसा पूर्व १५०० मा इजिप्टका तत्कालिन फेरो थोट्मस तेश्राले गरेका हुन् ।
यसको निर्माण भएपछि लगभग २ हजार बर्ष जति अलेक्जान्ड्रिय, इजिप्टमा रह्यो । सन् १७९८ मा इजिप्टमा नाइल युध्द भएको थियो । तिनै युध्दमा बेलायती रियर एडमिरल होरासियो नेल्सनले फ्रेन्च जनरल नेपोलियन बोनापर्टलाई पराजय गरे वापत सन् १८७८ मा बेलायतले उपहार स्वरुप उक्त क्लियोपत्र सुइ पाएका हो ।
जोनले त्यति भनिसकेपछि ऊँ एकछिन चुपचाप बस्छ ।
क्रुजले हङ्गरफोर्ड साँघु पार गरेपछि आफ्नो गति घटाउदै जान्छ । त्यसपछि निक्कै लामो समयसम्म रोकिएको जोनको मुख पुनः खोलिन सुरु गर्छ ।
हामी पानीको वेग रोकिने स्थल (इमबेङ्मेन्ट पियर) मा रोकिन गइरहेका छौ । यदि यहाँ कोहि उत्रनु चाहनु हुन्छ भने उत्रनु सक्नु हुन्छ । आजको मौसम पनि ज्यादै राम्रो भएको हुनाले नयाँ यात्रीहरु निक्कै धेरै क्रुजमा आउने छन् । तर त्योभन्दा अगाडि मेरो कुरो एकपटक ध्यान दिएर सुन्नु होला ?
म यहाँ बाट निक्कै टाढा हेनडन भन्ने ठाउमा बस्छु । यहाँदेखि मेरो घर पुग्न भूमिगत रेलदेखि लगभग ४५ मिनेट जति समय लाग्छ । दिनभरि काम गरेर घरमा पुग्दा प्राय सबैको घरमा आफ्नो श्रीमान वा श्रीमती हुन्छन् । तर दुर्भाग्यबस मेरो अवस्था त्यस्तो छैन् । साच्चै साच्चै भन्नु पर्दा मेरो अवस्था अति दयनिय छ । अत्याधिक मादक पदार्थ सेवन गर्ने भएकी हुनाले मैले मेरी श्रीमतीसँग पारपाचुके गरिसकेको छु । खयर जे सुकै होस । मेरो घरमा दुईजना स-साना भाल्टाङभुल्टुङहरु छन् र उनीहरुलाई पाल्ने मेरो उत्तरदायित्व भएको छ ।
जस्तो कि यहाँहरुलाई अवगत भएकै कुरो हो । लण्डनमा हरेक कुरोहरु महङ्गो छ । तैपनि तपाईहरुसँग पैसा छ र त संसारको बिभिन्न देशहरुबाट यहाँ छुट्टी मनाउन आउनु भएको छ ।
तपाईहरुको छुट्टी मनोरन्जनात्मक होस भनेर कामना गर्दै अब म मुनि तलामा जान्छु । मुनि तलामा क्रुजबाट बाहिर जमिनमा निस्कने सानो भर्याङ (ग्याङ वे) छ । हो, म त्यहिँनेर एउटा कालो टोपी थापेर एकछेउमा उभिरहेको हुन्छु । तपाईहरु जो जो क्रुजदेखि बाहिर निस्कनु हुन्छ । र, जे जति चानचुने पैसाहरु दिन सक्नु हुन्छ, कृपया मलाई दिनु होला ।
तर छाती ठूलो छ वा विशाल हृदय छ भने जेन अस्टिनको तस्विर भएको पाँच पाउन्ड, होइन भने विन्स्टन चर्चिलको तस्विर भएको दश पाउन्डको एउटा नोट खुत्रुक्कै टोपिमा हालि दिनु भयो भने मेरो छोराछोरीले भरै बेलुकि टन्न खाना खान पाउथे । हास्दै हास्दै त्यति भन्छन् ।
त्यतिभनि सकेपछि उनी हामीदेखि बिलय हुन्छ । मुनि तलामा झरेपछि हामी चुपचाप क्रुजको माथिलो तलामा घाम तापेर बसिरहेका हुन्छौं । एकछिनपछि क्रुज रोकिन्छ । त्यसपछि नयाँ यात्रुहरु धमाधम तलामाथि उक्लन थाल्छन् । सबैजना यात्रृहरु कुर्सिमा आरामले बसिसकेपछि क्रुजले पुनः गति लिन सुरु गर्छ ।
यतिकैमा हस्याङ फस्याङ गर्दै जोन हाम्रो नजिकै आइपुग्छ तर हाम्रो नजिक आउने बितिक्कै ख्याक्क एकचोटी खोक्छ । त्यसपछि लामो सास तान्छ र सुस्तरि अगाडि बढेर क्रुज चालकको नजिक पुग्छ ।
क्रुज वाटरलु साँघु पुग्नै लागेको हुन्छ ।
“ल ! मेरो बायाँ हेर्नु होला,” ऊँ अर्को चोटी खोक्छ र “मलाई माफ गर्नु होला,” भनेर पुनः बोल्न सुरु गर्छ ।
“आम्मामा ! हेर्नुहोस त बायाँ भित्तामा पहरो जस्तो देखिने भिमकाया बिल्डिङ ।”
उनको कुरो सुन्ने बितिक्कै हामी सबै त्यतातिर हेर्न थाल्छौं र एकछिन मन्त्रमुग्ध हुन्छौं । उनी केही बोल्दैनन् । हामी उनको अर्को शब्दको प्रतिक्षामा हुन्छौं ।
“यो होटल सेभोइ – लण्डन हो ।” निक्कैबेरपछि उनको मुख खोलिन्छ ।
सन् १८८९ यस्को निर्माण हुँदा यो विश्वको पहिलो बिजुली भर्याङवाला होटल बनेको थियो । अझै होटलको हरेक कोठा कोठामा शौचालय राखेपछि अति सुबिधा सम्पन्न होटल भनेर प्रसिध्दि कमाएको थियो । अब त्यस्तो होटललाई तपाईहरुले शानदार, विलासी, रवाफी, सोखी वा लग्जरियस भनेर कुन शब्दले सुशोभित गर्नु हुन्छ त्यो यहाँहरुको हातैमा छ ।
तर मलाई सोध्नु हुन्छ भने यो बेलायतको सबैभन्दा पहिले बनेको सुखभोगी होटल भन्न रुचाउछु । अनि यो जुन स्थानमा निर्माण भएको छ । त्यो जग्घा दशौ शताब्दीदेखि ड्युक अफ सेभोइको थियो । जस्ले गर्दा यस होटलको नाम सभोइ लण्डन रहन गएको हो । यति विलासियुक्त्त होटलमा मलाई पनि एकचोटी भित्र छिर्न रहर लागिरहेको छ । तर उमेरले ५० हिउदहरु काटिसकेका छन् । सेभोइ छिर्ने सौभाग्य अहिलेसम्म जुरि हालेको छैन् भनेर उनी एकछिन अवाक हुन्छ ।
थेम्सको पानी अविरल गतिमा पूर्व दिशातर्फ बहिरहेको छ । यहाँनेर नदीको गहिराई लगभग ६६ फिट र चौडाइ २ सय ५० मिटर जति फराकिलो छ । तर अचानक मेरी श्रीमतीले, “घाम ज्यादै चर्केको छ, केही पिउने कुरो लिएर आउनु न हौ ?” भन्छिन् ।
उनले त्यति भनेपछि प्रति उत्तरमा “हुन्छ,” भन्छु र बसिरहेको ठाउँदेखि उठेर लुरुलुरु हिडिहाल्छु ।
त्यहाँदेखि हिडेर मुनि तलामा झरेर बारको नजिकै पुग्छु । बारमा पुगेपछि मभन्दा अगाडी ४-५ जना मान्छेहरु उभिरहेको देखिन्छ । तर त्यहाँ उभिरहेका मानिसहरु मध्ये कोही पनि अङ्ग्रेजहरु हैनन् भन्ने कुरो उनीहरु एकअर्कामा बोलिरहेको भाषाले स्पष्ट रुपमा चिनाउदथ्यो ।
बारभित्र एकजना बारम्यान देखिन्छ । बार एकदम सानो छ । जस्लेगर्दा बारम्यान मुस्किलले यताउता गरिरहेको बिरमाईलो दृश्य देखिन्छ । एकछिनपछि ऊँ खालि हुन्छ । ऊँ खालि हुने बितिक्कै, –
“हजुर ! बियरको दाम कति होला ?” सानो स्वरमा सोध्छु ।
“पाँच पाउण्ड,” छोटो जबाफ फर्कन्छ । उनको भनाई सुनेपछि जाबो त्यति सानो बोतललाई पनि त्यति महङ्गो मनमनै भन्छु र एकचोटी टाउको छाम्छु ।
“पानीलाई चाहिँ कति नि ?”
“पाँचै पाउण्ड तर दुई बोतल आउछ,”
“अनि किन दुई बोतल चाहिँ ?”
“खुद्रा छैन् र हो,”
“गर्मी पनि अचाक्ली छ । थेम्सनदीमा त पानी सितैमा दिए पनि हुने हौ ?’
“म पनि त्यहिँ चाहन्छु,”
“ल ल भैगो ! दुई बोतल पानी नै दिनुहोस्,”
एक एकवटा हातमा एक एक वटा पानीको बोतल बोकेर म सुइसुइ तलामाथी चढ्छु । ताराको नजिकै पुग्दा जोनले समरसेट हाउसको बिषयमा बयान गरिरहेको हुन्छ ।
आजभन्दा २ सय ४७ बर्ष अगाडी निर्माण भएको समरसेट हाउस लन्डनको एकदम भव्य महल हो । जहाँ बेलायतको हिरा, मोती, मणि र जुहारतहरु राखिएका छन् ।
अझै यसलाई पश्चिमी कलाको त केन्द्र बिन्दु नै मान्नु पर्छ । लण्डनको मुटु मानिने स्थान स्ट्रान्डमा रहेको यो नियो क्लासिक घरको डिजाइन चाहिँ सर विलियम च्याम्बरले गरेका हुन् । अनि ड्युक अफ समरसेटको नाममा रहन गएको यस घरलाई “समरसेट हाउस – लण्डन” भनेर चिनिन्छ ।
करिव ९० लाख जनसख्यां रहेका लण्डनमा भएका अनगन्ती गगनचुम्वी महलहरु पार गर्दै क्रुज ब्लाकफ्रिएज साघुँ पुग्नै लागेको हुन्छ । ठीक त्यहिँबेला जोनले, –
“हाम्रो ठीक बायाँ पट्टिको घरलाई नजर लगाउनोस है,” भनेर एकपटक जोड दिएर भन्छ । उनको कुरो सुन्ने बितिक्कै हामी सबैजना आ-आफ्ना मुन्टो त्यता फर्काइ हाल्छौं ।
म तपाईहरुलाई यसपटक एउटा यस्तो घर देखाउन गइरहेको छ । जस्लाई पवित्र मन्दिर (टेम्पल वा इनर टेम्पल) भनेर चिन्ने गरिन्छ । जहाँ अङ्ग्रेजी कानूनका बिज्ञ ब्यारिस्टरहरुले आफ्नो तालिम गर्ने गर्छन् । टेम्पललाई जम्मा ४ भागमा बिभाजन गरिएका छन् – ग्रेज इन, लिङ्कन इन, इनर टेम्पल र मिडल टेम्पल ।
आजभोलि टेम्पलमा लगभग २ हजार जति ब्यारिस्टरहरुले काम गर्ने गर्दछन । इङ्गल्याण्ड र वेल्समा ब्यारिस्टर काम गर्न चाहने हरेक इच्छुक व्यक्तिले यहिँ ब्यारिस्टर तालिम गर्नु पर्दछ । अ…यो लेख लैख्दै गर्दा यहाँहरुलाई एउटा कुरोको पनि के जानकारी गराउ भने एशियाका चर्चित नेताहरुमध्ये गान्धी, नेहरु, अलि खान, अबदुल रहमान र भन्डारानाइकेहरुले पनि यहिँ ब्यारिस्टरका तालिम लिएका थिए ।
थेम्स नदीमा पटक पटक आफ्नो छायाँ हेर्दै हेर्दै हाम्रो समय आफ्नै गतिमा बहिरहेको हुन्छ । हाम्रो क्रुजभन्दा अलिक स-साना तर झन वेगमा चल्ने इन्जिन डुङ्गाहरु हाम्रा दायाँ र बायाँ स्याउँस्याउँती देखिन्छन् । तिनैले निकालेको पानीको छालहरु छिचोल्दै अगाडी बढदा हामीलाई खुब रमाइलो भइरहन्छ ।
निक्कै अगाडी पुगेपछि, “ल बायाँ दिशातर्फ हेर्नुहोस्,” जोनको मुख खोलिन्छ ।
इन्जिन डुङ्गाहरुले देखाएका खेलहरुको जतिसुकै रमिता हेर्दा पनि नथाक्ने नयनहरु जोनले भन्ने बितिक्कै बायाँ फर्कि हाल्छ । त्यसबेला हाम्रो ठीक बायाँ दिशामा मध्यान्हको सुर्यले सेन्ट पौल क्याथेड्रलको गुम्बज टलक्कै टल्केको देख्न सक्छौं ।
यो गिर्जाघर बेलायतमा रहेको गिर्जाघरहरुको आमा गिर्जाघर (मदर चर्च) हो ।
यसको निर्माण सन् १६७५ देखि सुरु गरेर लगभग ३५ बर्षपछि सन् १७१० मा सकिएको थियो । यो गिर्जाघर अङ्ग्रेजी आर्किटेकहरुको गुरु आर्किटेक सर क्रिष्टोफर रेनको उत्कृष्ट नमुना (मास्टर पिस) हो । उनले यो डिजाइन गर्दा पुरानो सेन्ट पौलको भएको स्थानमा नै गरेका थिए । किनभने पुरानो सेन्ट पौल क्याथेड्रल सन् १६६६ को भिषण आगलागिले नष्ट भएको थियो ।
त्यसपछि उनी साथैमा बोकिरहेको पानीको बोतलदेखि एक घुटकि पानी पिउँछ ।
म उनलाई हेर्न छाडेर सेन्ट पौलको गुम्बजलाई निक्कैबेर नियाल्छु । मैले जिन्दगिमा यस्तो गुम्वजहरु लिभरपुलदेखि ताजमहलमा मात्र नभएर रोम, इस्तानबुल र आबुधावीमा देखेको स्मरण गर्छु ।
वास्तवमा एकदम गहिरिएर अध्यान गर्ने हो भने रोमको सेन्ट पिटर्सभन्दा सेन्ट पौल अलिकति मात्र सानो छ । तैपनि ३ सय ६५ फिट अग्लो सेन्ट पौलले २ सय ५० बर्षसम्म लण्डनको सबैभन्दा अग्लो घरको इतिहास कायम गरि राखेको थियो । लण्डनमा सेन्ट पौल बनेपछि योभन्दा अग्लो घरको निर्माण गर्न प्रतिबन्ध लागेको थियो । जस्ले गर्दा यस्ले सबैभन्दा अग्लो घर बनेर त्यति लामो समयसम्म एकक्षत्र शासन गरेको थियो ।
२९ जुलाई १९८१ को दिन विश्वका अधिकतम राष्ट्राध्यक्षहरुको अगाडि अहिलेको राजा चार्ल्स तेश्रो अथवा तत्कालिन राजकुमार र राजकुमारी डायनाको बिच यिनै क्याथेड्रलमा विवाह सु-सम्पन्न भएको थियो । त्यो बाहेक अनेकन ठूल्ठूला उत्सवहरु ब्यवस्थित गरेको यस स्थानले राष्ट्रिय नायक वा नायिकाहरु जस्तैः- नेल्सन, वेलिङ्टन, चर्चिल र थेचरको मृत्यु हुँदा राजकिय अन्तेष्टी पनि यहिँ गरिएको थियो ।
तिनै लण्डनको ऐतिहासिक गिर्जाघरदेखि बिदावारी लिएर हिडेका हाम्रा नयनहरु पुनः थेम्सको पानीसँग मितेरि लगाउन पुग्छन् । केहिबेरमा क्रुज मानिसहरु मात्र हिड्न मिल्ने साघुँको मुनि पुगेको हुन्छ ।
“हाम्रो टाउकोमा रहेको साघुँ स्रहशाब्दी (मिलेनियम) साघुँ हो,” निक्कै लामो समयसम्म चिरपरिचित भइसकेको जोनको आवाज पुन: सुन्न सकिन्छ ।
मिलेनियम भन्ने बितिक्कै यस्को निर्माण सोहि समय सन् २००० मा भएको भनेर जो कोहिले सहजै अनुमान लगाइ हाल्छन् ।
सन् १९९८ देखि यस्को निर्माण सुरु गरेर दुई बर्षपछि १० जुन २००० मा त्यसको उद्घाटन गरिएको थियो । तर उद्घाटन भएकै दिन मानिसहरु साँघुमा पस्ने बितिक्कै साघुँ लकपके पिङ जस्तो दायाँ बायाँ हल्लिएर खप्पि नसक्नु भयो । त्यसपछि सुरक्षाको दृष्टीकोणले साघुँमा मानिसहरु जानको लागि रोकियो ।
त्यसको भोलिपल्टदेखि थोरै मानिसहरुलाई मात्र साघुँ तर्न दिइएको थियो । दुईदिनपछि साघुँलाई पूर्णकालिन बन्द गरिएर पूर्ण मर्मत गरेर सन् २००२ पुनः सन्चालनमा ल्याईएको थियो ।
३ सय २५ मिटर लामो ४ मिटर चौडा र एक पटकमा ५ हजार मानिसहरु हिड्न सक्ने उक्त साँघुलाई लण्डनरहरुले लकपके साघुँ (वोब्ली ब्रिज) भन्ने गरेका छन् ।
हाम्रो यात्राले क्रमश: ग्रिनविच ताकेर अगाडि बढि रहन्छ । तर यात्रा यात्रा नै हो । यो ज्यादै मनोरन्जनात्मक पनि हुन्छ । अझै मलाई क्रुज यात्रा असाध्यै मन पर्छ । अनि हाम्रो यो यात्रालाई पनि मैले मिनी थेम्स क्रुज यात्रा नै भन्न रुचाउछु । र, म यात्रामा देखिएका तिनै साघुँलाई निक्कै लामो समयसम्म हेरिरहन्छु ।
लन्डन, इगँल्यान्ड ।




