गीतसंगीतमा धेरै युवा पुस्ताहरू उदाएका छन्, तीमध्ये सबैको नजरमा परेकी एक प्रतिभा, स्वरमा बेजोड शक्ति भएकी पान्थरे माइली उर्फ दीपा सुहाङ हुन् । उनको स्वर सुनेपछि सबैले प्रशंसा गर्ने गरेका छन् ।
सुदूरपूर्वी नेपालको हिलिहाङ गाउँपालिका–५, सुभाङमा बुबा कर्णबहादुर र आमा देवीमाया पन्धाककी कोखमा जन्मिएकी सुहाङ एसएलसीपछि प्लस टुको अध्ययन सिध्याएर काठमाडौं छिरेकी थिइन् । उनको सांगीतिक यात्रा भने काठमाडौं छिर्नुअगावै सुरु भएको थियो । पूर्वमा लोकप्रिय लिम्बुवान आइडल सिजन टुमा सेकेन्ड रनरअप बनेपछि उनको सांगीतिक उडान सुरु भएको हो । अहिले डेढ सयभन्दा बढी गीत गाइसकेकी सुहाङ भन्छिन्, “सयवटा जति गीत गाउँदा चाहिँ गन्दै थिएँ तर त्यसपछि गन्न नै छाडिदिएँ, केही गीत धेरैले मन पराएका छन् । धेरै गीतको भिडियो बनेका छन्, धेरै गीत बजारमा आएका छन्, केही रेकर्डपछि गुपचुप भएका छन् ।” उनले सम्झिइन्, उनका धेरै गीत आधुनिक, लोकआधुनिक र लोकगीत रहेछन् ।
स्वरमा जादु भएकी सुहाङले अन्य भाषामा पनि गीत गाएकी छन् । आधा दर्जन लिम्बु भाषाका गीत, केही पालाम र गजब चाहिँ उनले राई कुलुङ भाषाको समेत गीत गाइसकेकी छन् । भर्सटाइल गायिकाको रूपमा परिचय बनाएकी सुहाङ गीतसंगीतकै क्षेत्रमा व्यस्त रहेकी छन् । आमिकिन सिमसिम याक्थुङ साम्लो, थिबोङ याक्थुङसा, याक्थुङ्बा आनि लच्छा रो र मिम्जिफूङ पालाम गाएकी छन् । गीतकार सुवर्ण नेम्बाङ, सानु सुब्बाको शब्द, गायक तथा संगीतकार राजु आङदेम्बे र अशोक लोहरुङको संगीतमा स्वर भरेकी छन् । कुलुङ भाषाको कई कुलु गीतले पनि निकै चर्चा पाएको छ । खस नेपाली भाषाका गीतहरू धेरै भएकाले धेरै नै गीतकार र संगीतकारहरूसँग काम गरेकी छन् । त्यसमा पनि नारायण रायमाझी, अर्जुन पोख्रेल, डम्बर नेपाली, खगेन्द्र यक्सो, राजशुक्र लिम्बुलगायत दर्जनभन्दा बढीको नाम लिइन् ।

आगो पिएर बाँच्ने बोलको चर्चित गीतमा फिमेल भ्वाइसको गीत लाखौँले हेरेका छन्, रुचाएका छन् । चासोक फिर्दा बोलको गीत सधैँ चासोक तङ्नाममा खुसी बोकेर आउने गरेको छ र गजब चाहिँ राजेश पायल राईसँगको युगल गाना खोटाङे माया पनि अत्यधिक रुचाइएको छ । गायिका सुहाङको स्वरमा रहेका करिब ७० वटा म्युजिक भिडियोहरू अहिले युट्युब र फेसबुकमा उपलब्ध रहेका छन् ।
गायन क्षेत्रलाई अनुष्ठान बनाएकी सुहाङ छोटो समयमा सफलताको चुचुरो चुम्ने भाग्यमानी गायिका हुन् । उनको अद्भुत गायनमा उनको सुन्दरता र शालीनताले झनै स्रोता, दर्शक तथा शुभेच्छुकको मनमुटुमा बस्न सफल भएकी छन् । उनी हङकङ, कतार र कोरियापछि युकेमा आफ्नो सांगीतिक प्रस्तुतिमा व्यस्त छिन् । युकेमा २० भन्दा बढी सांगीतिक कार्यक्रममा प्रस्तुति दिइसकेकी छन् भने अझै करिब एक दर्जन कार्यक्रम तय भएको जानकारी प्राप्त भएको छ ।
खोटाङे माया गीत गाउँदै, मन पराउँदै युके पुगेकी पान्थरे माइली दीपा सुहाङले धेरैलाई गीतबाट लठ्ठ पारेकी छिन् । कुन बेला पिरतीले जोडी बाँधिने हो, थाहा छैन । आजै भोलि, यसैपटक शुभकामनाहरू आएका छन्, संकेतहरू देखा परेका छन् तर उनको सांगीतिक उडान कहीँ पनि, कसैगरि रोकिनु हुन्न, उडिरहनुपर्छ, शिखर चुमिरहनुपर्छ । हिजोजस्तै, आजजस्तै भोलि पनि सधैँसधैँ पान्थरे माइलीलाई शुभकामना ।
– विश्वास दीप तिगेला




