नेपाली जनसम्पर्क समिति बेलायतको छैटौँ अधिवेशन नोभेम्बर २१ मा, उम्मेदवारीको प्रचार सुरु
लन्डन । नेपाली कांग्रेसनिकट नेपाली जनसम्पर्क समिति बेलायतको छैटौँ अधिवेशन आगामी २१ नोभेम्बर २०२६, शनिबार फेल्थामस्थित स्प्रिङवेस्ट एकेडेमीमा आयोजना गरिने भएको छ। अधिवेशनसम्बन्धी पोस्टर तथा सहभागिताका अपिल सार्वजनिक भएसँगै नेतृत्वका आकांक्षीहरूले पनि प्रचार सुरु गरेका छन्।
सार्वजनिक प्रचार सामग्रीमा सभापति र उपसभापति पदका लागि उम्मेदवारी घोषणा गरिएको छ। उम्मेदवारीसम्बन्धी पोस्टरहरूमा संगठनको एकता, सदस्यहरूको सक्रिय सहभागिता र नेपाली समुदायको आवाजलाई सशक्त बनाउने विषयलाई प्राथमिकता दिइएको छ। यद्यपि, औपचारिक मनोनयन तथा निर्वाचनको विस्तृत कार्यतालिका ती सामग्रीमा उल्लेख छैन।
“एकता, समर्पण र सक्रिय सहभागिता, समुदायको सशक्त आवाजका लागि” भन्ने सन्देशसहित सार्वजनिक पोस्टरमा “संयुक्त नेपाली समुदायको सुदृढ संगठन, बलियो नेपाली कांग्रेस” भन्ने नारासमेत समेटिएको छ।
अधिवेशनको मूल प्रचार सामग्रीमा नेपाली कांग्रेसका आदर्श ‘राष्ट्रियता, लोकतन्त्र, समाजवाद’ उल्लेख गर्दै सबै वर्ग र पुस्तालाई समेट्ने सन्देश दिइएको छ। सदस्य, अग्रज तथा शुभेच्छुकहरूलाई उपस्थित भएर अधिवेशन भव्य, सभ्य र सफल बनाउन आह्वान गरिएको छ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिलमा एकता, सहकार्य र सक्रिय सहभागिताले संगठनलाई थप सुदृढ, गतिशील र प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ। अधिवेशनलाई सामूहिक सहभागिताको अवसरका रूपमा लिँदै सबैलाई एकजुट हुन आग्रह गरिएको छ।
यसैबीच, यसअघि प्रकाशित समाचारहरूमा समितिको नेतृत्व र अधिवेशन प्रक्रियाबारे फरक–फरक दाबी सार्वजनिक भएका छन्। नेपाल संसारका अनुसार एक पक्षले नेतृत्व चयन भइसकेको घोषणा गरेको छ भने अर्को पक्षले नोभेम्बर २१ को अधिवेशनको तयारी अघि बढाएको छ।
हाल सार्वजनिक पोस्टरहरूले अधिवेशनको मिति र स्थान उल्लेख गरे पनि कार्यक्रम सुरु हुने समय, प्रतिनिधि सहभागिताको प्रक्रिया र विस्तृत कार्यतालिका खुलाएका छैनन्।
नेकाँ गगन थापा पक्षको यस अघि नै नेतृत्व चयन भईसकेको छ ।




