भनिन्छ, सिर्जनशीलता सानैदेखि सुरु हुन्छ, तर अपवादमा पर्नुहुने स्रष्टामध्ये एक हुनुहुन्छ नेम खापुङ अर्थात् आमाबुबाले बोलाउने नाम निमे। कोही प्रौढ उमेरमा पढ्न सुरु गरेर उपल्लो शिक्षा हासिल गर्ने हुन्छन्, कोही जीबनको उत्तरार्धमा लेखन–अध्ययन सुरु गर्छन् र ठूल्ठूला कुराको आविष्कार गर्छन्, सिर्जना गर्छन् र जगतलाई दिन्छन्। गीत लेखनको क्षेत्रमा पनि तुलनात्मक रूपमा थोरै स्रष्टाहरू पाइन्छन्, जसले उमेरले ५० कटेपछि लेखन सुरु गरे। अंग्रेजी भाषाका गीतकार डन हार्भी, डेभ हिल जुनियर र थोमस जे. हडसनले इतिहास रचेका छन्। उनीहरूले ५० कटेपछि सक्रिय रूपमा गीत लेखनमा योगदान गरेको पाइन्छ। नेपालको सन्दर्भमा पुष्पाञ्जली खनाल अवकाशपछि भजन लेखनमा लागिन्। जीवनको उत्तरार्धमा गीत लेखन सुरु गरी दर्जनौँ चर्चित र लोकप्रिय सिर्जना दिनु आफैँमा नयाँ इतिहास हो। हो, त्यस्तै इतिहास बनाउन सफल एक स्रष्टाको नाम हो निमे।
गीतकार निमेले ५४ वर्षको उमेरमा पहिलो पटक आफ्ना ब्याजीहरूको वार्षिक भेलाको निमित्त टुक्का लेखे र त्यो टुक्का सुनाए। सबैले रुचाए र भाइसाथी वेन कुमार असामीले रेकर्ड गरिदिने वाचा गरे। रेकर्ड भयो पनि। सन् २०१७ ताकाको कुरा हो। त्यसबाट उत्साहित भएका निमे निरन्तर सिर्जनामा लागे र करिब आधा दशकभित्र अप्रत्याशित प्रगति गरेका छन्। पछिल्लो समयमा युट्युब र फेसबुकमा आउने लिम्बु भाषाका पालाम, गीतहरू सबैभन्दा धेरै निमेकै पाइन्छन्। अर्थात् निमेले लेखेको पालाम वा गीत नसुन्ने लिम्बु सायदै होलान्।
उनका ३६ भन्दा बढी लिम्बु भाषाका पालाम, दुई दर्जनभन्दा बढी लिम्बु भाषाका आधुनिक र लोकआधुनिक गीतहरू बजारमा आइसकेका छन् भने आधा दर्जन खस नेपाली भाषाका गीतहरू पनि चर्चामा आएका छन्। उनी भाग्यमानी पनि भए, गीत लेख्ने उनी र गीतको रेकर्ड गरिदिने विभिन्न आफ्नै नातागोता, साथीभाइ। सायद लिम्बु भाषाको भएको कारण रेकर्ड गरिदिने सहजै भेटिएका हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ। निमेका अनुसार आठवटा लिम्बु भाषाको गीत दल नारायण खापुङले, छवटा लिम्बु गीत शैलेन्द्र नाल्बोले, तीनवटा लिम्बु भाषाका गीत नरहाँङ माबोहाँङले, दुईवटा ओझाहाँङ लिम्बुले र दुईवटै लिम्बु भाषाको गीत थाम बहादुर मादेन खेवाले रेकर्ड गरिदिएका छन्। उसो त उनी आफैँ पनि रेकर्डको खर्च बेहोर्न सक्थे र केही गीतको रेकर्डको भार आफैँले पनि बेहोरेका छन्। तर साझा भाषाको सिर्जनामा अरूअरूको पनि सहयोग जुट्दा प्रोत्साहन मिलेको बताउँछन्। गीतकार निमेलाई अहिले विभिन्न गायकगायिकाबाट आएको अनुरोधमा गीत लेखिदिन भ्याइनभ्याइ छ।
पछिल्लो दशकमा लिम्बु भाषाको गीतसङ्गीतमा राम्रो पुनर्जागरण आएको छ। धेरै गीत, पालाम, हाक्पारे र ख्याली लेख्नेहरू आएका छन्। उसो त केही वर्षअघि अन्तर्राष्ट्रिय स्तरको पालाम, हाक्पारे, ख्याली प्रतियोगिताले भरपूर गोडमेल र मलजल गरेको महसुस हुन्छ। सो प्रतियोगितामा पनि निमेले सहभागिता जनाए, आयोजकलाई हौसला दिए। उनी आफैँ पनि तुफानी गतिमा सिर्जनामा लागिपरे। यति धेरै प्रगति गरिरहँदा उनी सम्झन्छन्, अझ उमेर छँदै सिर्जनामा लागेको भए अझ धेरै योगदान दिन सक्थे। तथापि उनमा सिर्जना गर्ने ताकत अझ बलियो र परिपक्व छ।
निमे सम्झन्छन्, अहिले युकेमा रहेका लिम्बु भाषाका पालाम, गीत लेख्नेहरूको अग्रपङ्क्तिमा सुवर्ण नेम्बाङ, कोम्फेहाँङ कान्छी, कल्पना आङबुहाँङलगायत रहेका छन्। निमेका गीत लेखनमा परम्परागत मायापिरतीका विषय मात्र छैनन्, चेतना दिने, शिक्षा बाँड्ने र आफ्नै गाउँ मुराहाँङको परिचयसमेत गीतमै लेखेका छन् र रेकर्ड भएका छन्। सुदूरपूर्वको जिल्ला तेह्रथुममा बनेको लिम्बुहरूको सङ्ग्रहालय चोत्लुङ पार्कको पनि गीतबाटै परिचय दिई शिर उठाइदिएका छन्, अर्थात् चोत्लुङ पार्कको चोत्लुङ उठाएका छन्। तेह्रथुमलाई ढाका र लाँलिगुराँसको राजधानी घोषणालाई पनि गीतमै उतारेर पर्यटन प्रबद्र्धनमा योगदान गरेका छन् । उसो त खापुङहरूको सामाजिक कामको विरासतलाई हेर्दा सिर्जनशील तवरबाट गरिएको यो समाजसेवालाई अन्यथा मान्न हुँदैन। तथापि पछिल्लो समय उहाँबाट सिर्जित सिर्जनाका सुनामीले सबैलाई मुक्कुमलुङ हुँदै फक्ताङलुङ सम्म पुर्याएको छ।
निमेका पालामहरू ‘तुम्याङ हाङसासे सुहाङमासे’, ‘याक्थुङबा मा पान रे कुन्दाङ बा से’, ‘आलुङ मा कुदेङ पिने थाने’, ‘मेम्जिरे फुङिन’ अत्यन्तै लोकप्रिय रहेका छन् भने उनका लिम्बु भाषाका गीतहरू ‘नाराङ स्याङ्लो’, ‘हुर्लै पक्कदि’, ‘चल्लक चल्लक’, ‘हिल्लिङ हिल्लिङ’, ‘लुखुरि लुखुरि’लाई लाखौँ दर्शकहरूले हेरेका छन्, सुनेका छन्। त्यसैगरी उनका खस नेपाली भाषाका गीतहरू ‘नहुनु जति’, ‘लालीगुराँस ढाकाको राजधानी’, ‘मुराहङको कथा’, ‘चो?लुङ् पार्कैमा’, ‘रमाइलो छ हौ’ बोलका गीतहरू धेरैले रुचाएका छन्। युट्युबमा नेम खापुङ टाइप गरी खोज्नेबित्तिकै तँछाडमछाड गरी उनका सिर्जनाहरू तयार हुन्छन्।
निमेलाई आफ्नो परिचय बदल्न धेरै गायक र सङ्गीतकारहरूको पनि साथ–सहयोग रहेको छ। गायकगायिकामा ब्रबिण शेर्मा, गंगा फियाक, मनु नेम्बाङ, सुनिता संयक, सुमन लिम्बुलगायत रहेका छन्। उनीहरूको साथ–सहयोगले निमेलाई गीतकार नेम खापुङ बनाएको हो। गीतकार खापुङ श्रीमती, छोरा, छोरीसहित युकेको आसफोर्डमा रहेका छन्। आफूलाई साथ सहयोग गर्ने सबैलाई सम्झेका छन् ।
प्रत्येक दिन नित्यकर्मसँगै गीत लेखनलाई पूजा बनाएका गीतकार खापुङको सिर्जना तमोर नदीजस्तै कलकल, सफा र निरन्तर अघि बढिरहोस्। जसले गीतकार खापुङको पहिलो सिर्जनालाई प्रोत्साहित गरे, वेन कुमार असामी परियार, उहाँ यो धर्तीबाट बिदा लिएर गइसक्नुभएको छ। उहाँको योगदानलाई पनि कोटिकोटि सलामसहित गीतकार खापुङका गीतहरू गुञ्जिरहून् अनन्तसम्म। उत्तरोत्तर प्रगतिको कामनासहित बिदा।
– विश्वास दीप तिगेला




