देव जातिको इतिहास लिपिबद्ध गरिँदै

सप्तरी, १० कात्तिकः नेपालको अल्पसङ्ख्यक सूचीमा रहेको देव जातिको इतिहास पहिलोपटक लिपिबद्ध गरिने भएको छ ।
जातीय सङ्गठन बागीश्वरी सेवा समितिले यस वर्ष उक्त जातिको इतिहास पहिलोपटक लिपिबद्ध गर्न लागेको हो । सोमबार यहाँ आयोजित कार्यक्रममा उक्त जातिको इतिहासबारे अधिवक्ता रामनारायण र शोभाकान्त देव तथा इन्जिनियरद्वय सचिन्द्रप्रसाद र भुवनेश्वर देवले आफ्नो जातीय इतिहाससम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभयो ।
त्यसअवसरमा कार्यपत्रमा उठाइएका विषयवस्तुलाई मूर्तरुप प्रदान गर्न विषय विज्ञ सम्मिलित एक समिति गठन गरिएको छ । समितिका अध्यक्ष इन्जिनियर इन्द्रनारायण देवले नेपालमा जनसङ्ख्याका हिसाबले न्यून रहे तापनि उक्त जातिका ९५ प्रतिशत नागरिक शिक्षित रहेको जानकारी दिनुभयो । पछिल्लो जनगणनाअनुसार, नेपालमा देव जातिको जनसङ्ख्या अहिले सात हजार ४१८ मात्र छ ।
उहाँले यस वर्ष आफ्नो जातिको इतिहासलाई लिपिबद्ध गर्ने प्रतिबद्धता जनाउनुभयो । देव समुदायको मूलथलो सप्तरी रहे तापनि तराईका अन्य केही जिल्लामा पनि बसोबास गरेको पाइएको छ ।
–––




