गोर्खाहरूको समान अधिकारको अभियानलाई सहयोग जुटाउन बिगेसोको दोस्रो च्यारिटी डिनर

लण्डन, ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) ले गोर्खाहरूको समान अधिकार तथा न्यायिक संघर्षमा सहयोग जुटाउने उद्देश्यले दोस्रो ‘च्यारिटी डिनर नाइट २०२६’ आयोजना गरेको छ। अक्टोबर २४ मा आयोजित कार्यक्रमले भूतपूर्व गोर्खा सैनिक र उनीहरूका परिवारका अधिकारसम्बन्धी मुद्दालाई पुनः उठाउँदै अभियानमा निरन्तर साथ र सहयोगको आह्वान गरेको हो।
बिगेसो युके समितिका अध्यक्ष दिल सबाहाङ्फेले गोर्खाहरूले बेलायतका लागि पुर्याएको योगदानको उचित कदर हुनुपर्नेमा जोड दिएका छन्। गोर्खा सैनिक तथा उनीहरूका परिवारले लामो समयदेखि असमान व्यवहार र विभेद भोग्दै आएको संगठनको धारणा प्रस्तुत गर्दै उनले समान अधिकार प्राप्त नभएसम्म संघर्ष जारी रहने उल्लेख गरेका छन्।
सम्बोधनमा विभिन्न युद्धमा ज्यान गुमाएका, घाइते तथा बेपत्ता भएका गोर्खाहरू र उनीहरूका परिवारको योगदान स्मरण गरिएको छ। गोर्खाहरूको सवाल पेन्सनमा मात्र सीमित नभई समान व्यवहार, सम्मान, नागरिकता र परिवारका अधिकारसँग पनि सम्बन्धित रहेको बिगेसोको भनाइ छ।
सन् १९४७ को नेपाल, भारत र बेलायतबीचको त्रिपक्षीय गोर्खा भर्ती सम्झौतामाथि प्रश्न उठाउँदै संगठनले त्यससँग सम्बन्धित समस्याको समाधान खोजिनुपर्ने माग दोहोर्याएको छ। सिंगापुर प्रहरी र ब्रुनाईमा कार्यरत गोर्खाहरूको सेवासर्त तथा सुविधाका विषयमा पनि संगठनले चासो व्यक्त गरेको छ।
अध्यक्ष सबाहाङ्फेको लिखित सम्बोधनअनुसार, गोर्खा भर्तीसम्बन्धी मुद्दामा नेपालको सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेशको कार्यान्वयनका लागि बिगेसोले पहल गर्दै आएको छ। परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमार्फत भइरहेको अध्ययनमा संगठनले आफ्ना सरोकार र सुझाव प्रस्तुत गरेको बताए ।
बिगेसोले बेलायतमा रहेका भूतपूर्व गोर्खा सैनिक तथा उनीहरूका सन्तानको नेपाली नागरिकता निरन्तरताको विषयलाई समेत प्रमुख मागका रूपमा अघि सारेको छ। गोर्खाहरूको ऐतिहासिक पृष्ठभूमि र राज्यहरूबीचको सम्झौताअन्तर्गत भएको सैन्य सेवाको अवस्थालाई ध्यानमा राखेर उनीहरूको नागरिकता तथा अधिकारसम्बन्धी प्रश्न सम्बोधन गर्नुपर्ने संगठनको धारणा रहेको बताए । कार्यक्रमलाई खडगजंग लिम्बुले पनि सम्बोधन गरेका थिए ।
ज्ञात–अज्ञात वीर गोर्खाहरूको सम्झनामा एक मिनेट मौनधारण, राष्ट्रिय गान, स्वागत मन्तव्य, दीप प्रज्वलन, संस्थागत सम्बोधन तथा सांस्कृतिक प्रस्तुतिहरू रहेका थिए। साथै, सामूहिक तस्बिर, रात्रिभोज र संकलित आर्थिक विवरण पनि प्रस्तुत गरिएको थियो ।
युके समितिका महासचिव अविन नाल्बो र केन्ट क्षेत्रका सचिव ज्ञानु फूरुम्बोले संचालन गेरेको च्यारिटी डिनर कार्यक्रमको अध्यक्षता बिगेसो केन्ट क्षेत्रका अध्यक्ष निर्मल पतङ्वाले गरेका थिए । पतङ्वाले आफ्नो सम्बोधनमा कार्यक्रमलाई सहयोग गर्ने अतिथि, गोर्खा आन्दोलनका अग्रज, परिवारजन, स्वयंसेवक तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्। समुदायबाट प्राप्त साथ र सहयोगले समान अधिकारका लागि जारी न्यायिक अभियानलाई थप मजबुत बनाउने विश्वास पनि उनले व्यक्त गरे ।




