मनोरञ्जन

गायक राईको दुई गीति एल्वम विमोचित

लण्डन,
गत ६ डिसेम्बर २०२५ का दिन गायक तथा संगीतकार बिसी (विक्रमचन्द्र) राईको एकैसाथ दुई गीति एल्वम सार्वजानिक भएको छ ।

एक भब्य समारोह बीच गायक राईकी बृद्धा आमा दयादेवी राईले सात समुन्द्रपारि र सम्मोहन नामको गीति एल्बम सार्वजानिक गरेकी हुन । बृद्धा आमाले गायक छोरालाई आर्शिवाद दिदै, छोराले गाएको गीतलाई सुनिदिन सबैलाई आग्रह पनि गरे । सात समुन्द्रपारि एल्बममा गायक राईको आफ्नै स्वर, शब्द र संगीत रहेको छ । एल्बममा सात समुन्द्रपारि, मेरो हाल सोध्नेले, ओ परदेशी, सम्झनाको समाधी, पानीलाई पर्यो, झिमझिम, ए कान्छी बोलका ७ वटा मिठा गीतहरु संग्रहित छन् ।

दोस्रो कृति सम्मोहनमा गायक राईले संगीत भरेका छन र स्वर दिएका छन । यस सम्मोहन एल्बमको शब्द रोजी थुलङको रहेको छ । यस एल्बममा सम्मोहन, अजम्बरी फूल, फूलमा पनि, साँगुरो गल्लि, उपहार बोलका गीतहरु अटाएका छन् । यस एल्वमकी गीत लेखिका थुलुङले आफूले कसरी गीत लेखे भनेर अनुभूती राखेकी थिइन् ।

गायक राई पूर्णकालिन गीतसंगीतमा योगदान गरिरहेका लोकप्रिय स्रष्टा हुन । गीत गाउने, लेख्ने, संगीत भर्ने काम विगत करिव अढाईदशक देखि गर्दै आएका छन् भने यस पटकको यी दुई एल्बम आसफोर्ड युकेको आफ्नै रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएका हुन । यस पटक सार्वजानिक गरिएका एल्बम राईका ९औं र १०औं हो ।

एल्बमको सार्वजानिक सँगसंगै ४ वटा म्युजिक भिडियोको पनि विमोचन गरिएको थियो । सार्वजानिक कृतिको समिक्षा विश्वास दीप तिगेलाले गरेका थिए भने संचालन गंगाराज राईले गरेका थिए । लण्डन नजिक आसफोर्ड टाउनको सेन्टसाईमन चर्चहलमा आयोजित कार्यक्रमको अन्तमा गायक राईले आफ्नो सांगीतिक कोसेली प्रस्तुत गरि सबैलाई नचाएका थिए ।

नेपालको सुदुरपूर्व भोजपुरमा जन्मिएर धनकुटामा हुर्किएका राई विगत २ दशक देखि लण्डन नजिक आसफोर्डमा रहदै आएका छन् । उनको नेपाली गीत संगीत प्रतिको योगदान लोभलाग्दो रहेको छ ।

Related Articles

Back to top button