बान्तावा भाषामा प्रकाशित ‘बुङ्वाखा’को २०औं वार्षिकोत्सवको अवसरमा दुई दिने ‘बान्तावा साहित्य महोत्सव’ हुने भएको छ । भोजपुरको हतुवागढी गाउँपालिका घोडेटारमा आउदो मङ्सिर २३-२४ गते हुने सो महोत्सवमा विधागत पुरस्कार र सम्मानहरू प्रदान गरिने भएको हो ।
बुङ्वाखा सम्पादक तथा कार्यक्रम संयोजक पदम राईका अनुसार सो अवसरमा भोजपुर हतुवागढी पात्लेपानी निवासी बान्तावा श्रष्टा मानबहादुर खाम्लुङ राईलाई ‘बुङ्वाखा-विष्णु-मकर बान्तावा राष्ट्रिय पुरस्कार’ प्रदान गरिने छ । पुरस्कारको राशी ६० हजार २ सय ९१ र ताम्रपत्र रहेको छ । उहाँले ‘किरात राई साकेन्वा लाकछाम’ (बान्तावा भाषा, २०५४), ‘साकेन्वा लाकछाम भुङ’ (बान्तावा भाषा, २०७०), ‘लुङ्खिम टाकुरे साकेन्वाको ऐतिहासिक पृष्ठभूमि स्मारिका’ (२०७२), ‘हतुवाली सेमुना सिलि’ (गीत सङ्ग्रह, २०७६) जस्ता कृतिका लेखन र प्रकाशन साथै ‘सुम्निमा’ भाग १ गीतिएल्बम (२०५५) को गीतकार र उत्पादन गर्नुभएकोमा यो पुरस्कार प्रदान गरिने भएको हो । पूर्व मुख्य अञ्चलाधीश स्व. मकरबहादुर बान्तावा र उहाँकी श्रीमती विष्णुदेवी बान्तावाको सम्मानमा उहाँहरूका परिवारले सो पुरस्कारको लागि ‘बुङ्वाखा’मा अक्षयकोष स्थापना गर्नुभएको हो ।
‘बुङ्वाखा-युके सायाचोङ्मा पुरस्कार’ बुङ्वाखाको प्रकाशक शान्तप्रसाद राईलाई प्रदान गरिने भएको छ । पुरस्कारको राशी ५० हजार र ताम्रपत्र रहेको छ । भोजपुरको हतुवागढी गाउँपालिका २, वालाहाङछानमा जन्मिनुभएका राईले ‘बुङ्वाखा’को प्रकाशक भई उल्लेख्य भूमिका खेलिरहनुभएकोले यो पुरस्कार प्रदान गरिने भएको छ । ‘बुङ्वाखा’ संरक्षक मानबहादुर राईको पहल र संयोजकत्वमा बेलायतमा बसोबास गरिरहनुभएका बान्तावा र गैरबान्तावाहरूका सहभागितामा यो पुरस्कारको लागि अक्षयकोष स्थापना गर्नुभएको हो ।
भोजपुरको रामप्रसाद राई गाउँपालिका ८, बाहुराङमा जन्मिनुभएका बान्तावा गायिका कला ईशारा राईलाई ‘बुङ्वाखा-पञ्चकुमारी सङ्गीत पुरस्कार’ प्रदान गरिने भएको छ । ताम्रपत्रसहित पुरस्कारको राशी ४० हजार रुपैयाँ रहेको छ । उहाँले ‘छेन्चुकदुङ्का…’, ‘पउ पगरि ढोले ङा लिसिन…’ संयुक्त बान्तावा गीतहरू र करिब २६ वटा नेपाली गीतहरू गाउनुभएको छ । स्वर्गीय आमा पञ्चकुमारी राईको स्मृतिमा दाजुभाइद्वय गीतकार जीवन मुकारुङ र गायक तथा सङ्गीतकार अशोक मुकारुङले सो पुरस्कारको लागि अक्षयकोष स्थापना गर्नुभएको हो ।
सहिदभूमि गाउँपालिका ४ खोकु, धनकुटा निवासी मोनकुमारी राईलाई ‘बुङ्वाखा–धनेन्द्र बादिहाङ स्मृति पुरस्कार’ प्रदान गरिने भएको छ । उहाँले बुङ्वाखामा वर्षभरी नियमित लेख लेख्नुभएकोले सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । कदरपत्रसहित पुरस्कारको राशी १५ हजार रुपैयाँ रहेको छ । आफ्ना भाइ धनेन्द्र बादिहाङको अल्पायुमै स्वर्गारोहण भएकोमा दाजु टीकाराम बादिहाङ र परिवारको पहलमा सो पुरस्कारको लागि अक्षयकोष स्थापना गरिएको हो ।
हतुवागढी गाउँपालिका २ बाकबुक, भोजपुरमा जन्मिनुभएका बुङ्वाखा चेन्चेक्वा (संवाददाता)को रूपमा कार्यरत रामकुमार राईलाई ‘बुङ्वाखा–रनमाया चेन्चेक्वा पुरस्कार’ प्रदान गरिने भएको छ । कदरपत्रसहित पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ । बुङ्वाखा सल्लाहकार चन्द्रकुमार राई ‘हतुवाली’ र उहाँको परिवारले आफ्ना बजु रनमाया राईको स्मृतिमा पुरस्कारको लागि अक्षयकोष स्थापनाको लागि प्रस्ताव गर्नुभएको छ ।
बुङ्वाखा २०औं वार्षिकोत्सवको अवसरमा २०औँ बान्तावा कविता प्रतियोगिताको पनि आयोजना गर्ने भएको छ । सो प्रतियोगिताबाट विजयी कविहरूले ‘बुङ्वाखा–श्यामराज दुब्देङहाङ स्मृति पुरस्कार’बाट पहिलो, दोस्रो र तेस्रो हुने कविहरूलाई क्रमशः रु. २० हजार, रु. १५ हजार र रु. १० हजारबाट पुरस्कृत गरिने छ । श्यामराज दुब्देङहाङका छोरीद्धय मीना राई, सपना राई र भतिजी छोरी अञ्जना राईले आफ्ना पापा/काकाको स्मृतिमा सो पुरस्कारको लागि अक्षयकोष स्थापना गर्नुभएको हो ।
शिक्षासेवी ईश्वरमान राईलाई ‘बुङ्वाखा सम्मान’ अर्पण गरिने
भोजपुर हतुवागढी ३, सिन्द्राङ निवासी ईश्वरमान राईलाई ‘बुङ्वाखा सम्मान’ प्रदान गरिने भएको छ । राई भोजपुर हतुवागढी १, घोडेटारस्थित श्री सगरमाथा माविका पूर्व प्रधानाध्यापक हुनुहुन्छ । उहाँले भोजपुरको दक्षिणी क्षेत्रमा स्थापित उक्त माविलाई नमुना विध्यालय बनाई शिक्षाको ज्योति बाल्ने कामको नेतृत्व गर्नुभएको थियो । बुङ्वाखा पुरस्कार छनोट समितिको मङ्सिर १३ गते ललितपुरमा बसेको बैठकले सो निर्णय गरेको हो ।