युके विशेष

चुम्लुङ युकेको ११ औं महाधिवेशन सम्पन्नः पहिलो पटक महिला नेतृत्व चयन

 

लन्डन । किरात याक्थुङ चुम्लुङ यूकेको अध्यक्षमा कमलाकुमारी सेन्दाङ लिम्बु र महासचिवमा विश्वासदीप तिगेला निर्वाचित हुनुभएको छ ।

लन्डनको हन्स्लोमा गत १३ र १४ सेप्टेम्बर २०२४ मा आयोजित ११ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनबाट ४ सय ३९ मत सहित सेन्दाङ अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी गणेश इजमले ३ सय ४९ र अमृता पालुङ्वाले ८५ मत प्राप्त गर्नुभयो ।

यस्तै उपाध्यक्षहरुमा सान्तकुमार हुक्पा चोङबाङ, दिपेन्द्र याक्सो र राजेन लाबुङ निर्वाचित हुनुभएको छ । चोङवाङले ४ सय ४ मत, याक्सोले ३ सय ९० र लाबुङले ३ सय ७७ मत पाउनुभएको थियो उपाध्यक्षका प्रतिस्पर्धीहरू मध्ये विजय लिङ्थेपले ३ सय १५ र ताराप्रसाद कन्दङवाले ३२५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

महिला समिति थामेन्दिङ्माले चयन गरि पठाउने महिला उपाध्यक्षमा सानु सुब्बा र सचिवमा सकुन्तला नेम्बाङ निर्विरोध निर्वाचित हुनुभएको थियो ।

महासचिवमा विश्वासदीप तिगेला निर्वाचित हुनुभएको छ । उहाँले ४ सय १७ मत प्राप्त गर्दै निवर्तमान महासचिव जुरेन्द्र खजुमलाई पराजित गर्नुभयो । खजुमले ३ सय ५८ मत मात्र ल्याउनुभएको थियो ।

सचिवमा महेशकुमार वनेम ३ सय ८० मतका साथ विजयी बन्नुभयो । उहाँका प्रतिस्पर्धी लाहाङ चेम्जोङले ३ सय ४४ मत प्राप्त गर्नुभएको थियो ।

कोषाध्यक्षमा खगेन्द्र लावती निर्वाचित हुनुभयो । उहाँले ४ सय १८ मत ल्याउँदा प्रतिस्पर्धी धनकुमार काम्बाङले ३ सय ३४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

सहकोषाध्यक्षमा भने देउकुमार पन्धाक र सबिता लाबुङ लिम्बु निर्विरोध हुनुभएको छ ।

निर्वाचन मण्डलको अध्यक्षमा रिटायर्ड मेजर चितराज चोङबाङ, सदस्यहरू रिटायर्ड लेप्टिनेन्ट सिरी साम्यो, श्रीमति दुर्गा पाङ्मा, कर्ण प्राङ्गदेन र सचिव नर थाम्सुहाङ रहनुभएको थियो ।

निर्वाचन मण्डलका अध्यक्ष चोङ्बाङ्ले नवनिर्वाचित कार्यसमितिलाई लिम्बु भाषामा पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको थियो ।

अध्यक्ष पदका निकटतम प्रतिस्पर्धी गणेश इजमले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिनुभएको थियो भने नवंनिर्वाचित अध्यक्ष सेन्दाङले आफ्नो प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

नेपालको आदिवासी समुदाय लिम्बुहरु युकेमा आई बसोबास गर्नेको संख्या करिब २० हजार रहेको अनुमान छ । सन् २००३ मा स्थापित यस किरात याक्थुङ चुम्लुङ संस्थामा पहिलोपटक महिला अध्यक्ष निर्वाचित हुनुभएको हो । चुम्लुङको युकेभरी १६ शाखाहरु रहेका छन भने २९०९ जना पंन्जिकृत सदस्य रहेका मध्ये ९४३ जनाले प्रत्येक्ष उपस्थित भई मतदान गरेका थिए । निर्वाचन प्रकृयाबाट नेतृत्व चयन गरेको यो तेस्रो पटक हो ।

Related Articles

Back to top button