आदिवासी

धरानमा याक्थुङ लिम्बु समाधि तथा दाहसंस्कार स्थल संरक्षण समिति दर्ता

धरान । याक्थुङ लिम्बु समुदायको समाधि तथा दाहसंस्कार स्थलको संरक्षण र व्यवस्थापन गर्ने उद्देश्यले धरानमा ‘याक्थुङ लिम्बु समाधि तथा दाहसंस्कार स्थल संरक्षण समिति’ दर्ता भएको छ।

समितिका सचिव अमित थेबेले १५ अक्टोबर २०२६ मा सामाजिक सञ्जालमार्फत जानकारी दिँदै करिब तीन वर्षदेखिको प्रयासपछि समिति दर्ता गर्न सफल भएको बताएका छन्। उनका अनुसार धरान उपमहानगरपालिकाको संस्था दर्ता ऐन, २०७७ बमोजिम स्थानीय सरकारअन्तर्गत समिति दर्ता गरिएको हो।

याक्थुङ लिम्बु समुदायको बाक्लो बसोबास रहेको धरानमा समाधि तथा दाहसंस्कार स्थललाई व्यवस्थित बनाउने समितिको उद्देश्य छ। समुदायले आफ्ना सांस्कृतिक अभ्यास गर्न पाउने नैसर्गिक अधिकार सुरक्षित गर्दै सम्बन्धित सरकारी निकायसँग आवश्यक समन्वय गरिने थेबेले उल्लेख गरेका छन्।

संस्था दर्तामा सहयोग पुर्‍याउने धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रविक्रम बेघा, प्रशासन महाशाखा प्रमुख वेदप्रसाद सापकोटालगायतलाई उनले धन्यवाद दिएका छन्। सन्तोष लिम्बू, सन्तोष सिरिङ चोङबाङ र सन्त थेबेको लामो तथा अथक प्रयासको पनि उनले स्मरण गरेका छन्।

त्यस्तै, अधिवक्ता कमल चोङबाङ क्याबा, समितिका अध्यक्ष दिलकुमार सिरिङ, सहसचिव साम्रित मादेन याक्थुम्बा, कोषाध्यक्ष यमुना सुब्बासहित सहयोगीहरूप्रति आभार व्यक्त गरिएको छ।

समितिले आगामी दिनमा कियाचु नेपाल, याचु नेपाल, युमा साम्यो महासभा नेपाल, किरात याक्थुङ चुम्लुङ तथा अन्य याक्थुङजन्य संघसंस्था र थरगत संस्थाहरूसँग छलफल गर्ने जनाएको छ। समाधि तथा दाहसंस्कार स्थलको संरक्षण र व्यवस्थापनका लागि सबै पक्षको रचनात्मक सहयोग तथा सुझाव समेटेर अघि बढ्ने सचिव थेबेले बताएका छन्।

Related Articles

Back to top button