समाचार

प्रदेशको नाम ‘किरात लिम्बुवान खम्बुवान’ राख्न नेपाल जनमुक्ति पार्टीको माग

ललितपुर । नेपाल जनमुक्ति पार्टीले कोशी प्रदेशको नाम खारेज गरी ‘किरात लिम्बुवान खम्बुवान’ नामकरण गर्न माग गरेको छ। भाषिक तथा सांस्कृतिक पहिचानको सम्मानसँगै ऐतिहासिक पहिचान र राजनीतिक अधिकार सुनिश्चित गर्न पार्टीले प्रदेश सरकार तथा प्रदेशसभा सदस्यहरूसमक्ष यस्तो अपिल गरेको हो।

पार्टी अध्यक्ष के.पी. पालुङ्वा र महासचिव तथा सचिवालय इन्चार्ज पदम जवेगूद्वारा हस्ताक्षरित असोज २५ गतेको प्रेस विज्ञप्तिमा प्रदेशसभाले लिम्बु, मैथिलीलगायतका भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने निर्णयको स्वागत गरिएको छ। विज्ञप्तिअनुसार उक्त निर्णय असोज २४ गते भएको हो।

तर, ‘राई’लाई साझा जातीय पहिचानका रूपमा लिँदै आएका विभिन्न भाषिक समुदायका भाषालाई एउटै ‘राई भाषा’ नाम दिनु उचित नहुने पार्टीको धारणा छ। विज्ञप्तिमा बान्तवा, चाम्लिङ, कुलुङ, थुलुङ, हाङखिम, वाम्बुले र याम्फूलगायतका २६ भाषिक समुदायको उल्लेख गर्दै सम्बन्धित भाषाका वास्तविक नाम र पहिचानलाई मान्यता दिनुपर्ने माग गरिएको छ।

त्यसैगरी, लिम्बु भाषाको लिपिलाई स्पष्ट रूपमा ‘किरात सिरिजङ्गा’ भनी सम्बोधन गर्न पनि पार्टीले आग्रह गरेको छ।

पार्टीले सरकारी कामकाजमा भाषाको मान्यता दिँदा सम्बन्धित समुदायको मौलिक भाषिक तथा सांस्कृतिक पहिचानको सम्मान हुनुपर्नेमा जोड दिएको छ। साथै, ऐतिहासिक पहिचान र राजनीतिक अधिकार सुनिश्चित गर्ने उद्देश्यले प्रदेशको पुनःनामकरण गर्न प्रदेश सरकार र प्रदेशसभा सदस्यहरूलाई अपिल गरेको छ।

Related Articles

Back to top button