बसन्ता सम्बाहाङ्फेको ‘पालाम : हेन्जिला, मुक्सि नु परिक्हा’ विमोचन

काठमाडौं । लेखिका तथा अध्येता बसन्ता सम्बाहाङ्फेको पुस्तक ‘पालाम : हेन्जिला, मुक्सि नु परिक्हा’ (पालाम : परिभाषा, तत्त्व र प्रकारहरू) विमोचन गरिएको छ। लिम्बू पत्रकार संघ, काठमाडौं उपत्यका समितिको आयोजनामा असोज २२ गते काठमाडौंको अनामनगरस्थित युनियन हाउसमा पुस्तक विमोचन समारोह सम्पन्न भएको हो।
वरिष्ठ साहित्यकार तथा मुन्धुमविद् येहाङ् लावतीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा साहित्य, भाषा, संस्कृति तथा आदिवासी जनजातिका क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूको उपस्थिति थियो।
लेखिका सम्बाहाङ्फेका अनुसार पुस्तक दुई दशकभन्दा लामो अध्ययन, अनुभव, खोज तथा अनुसन्धानमा आधारित छ। लामो समयदेखि देखेका, सुनेका, पढेका र अनुभव गरेका विषयलाई अनुसन्धानसँग जोडेर पुस्तक तयार पारेको उनले बताएकी छन्।
विमोचनपछि सामाजिक सञ्जालमा आफ्नो अनुभूति सार्वजनिक गर्दै उनले पुस्तक प्रकाशनलाई लामो बौद्धिक यात्राले औपचारिक आकार पाएको महत्त्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरेकी छन्। यो उपलब्धि आफ्नो अध्ययन–अनुसन्धान यात्रामा साथ दिने गुरु, अग्रज, सहकर्मी, शुभेच्छुक तथा याक्थुङ समुदायप्रति समर्पित रहेको उनको भनाइ छ।
सम्बाहाङ्फेले पालामलाई गीतको रूपमा मात्र नभई याक्थुङ समुदायको जीवन, सम्बन्ध, सौन्दर्यबोध, सामुदायिकता र विश्वदृष्टिसँग जोडिएको मौखिक ज्ञानपरम्पराका रूपमा प्रस्तुत गरेकी छन्। पुस्तकले पालामलाई बुझ्न, अध्ययन गर्न तथा नयाँ पुस्तासम्म हस्तान्तरण गर्न योगदान पुर्याउने विश्वास उनले व्यक्त गरेकी छन्।

कार्यक्रममा प्राज्ञ सदस्य यासेली योङ्हाङ र लिम्बू भाषामा पहिलोपटक स्नातकोत्तर उपाधि हासिल गरेका सागर केरुङले पुस्तकको समीक्षा गरेका थिए।
समारोहमा किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष गोविन्द आङ्बुङ, नेपाल आदिवासी जनजाति महासंघका महासचिव बिमल सारु मगर, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका निमित्त प्रमुख राम मादेन तथा लोकवार्ताविद् प्रा.डा. कुलराज निरौलालगायतको उपस्थिति रहेको लेखिकाले उल्लेख गरेकी छन्। निरौला उनको स्नातकोत्तर तहको शोध निर्देशकसमेत हुन्।
त्यस्तै, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका संघीय महासचिव तथा चलचित्र पत्रकार संघका केन्द्रीय अध्यक्ष समिर बलामी, संघीय सांसद सचिवालयका सचिव बबिता मिश्र, सम्बाहाङ्फे उत्थान संघका उपाध्यक्ष धिरेन्द्र सम्बाहाङ्फे र याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालका कुलपति राजेन्द्रकुमार जबेगुलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा साहित्य र संस्कृतिप्रेमी सहभागी थिए।




