युके विशेष

गोर्खा नेपाली समाज मेडवेको ‘दशैं उत्सव २०२६’ सम्पन्न

परदेशमा दशैंको रौनक, स्वदेशका बाढीपीडितप्रति ऐक्यबद्धता

मेडवे, केन्ट — हिन्दुहरूको प्रमुख चाड बडादशैंको अवसरमा गोर्खा नेपाली समाज मेडवे (जीएनसीएम) ले शनिबार, १७ अक्टोबर २०२६ मा ‘दशैं उत्सव २०२६’ सम्पन्न गरेको छ।

केन्टको जिलिङ्घामस्थित ब्रम्पटन वेस्टब्रुक प्राइमरी स्कुलको सभाहलमा आयोजित कार्यक्रममा समुदायका अगुवा तथा स्थानीय बेलायती प्रतिनिधिहरू सहभागी थिए। सहभागीहरूले नेपालको भोटेकोशी र बुढीगण्डकी क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावितहरूप्रति दुःख व्यक्त गर्दै ऐक्यबद्धता जनाएका थिए।

सन् २००८ मा स्थापित गोर्खा नेपाली समाज मेडवे (Gurkha Nepalese Community Medway) ले केन्टको मेडवे क्षेत्रमा बसोबास गर्ने नेपालीहरूबीच भाइचारा, सांस्कृतिक संरक्षण र आपसी एकता सुदृढ गर्ने उद्देश्यले दशैं तथा तिहारलगायतका अवसरमा सामूहिक कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्षको दशैं उत्सव अपराह्न ४:३० बजे सुरु भई राति ११ बजेसम्म सांस्कृतिक तथा सांगीतिक प्रस्तुतिसहित सञ्चालन भएको थियो।

कार्यक्रमको सुरुवातमा महासचिव रोशन राईले सहभागीहरूलाई सुरक्षासम्बन्धी जानकारी गराएका थिए। प्राथमिक उपचारका लागि एनएचएसमा नर्सका रूपमा कार्यरत दुर्गा राई तथा सुरक्षा र आकस्मिक व्यवस्थापनमा कुमार गुरुङ र उत्तर पतङ्वा खटिएका थिए।

ध्वनि व्यवस्थापनको जिम्मेवारी सम्हालेका भूमिराज राईले नेपाल र बेलायतका राष्ट्रिय गान बजाएपछि प्रमुख अतिथि डेपुटी मेयर काउन्सिलर शेरोन ज्याक्सन, कार्यवाहक अध्यक्ष इन्डीसेन राई र ज्येष्ठ नागरिक जगबीर थापा मगरले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए।

सहकोषाध्यक्ष पुष्पा राईले स्वागत मन्तव्य राख्दै दशैंको महत्त्वबारे चर्चा गरेकी थिइन्। उनले दशैं खानपिन र रमाइलोमा मात्र सीमित नभई पारिवारिक पुनर्मिलन, आपसी सद्भाव, अग्रजको आशीर्वाद र सामाजिक सम्बन्ध प्रगाढ बनाउने अवसर भएको बताइन्। उनले यस पर्वलाई असत्यमाथि सत्यको विजयका रूपमा मनाइने पनि उल्लेख गरिन्।

संस्थाका अध्यक्ष ज्ञानेन्द्र राई व्यक्तिगत भ्रमणका क्रममा नेपालमा रहेकाले उपाध्यक्ष इन्डीसेन राईले कार्यवाहक अध्यक्षका रूपमा कार्यक्रमको अध्यक्षता गरेका थिए।

कार्यक्रममा डेपुटी मेयर शेरोन ज्याक्सन, रोचेस्टर एन्ड स्ट्रुड क्षेत्रकी लेबर पार्टी सांसद लरेन एडवर्ड्स, मेडवे काउन्सिलका नेता भिन्स मापल, काउन्सिलर ग्यारेथ माइलोन, संस्थाकी सल्लाहकार तथा पूर्वमेयर काउन्सिलर निना गुरुङ, पूर्वमेयर काउन्सिलर मारियन नास्ट्रोभ र उनकी पत्नी काउन्सिलर ल्युबोभ नास्ट्रोभलगायतको उपस्थिति थियो। अतिथि, नेपालबाट आएका पाहुना तथा नयाँ सदस्यहरूलाई कार्यवाहक अध्यक्ष र सहकोषाध्यक्षले खादा तथा ब्याज लगाइदिएर स्वागत गरेका थिए।

सोही अवसरमा शैक्षिक तथा खेलकुद क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गर्नेहरूलाई सम्मान गरिएको थियो। जीसीएसईमा आठवटा ए*, दुईवटा ए र एउटा बी प्राप्त गरेका रोशन राई तथा दिव्या राईका छोरा प्रतिक जङ राई र तीनवटा ए* तथा तीनवटा ए प्राप्त गरेका सोम राई तथा रोश्नि राईका छोरा संयम राईलाई प्रशंसापत्र प्रदान गरिएको थियो।

त्यस्तै, ए–लेभलमा कम्प्युटर साइन्समा ए*, गणित र भौतिकशास्त्रमा ए तथा फर्दर म्याथमा बी प्राप्त गरेका सृष्टि राई तथा भूमिराज राईका छोरा एरोज राईलाई पनि सम्मान गरिएको थियो। दुईवटा डिस्टिङ्सन र एउटा ए प्राप्त गरेकी चन्द्रावती राई तथा रामचन्द्र राईकी छोरी इभा राई र दुईवटा डिस्टिङ्सन* तथा एउटा ए प्राप्त गरेका ईश्वर चाम्लिङ तथा दिप्तिया राईका छोरा स्तम्भ राईलाई पनि उत्कृष्ट शैक्षिक उपलब्धिका लागि प्रशंसापत्र प्रदान गरिएको थियो।

२४ घण्टाभित्र ‘थ्री पिक्स च्यालेन्ज’ पूरा गर्ने शशिकला राई, आशा थापा र कृष्णा गुरुङ तथा ५० किलोमिटरको ‘केन्ट डाउन अल्ट्रा च्यालेन्ज’ पूरा गर्ने संस्थाका सल्लाहकार चेत थापालाई विशेष सम्मान गरिएको थियो।

सांस्कृतिक सचिव जयकला राईको संयोजनमा आयोजित सांस्कृतिक कार्यक्रममा सागर गुरुङ, नुवामी राई र सर्बिना मगरले ‘सयथरी बाजा एउटै ताल, सयथरी गोडा एउटै चाल’ गीतमा नृत्य प्रस्तुत गरेका थिए। दुर्गा राई, नुवामी राई र सर्बिना मगरले अन्य लोकप्रिय नेपाली गीतहरूमा समेत नृत्य प्रस्तुत गरेका थिए। सूर्यविक्रम राई, सुमित्रा राई र दृष्या राईलगायतले गीत प्रस्तुत गरेका थिए।

कार्यक्रमको मुख्य सांगीतिक आकर्षण ‘इन्टेक ९९’ का गायक मिलन गोम्जा लामा थिए। उनले ‘मनकामना केबलकार’ लगायत नेपाली तथा हिन्दी गीतहरू प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन दिएका थिए। मेडवे काउन्सिलका नेता भिन्स मापलले पनि ‘द बीटल्स’ को गीत प्रस्तुत गर्दै कार्यक्रममा थप रौनक थपेका थिए।

सहभागीहरूका लागि गोर्खा ब्रदर्स रेस्टुरेन्टले सेलरोटी, सुँगुरको मासुको भुटुवा, कुखुराको मासु, मासको दाल र खसीको मासुलगायतका परिकारको व्यवस्था गरेको थियो।

कार्यक्रमको अर्को आकर्षणका रूपमा रहेको राफल ड्र पुष्पा राई र शशि राईले सञ्चालन गरेका थिए। विभिन्न प्रायोजक तथा स्थानीय किराना पसल भारत स्टोर्सले उपलब्ध गराएका भौचर, नगद तथा अन्य पुरस्कार विजेताहरूलाई प्रदान गरिएको थियो।

औपचारिक कार्यक्रमको समापनमा कार्यवाहक अध्यक्ष इन्डीसेन राईले कार्यक्रम सफल बनाउन सहयोग गर्ने अतिथि, राफल पुरस्कारका प्रायोजक, कार्यसमितिका सदस्य तथा खानपान व्यवस्थापन टोलीलाई धन्यवाद दिएका थिए। उनले संस्थाले सञ्चालन गर्दै आएका वार्षिक गतिविधिबारे जानकारी दिँदै आगामी कार्यक्रमहरूको संक्षिप्त सूचना पनि प्रस्तुत गरेका थिए।

— भूमिराज राई

Related Articles

Back to top button