आदिवासीखेलकुद

जनजाति सङ्ग्रहालय अधुरै

गलकोट (बागलुङ), ३ जेठ : बागलुङको काठेखोला गाउँपालिकाले गौरवको योजनाका रुपमा रहेको जनजाति सङ्ग्रहालय छ वर्षदेखि अधुरै रहेको छ । विसं २०७५ देखि सुरु गरिएको काठेखोला–४ तङ्ग्रामस्थित जनजाति सङ्ग्रहालय बजेट अभावमा अधुरै रहेको छ ।

तङ्ग्राममा रहेका जनजातिको पहिचान, भाषा, वेषभूूषा र संस्कृतिलाई सङ्ग्रहित गर्ने उद्देश्यले जनजाति सङ्ग्रहालय निर्माणमा गाउँपालिकाले थालनी गरेको थियो । गाउँपालिकाबाट ‘एक वडा एक गौरवको योजना’अन्तर्गत हालसम्म झन्डै रु ५८ लाख रकम खर्च भइसकेको छ ।

अहिले सङ्ग्रहालयको एकतला भवनमात्रै निर्माण भएको छ । उक्त एकतला भवनले अझै पूर्णता पाउन नसकेको हो । बजेट अभावमा भवनमा झ्याल तथा ढोकासमेत राख्न सकिएको छैन ।

सङ्ग्रहालय निर्माणसँगै आन्तरिक र बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको भए पनि गाउँपालिकाले बजेट अभावका कारण समयमै निर्माण गर्न नसकेको गाउँपालिकाका प्रवक्ता टीका सङ्गम विकले बताउनुभयो ।

गाउँपालिकाको एक वडा एक गौरवको योजनाअनुसार पर्यटन तथा जनजाति सङ्ग्रहालय निर्माण थाले पनि चालु आर्थिक वर्षमा गाउँपालिकाले बजेट विनियोजन गर्न सकेको छैन ।

“गौरवको योजनाका रुपमा गाउँपालिकाले लिएको जनजाति सङ्ग्रहालयमा पछिल्लो समय गाउँपालिकाले बजेट राख्न सकेको छैन, प्रदेश सरकारसँग समन्वय भइराखेको छ, आगामी आर्थिक वर्षमा सके प्रदेशबाट नसके गाउँपालिकाबाट थोरै रकम भए पनि विनियोजन गरेर एक तला भवनलाई पूर्णता दिने योजनामा गाउँपालिका छ”, प्रवक्ता विकले भन्नुभयो, “गाउँपालिकाले नै रु ५८ लाख खर्चेको भवनलाई अलपत्र छाड्ने भन्ने हुँदैन तर बजेट अभावले ढिलाइ भएकै छ, आगामी वर्ष पूर्णता पाउँछ, त्यसपछि तला थप गर्ने अथवा सङ्ग्रहालय सञ्चालन गर्ने भन्ने विषयमा गाउँपालिकाले छलफल गर्छ ।”

जनजाति सङ्ग्रहालयका लागि गाउँपालिकाले २०७५ सालमा रु पाँच लाख, २०७६ मा रु २० लाख, २०७७ मा रु १३ लाख, २०७८ मा रु १५ लाख र २०७९ मा रु पाँच लाख गरी रु ५८ लाख खर्च गरिसकेको छ । सङ्ग्रहालयमा गाउँपालिकाभित्र बसोबास गर्ने विभिन्न जाति–जनजातिको पहिचान झल्कने सामग्री राखिने भए पनि सङ्ग्रहालय निर्माणमा ढिलाइ भएको स्थानीय नरबहादुर विकले बताउनुभयो ।

उहाँले सङ्ग्रहालय बनेपछि गाउँमा पर्यटक आउने र आर्थिकरुपमा जीविकोपार्जनमा समेत टेवा पुग्ने भए पनि भवनको छ वर्षसम्म निर्माण नसकिएको हो । सङ्ग्रहालयमा गाउँपालिकाभित्र बसोबास गर्ने जातजातिको वेषभूषा, संस्कृति, रीतिरिवाज, परम्परा झल्किने वस्तु राखिने र गाउँपालिकाका जनजातिको लोपोन्मुख भाषा, संस्कृति तथा सामग्रीलाई झल्काउन मद्दत गर्नेगरी निर्माण थालिएको थियो ।

Related Articles

Leave a Reply

Back to top button