समाचार
सांसद गुरुङको निलम्बन फुकुवा
काठमाडौँ, १२ वैशाख : सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङको निलम्बनसम्बन्धी निर्णय फुकुवा गरेको छ । सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयका अनुसार निलम्बनसम्बन्धी सर्वोच्च अदालतको उत्प्रेषणको आदेशद्वारा बदर गरिएसँगै सदस्य गुरुङको निलम्बन फुकुवा भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उहाँविरुद्ध भ्रष्टाचार निवारण ऐनबमोजिम विशेष अदालतमा मुद्दा दायर गरिएकोपछि निलम्बनमा पर्नुभएका सांसद गुरुङ् सर्वोच्च अदालतको आदेशसँगै फुकुवा हुनुभएको हो । मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङ् २०७९ पुस १२ गतेदेखि निलम्बनमा पर्नुभएको थियो ।
–––