समाचार
Trending

तल्लो फेदीबाट उपकरण फिर्ता

सेमुक्तुगाेक्/मुक्कुमलुङ बचाउ आन्दाेलनकारी र प्रहरीबीच झडप

२१ फेब्रुअरी, ताप्लेजुङ । हजारौं आन्दोलनकारीहरुले मध्यरातिसम्म ताप्लेजुङको सेमुक्तुगाेक्/मुक्कुमलुङ (पाथिभरा) क्षेत्रमा केबलकार बनाउने ठाउँमा घेरा हालेपछि मध्यराति केबलकार बनाउने टोली उपकरणसहित फर्किएको छ ।

ताप्लेजुङबाट आन्दोलनकारी सङ्गठनका नेता डकेन्द्र सिं थेगिमले दिएको जानकारी अनुसार मध्यराति पाथिभरादेवी दर्शन केबलकार प्रा.लिले जारी राखेको काम रोकेर डोजरसहितका उपकरण तथा कामदारहरु फर्काइएको हो । आज राति १०ः३० बजेपछि पाथिभरामा केबलकार बनाउन खटाइएको उपकरणसहितको टोली निर्माण स्थल छाडेको छ ।

सत्ताको दुरुपयोग गर्दै नेकपा एमालेको समर्थनमा उक्त स्थानमा सयौं प्रहरी र सशस्त्र प्रहरी खटाएर केबलकार बनाउन खोजिएको थियो । आईएमई ग्रुपले बनाउन खोजेको केबलकारका लागि करोडौं रुपैयाँ गुण्डागर्दी र सुरक्षाकर्मी परिचालनमै खर्च भइसकेको छ । यति हुँदा पनि नकसेपछि अन्ततः टोली आज मध्ये रातिबाट फर्किन बाध्य भएको आन्दोलनकारीमध्येका एक निश्चल चेम्जोङले बताए ।

ताप्लेजुङमा यसअघि शसस्त्र प्रहरीले गोली चलाउँदा तीन जना र गुण्डाहरुको खुकरी प्रहारबाट एक जना गरी चार जना गम्भिर घाइते भएका थिए । पाथिभरा केवलकार बनाउने नाममा सयौं लालिगुराँस काटेर जंगल बिनास गरेको र पाथिभराको पहिचान मास्न लागेको भन्दै हजारौं मानिसहरुले आज मार्च पास गरेका थिए । सो क्रममा हजारौं आन्दोलनकारीहरुले जंगलमा बसेर ढुंगामुढा गर्दै डोजरसहितका उपकरणमा आगो लगाउने तयारी गरेपछि शान्ति सुरक्षा काम गर्न नसकिने भन्दै सुरक्षाकर्मीहरु पनि पछि हटेको अवस्था छ ।

चौतर्फी बिरोध र शान्ति सुरक्षाको नाममा गोली चलाएर मान्छे मार्न नसक्ने अवस्था आएपछि मध्यरातिमा पाथिभरामा बनाउन लागेको केबलकार निर्माण रोकेर उपकरणसहित टोली फिर्ता भएको हो । हाल दुई वटा डोजरसहितका सामानहरु कामदार समेत फिर्ता भएका छन् ।

आन्दोलनकारीहरुले अब पनि बल जफ्ती गरेमा सबै सामान जलाएर खरानी बनाईदिने चेतावनी दिएका छन् ।

Related Articles

Back to top button