दशैं मान्न इन्कार गर्ने सहिदद्वय रामलिहाङ र रिदामाको सम्झनामा टीकाकै दिन विभिन्न स्थानमा स्मृतिसभा सम्पन्न
धनकुटा, २१ अक्टोबर २०२६ । आफ्नो संस्कृति र पहिचानको रक्षाका लागि दशैं मान्न इन्कार गर्ने सहिदद्वय रामलिहाङ र रिदामाको सम्झनामा दशैंको टीकाकै दिन स्मृतिसभा सम्पन्न भएको छ।
धनकुटा नगरपालिका–७ स्थित चुलिवन झुण्डडाँडामा आयोजित सभामा सहिदद्वयको प्रतिमामा माल्यार्पण गर्दै उनीहरूको योगदान र संघर्षको स्मरण गरिएको थियो।
इतिहासअनुसार, वि.सं. १९३३ मा तत्कालीन राणाकालीन शासकहरूले दशैं मनाउन उर्दी जारी गरेपछि त्यसको विरोध गर्दै दशैं नमान्ने अडान लिएका आठपहरिया समुदायका पुर्खा रिदामाहाङ र रामलिहाङलाई झुन्ड्याएर गोली हानी हत्या गरिएको थियो। उनीहरूलाई समुदायको संस्कृति, परम्परा र अस्तित्वका लागि सङ्घर्ष गर्ने सांस्कृतिक सहिदका रूपमा स्मरण गरिँदै आएको छ।
स्मृतिसभामा नेपाल आदिवासी जनजाति महासङ्घ धनकुटाका निवर्तमान अध्यक्ष सञ्जय सन्तोषी राई, फोनिज प्रदेश नं. १ का निवर्तमान अध्यक्ष सन्तवीर लामा, मंगोल नेसनल अर्गनाइजेसन डीजीजीका केन्द्रीय अध्यक्ष बिरलाल वालाहाङ राई, केन्द्रीय सचिव दिनेश बान्तवा राई, किरात आठपहरिया समाजकी अगुवा तथा पूर्वकेन्द्रीय अध्यक्ष सरकुमारी आठपहरिया, पत्रकार निमा पोङ्सुवा र भैरव आङ्लालगायतले मन्तव्य राखेका थिए।
वक्ताहरूले सांस्कृतिक सहिदहरूको बलिदानलाई स्मरण गर्दै उनीहरूको इतिहास, योगदान र पहिचानको सङ्घर्षलाई संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा विभिन्न पहिचानवादी सङ्घसंस्थाका अगुवा तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
आदिवासीहरूमध्ये आफ्नै संस्कार, संस्कृति र पोसाकमा दृढ रहने जातिमा आठपहरिया पर्दछन्। आठपहरिया महिलाले लगाउने मेख्ली, छिटासिन र पुरुषले लगाउने हाङचाङ, तागाबा सुरक्षित रहेका थिए।

किरात आठपहरिया समाज नेपालले सन् २०२० देखि धनकुटाको चुलीवनमा दशैंको टीकाकै दिन निरन्तर स्मृतिसभा गर्दै आएको छ। यस वर्ष छैठौ वर्ष हो। यस वर्ष धरान र युकेमा पनि कार्यक्रम भएका छन्। नेपालीसमाचार डटकमले सन् २०१९ मा युकेको आसफोर्डमा स्मृतिसभा सुरु गरेको थियो। त्यसपछि धनकुटासँगको समन्वयमा धनकुटामा कार्यक्रम सुरु भएको हो।
विगत केही वर्षदेखि दशैं परित्याग तथा मौलिक चाड संचेतना मञ्चले जानकारीमूलक अपिल जारी गर्दै आएको छ भने यस वर्ष टिकटक लाइभमा पनि पटकपटक छलफल चलेको थियो। सांस्कृतिक औपनिवेशीकरणले आदिवासीहरू शोषणमा परेका र उन्मुक्तिका लागि आफ्नै चाड मनाउनुपर्ने आम धारणा रहेको छ।
आठपहरिया समाजको पहलमा धनकुटा नगरपालिकाको बजेटबाट करिब एक लाख रुपैयाँको लगानीमा धनकुटाको चुलीवनमा सहिद रामलिहाङ र रिदामाको मूर्ति निर्माण गरिएको छ। सोही स्थानमा प्रत्येक वर्ष स्मृतिसभा हुँदै आएको छ।







