लेख

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

राजु सिलवाल
काठमाडौँ, १८ साउन (रासस)ः विश्वमा तीव्र गतिको आरोहणमा विशिष्ट पहिचान बनाउन सफल निम्स दाइको नामले परिचित कीर्तिमानी आरोही निर्मल पुर्जासहित नेपाली तथा अन्य मुलुकका १० पर्वतारोहीको पाकिस्तानस्थित ‘ब्रोड पिक’ हिमालमा हिमपहिरोमा परी दुःखद निधन भएपछि हिमालमा सुरक्षासम्बन्धी सन्दर्भ बहसको विषय बन्न पुगेको छ । निर्मल पुर्जाका सहयात्री पुरबहादुर गुरुङ युक्ताले सगरमाथा १० पटक आरोहण गर्नुका साथै विश्वका आठ हजार मिटर अग्ला १२ वटा हिमाल चढिसकेका थिए । यसपालि पनि हिमालमा ज्यानको बाजी थाप्दै कठोर परिस्थितिको सामना गर्दै आएका यी साहसीको प्रकृतिका अघि कुनै जोर चलेन । यो घटनाले विश्वमै हिमाली गतिविधिको केन्द्र मानिएको नेपाल जस्तो मुलुकलाई अझ बढी क्षति पु¥याएको छ ।

विगतमा झण्डै आठ वर्ष लगाएर विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालको आरोहण गरी दक्षिण कोरियाका किम चाङ होले बनाएको विश्व कीर्तिमान छ महिना छ दिनमै भङ्ग गर्न सफल आरोही निर्मल पुर्जाका लागि आठ हजार ४७ मिटर अग्लो ब्रोड पिक हिमाल कुनै नौलो थिएन । उनले १० नेपालीसँगै हिउँदमा पहिलोपटक विश्वको दोस्रो अग्लो शिखर के टू हिमाल चढेर विश्व कीर्तिमान स्थापित गरेका थिए । उनले अन्य थुप्रै विश्व कीर्तिमानहरु समेत बनाइसकेका छन् । त्यस्ता अनुभवी पर्वतारोहीको हिमालमै अवसान हुनु सामान्य प्रसङ्ग होइन । सोही दुर्घटनामा अन्य अनुभवी आरोहीले पनि हिमालमै प्राण त्याग्नु परेको थियो ।

नेपालका हिमालहरु कैयौं दशक अघिदेखि नै विश्वभरिका पर्वतारोही तथा साहसिक पर्यटकहरुका लागि आकर्षक गन्तव्य बन्दै आइरहेका छन् । हरेक वर्ष हजारौं स्वदेशी तथा विदेशी आरोहीहरु विश्वको सर्वोच्च शिखर तथा अन्य विभिन्न हिमाल आरोहणमा संलग्न हुने गरेका छन् । पर्वतीय पर्यटनबाट मुलुकले उल्लेखनीय आर्थिक लाभ प्राप्त गरिरहेको छ तर हिमालप्रतिको बढ्दो आकर्षणसँगै हिमाली क्षेत्रमा दुर्घटनामा परेर कैयौँ पर्वतारोहीले ज्यान गुमाएका छन् । गत वसन्त ऋतुमा सगरमाथा र मनास्लु हिमालमा गरी सात जनाको निधन भएको थियो । यस्तै मौसमजन्य जोखिम, उद्धारको चुनौती र उचित सुरक्षा व्यवस्था पनि गम्भीर मानिएका छन् । हिमाललाई सुरक्षित गन्तव्यका रुपमा स्थापना गर्न जोखिमप्रतिको सचेतता तथा प्रभावकारी सुरक्षा प्रणाली अपरिहार्य बनेको छ ।

सुरक्षाका उपायहरु

हिमालमा पर्वतारोहीको सुरक्षाका लागि योग्यता र अनुभव महत्वपूर्ण मानिएको छ । पर्वतारोहीले पर्वतारोहणसम्बन्धी तालिम अनिवार्य रुपमा हासिल गरेको हुनुपर्ने तथा निश्चित उचाईका हिमाल आरोहण गरेपछि मात्र उच्च हिमाल चढ्ने अनुमति दिने व्यवस्था हुनु आवश्यक छ । प्रस्तावित पर्यटन विधेयकमा सगरमाथा आरोहणका लागि सात हजार मिटरभन्दा अग्लो कुनै नेपाली हिमाल आरोहण गरेको प्रमाणपत्र अनिवार्य रुपमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । आरोहण अनुमति पाउन स्वास्थ्य अनुमतिपत्र पनि अनिवार्य गरिएको छ ।

मौसमको भरपर्दो पूर्वानुमानको व्यवस्था, गुणस्तरीय उपकरणको प्रयोग पनि महत्वपूर्ण मानिन्छ । खोज तथा उद्धार टोलीलाई चौबिसै घण्टा सजग राख्दै सञ्चार प्रणालीलाई प्रभावकारी बनाउनुपर्छ । यस्तै सरकारी नीति नियम लागू गर्न सम्बन्धित निकायको सक्रियता पनि आवश्यक पर्दछ । यसक्रममा सुरक्षा मापदण्ड पालना नगर्नेलाई तत्काल कारबाही गर्न पछि पर्न हँुदैन ।

‘ट्राफिक जाम’को सन्दर्भ

सगरमाथामा बेलाबखत ‘ट्राफिक जाम’ अर्थात् एकैपटक धेरै आरोहीहरुको भीड हुने गरेको सन्दर्भ पनि उठ्ने गर्दछ । एकै समयमा सगरमाथाको शिखरतर्फ प्रस्थान गर्ने मार्गमा आरोहीहरु भीड लागेको तस्बिर सार्वजनिक भएका छन् । यसै क्रममा सगरमाथालगायतका हिमालको बहन क्षमताबारे पनि चर्चा हुन थालेको छ । गत वसन्त ऋतुमा सम्पन्न पर्वतारोहण गतिविधि सम्बन्धमा केही दिनअघि आयोजित समीक्षात्मक छलफलमा सगरमाथालगायतका हिमालमा एकै याममा कति आरोहीलाई आरोहण गराउन सकिन्छ गहिरो र यथार्थपरक अध्ययनको आवश्यकता रहेको औँल्याइएको थियो ।

हिमालमा व्यवस्थापन गर्ने विषयमा विज्ञहरु भूगर्भविद्लगायतको सल्लाह र सुझावमा राज्यले नीति स्पष्ट पार्नुपर्ने अवस्था देखिएको छ । सगरमाथामा निर्धारित समयभित्र ‘रोप फिक्सिङ’ गरी शिखरसम्म जाने बाटो खुल्ला गर्न सकिएमा जति धेरै आरोही भए पनि फरक नपर्ने धारणा पनि सो कार्यक्रममा व्यक्त भएको थियो । हिमाल आरोहणबाट सरकार तथा व्यवसायी एवं श्रमिकहरुलाई फाइदा हुने हुँदा यसलाई ट्राफिक जामसँग तुलना गर्न नहुने तर्क पनि रहेको छ ।

हेलिकोप्टरको तयारी

विदेशी आरोहीहरु विभिन्न कीर्तिमान कायम गर्ने लक्ष्यका साथै सुरक्षित हिमाल आरोहणका लागि नेपाल आउन गरेका छन् । नेपालका अनुभवी तथा भरपर्दा पथप्रदर्शकहरु विदेशी आरोहीहरुका लागि प्रमुख आकर्षण बन्दै आएका छन् । नेपालमा आरोहण गर्न आउँदा हिमालमा २३ हजार फिटसम्म कुनै आपत्कालीन अवस्था परेमा हेलिकोप्टरबाट पनि उद्धार गर्न सकिने व्यवस्था भएकाले आरोहण अभियान सञ्चालनकर्ताहरु ढुक्क हुने गरेका छन् । हिमाली भेगमा हेलिकोप्टरबाट उद्धार गरिने ‘लाइफलाइन रेस्क्यू’का लागि सीमित मात्रामा भए पनि उपकरण तथा जनशक्तिको उपलब्धताले पर्वतारोहीहरुलाई राहतको अनुभूति गराउने गरेको छ ।

विदेशमा यस्तै उद्धार गरिँदा पचासौँ हजार डलर लागत पर्नेमा नेपालमा सुलभ मूल्यमा उद्धार गर्न सकिने अवस्था रहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरमा दुईजना पाईलटको व्यवस्था गरेपछि हेलिकोप्टरको क्षमता भएतापनि १८ हजार फिटभन्दा माथि एकजनाको मात्र उद्धार गर्न पाउने अवस्था रहेको छ ।

हिमालमै ज्यान गुमाएकाहरु

हिमालमा आरोहणका क्रममा निधन भएका आरोही तथा अन्य सहयोगीहरुको शव अहिले पनि विभिन्न हिमालमा देख्न सकिन्छ । शव उठाउने काम पनि उद्धार नै भएकाले त्यसलाई सहज बनाउनुपर्ने देखिएको छ । यसका लागि स्पष्ट नीतिको आवश्यकता महसुस गरिएको छ । सर्वोच्च अदालतले सगरमाथाको दोस्रो शिविरभन्दा माथिबाट हेलिकप्टरले मानवीय उद्धार मात्र गर्ने गरी आदेश दिएकाले मृतक आरोहीको शव ल्याउन कठिनाई भइरहेको छ । मृत शरीरलाई बेग्लै ढाँचा वा इन्सुरेन्सको प्याकेजबाट ल्याउन पहल गर्नु आवश्यक देखिएको छ ।

घट्दो पथप्रदर्शक

नेपालका हिमालप्रति आकर्षित भएर आउने विदेशी आरोहीहरुको सङ्ख्या बढे पनि त्यस्ता आरोहीलाई हिमाल चढ्दा बाटो देखाउने नेपाली पथप्रदर्शकहरुको सङ्ख्या भने दिनहुँ घटिरहेको छ । नेपाली युवाहरुको विदेशप्रतिको आकर्षणले पर्वतारोहण क्षेत्रमा पनि जनशक्ति घट्दै गएको छ । हिमालमा विभिन्न पेसामा काम गरी विदेश गएकाहरु कैयौँ अन्य पेसामा समेत आबद्ध हुन पुगेको अवस्था रहेको छ भने केही नेपाली पथप्रदर्शकले विदेशका विभिन्न हिमालमा आरोहीहरुलाई मार्गनिर्देशन गर्ने कार्य गर्दै आइरहेका छन् । आगामी दिनमा पर्वतीय पथप्रदर्शकलगायत हिमालमा काम गर्ने अन्य श्रमिकहरु उचित मात्रामा उत्पादन गरेर यो क्षेत्रमा विदेशी श्रमिक भित्रिनसक्ने सम्भावनालाई रोक्नुपर्ने आवश्यकता महसुस गरिएको छ ।

धेरैपछि तालिम सञ्चालनको पहल

नेपाल पर्वतारोहण सङ्घले लामो समयदेखि पर्वतारोहीहरुका लागि आधारभूत र एडभान्स (विशिष्टीकृत) प्रशिक्षण प्रदान गर्दै आइरहेको थियो । हिमाल चढ्न अभिरुचि राख्नेहरुका लागि ती तालिमहरु अत्यन्त उपयोगी सावित मानिन्थ्यो तर कोभिड महामारीको विश्वव्यापी प्रकोपपछि यस्ता तालिम पुनः सञ्चालन हुन सकेका छैनन् । यसको असर पर्वतारोहणमा समेत पर्न गएको छ । यस्ता प्रशिक्षण नियमित रुपमा सञ्चालन गर्न सरकारले पनि सघाउनुपर्ने देखिएको छ । विगतमा मनाङमा रहेको पर्वतारोहण प्रशिक्षण स्कुलमा यस्ता तालिम दिने गरिएको थियो । त्यो स्कुलको भवन जीर्ण भएकाले पुनःनिर्माण गरेर फेरि तालिम सञ्चालन गर्न आवश्यक तयारी गरिएको छ । यो वर्ष एउटा तालिम सञ्चालन गरिने लक्ष्य राखिएको छ ।

नेपालका हिमालहरु राष्ट्रिय गौरवका आधार हुन् तर हिमालप्रतिको आकर्षणलाई मात्र केन्द्रविन्दुमा राखेर यसको दिगोपन सुनिश्चित हुन सक्दैन । बढ्दो आरोहण गतिविधिसँगै आरोही तथा आरोहणमा संलग्न अन्य सहयोगीहरुको सुरक्षाप्रति सचेत हुनु अत्यावश्यक देखिएको छ । संसारका विभिन्न मुलुकबाट नेपाललाई रोज्दै हिमाल चढ्न आएका आरोहीहरुलाई साहसिक अभियान सम्पन्न भएपछि सकुशल घर फर्काउने जिम्मेवारी समग्रमा नेपालकै हो ।

यस्तै आफ्नो ज्यान समेत जोखिममा राखेर अतिथिलाई सघाउँदै आएका साहसी नेपाली सहयोद्धाको सुरक्षा पनि त्यति नै महत्वपूर्ण हुन्छ । यसैले जिम्मेवार पर्यटन संस्कृतिलाई महत्व दिनु समयको माग हो । हिमालले अवसर मात्र नभई जिम्मेवारी पनि साथै ल्याउने तथ्यलाई सबै सरोकारवालाले आत्मसात् गर्नसके मात्र हिमाली पर्यटन सुरक्षित र दिगो बन्न सक्दछ ।

Related Articles

Back to top button