पत्रकार महासंघको बैदेशिक शाखाहरुको विवाद यसरी समाधान गर्न सकिन्छ
नेपाल पत्रकार महासंघको वैदेशिक शाखाहरुको विवाद महासंघ केन्द्रीय समितिको सधै टाउको दुखाईको विषय हुने गरेको छ । कतिपय साच्चि नै सम्बोधन गर्नुपर्ने विवाद आईपुग्छन भने कतिपय अनावश्यक पनि आईपुग्छन् । विवादको भर्याङ बनेको हुन्छ पार्टीगत पत्रकार संगठन । यहा हेरौः किन र कस्ता विवाद, कुन आवश्यक कुन अनावश्यक । पार्टीगत पत्रकार संगठनको भूमिका र सिंगो पत्रकार महासंघको संरचना ।
वि.सं. २००८ बैशाक ९ गते गठन भएको नेपाल पत्रकार संघको निरन्तरताका रुपमा महासंघ रहेको छ । वि.सं. २०५३ जेठ २९ मा संघलाई महासंघमा रुपान्तरण गरिएको हो । विभिन्न १० वटा पत्रकार संघको आबद्धताले महासंघ अर्थात नेपाल पत्रकार महासंघ बनेको हो । ति संघहरु– खेलकुद पत्रकार मन्च, चलचित्र पत्रकार संघ, चलचित्र समिक्षक समाज, पत्रकारिता विकास समाज, पत्रकारिता अनुसन्धान तथा तालिम समाज, कार्टुनिष्ट क्लव नेपाल, अनलाईन पत्रकार संघ, फोटो पत्रकार क्लव नेपाल, पर्यटन पत्रकार संघ, नेपाल पत्रकार मन्च हुन् ।
६ दशकभन्दा लामो इतिहास बोकेको महासंघमा पत्रिका, रेडियो, टिभी, अनलाइन र स्वतन्त्र सहित १३ हजार भन्दा बढी पत्रकारहरु आवद्ध छन् । प्रत्येक ३ बर्षमा प्रत्येक्ष निर्वाचनबाट यसको नेतृत्व चयन गर्ने प्रचलन रहेको छ । निर्वाचनमा प्रत्येक सदस्यले आआफ्नो तोकिएको मतदान केन्द्रमा शसरिर पुगेर मतदान गर्ने गरेका छन् तर वैदेशिक शाखाका सदस्यहरुले भने सो मतदानमा सहभागी हुन पाउदैनन । वैदेशिक शाखा अहिले जम्मा ९ वटा मुलुकमा रहेका छन् । ति हुन युके, यूरोप, जापान, कोरिया, कतार, युएई, हङकङ, कुवेत र मलेशिया ।
वैदेशिक शाखाहरुबाट सम्भवतः सबैभन्दा धेरै समस्या केन्द्रमा पुग्ने गरेको छ । चुनाउको बेला भोट समेत दिन नपाउने, अर्थात भोट प्राप्त नहुने शाखाहरुको अनगिन्ति समस्यामा अल्मलिएर समय बर्बाद गर्न केन्द्रीय समिति ईच्छुक देखिन्दैन । समस्या कसरी पुग्छ त केन्द्रमा? प्रत्येक राननीतिक पार्टीको पत्रकार संगठन रहेको छ । तिनै राजनीतिक संगठनको पत्रकार संगठन मार्फत भर्याङ् लगाएर केन्द्रमा पुग्ने गरेका छन् ।
कसरी राजनीतिक संगठन मार्फत समस्या केन्द्रमा पुग्दछ भन्ने बुझ्नको निमित्त प्रत्येक राजनीतिक पार्टीको पत्रकार संगठनको ज्ञानहुन जरुरी हुन्छ । नेपाली काँग्रेस सम्बद्ध प्रेस युनियन नेपाल, नेकपा एमाले निकट प्रेस चौतारी नेपाल, नेकपा माओवादी निकट प्रेस सेन्टर नेपाल, जनता समाजवादी पार्टी निकट प्रेस मन्च नेपाल लगायतका रहेका छन् ।

पार्टीमा आस्था राख्ने पत्रकारहरुले आफ्नो अनुकुल हुदा चुपचाप रहने र आफ्नो प्रतिकुल हुदा अनेक बाहानामा यो भएन त्यो भएन भनेर केन्द्रमा पार्टीगत पत्रकार संगठन मार्फत पुर्याउने गर्दछन् । कसरी पुग्दछ त समस्या केन्द्रमा भन्दाखेरी नेपाल पत्रकार महासंघको पदाधिकारीहरु काँग्रेस, एमाले, माओवादी लगायतको संगठनबाटै पुगेको हुने भएकोले तिनै पदाधिकारीहरुले समस्या दर्ज गरेका हुन्छन ।
महासंघ केन्द्रलाई जम्मा जिल्ला शाखा – ७६ वटा, प्रतिष्ठान शाखा – ४२, एसोसियट सदस्य – ११, प्रदेश परिषद – १०, प्रदेश समिति – १०, केन्द्रीय परिषद, केन्द्रीय समिति लगायतलाई ब्यवस्थापन साथै सरकारको प्रत्येक नीतिनियम तथा सरकारी क्रियाकलापमा सहयोग गर्नुपर्ने दायित्वले उनीहरुलाई बैदेशिक शाखाहरुको समस्यामा अल्मने समय छैन ।
पत्रकार महासंघको बैदेशिक शाखाहरुमा अत्यधिक समस्या चुलिएको बखत यसको विकल्प के हुनसक्छन त? नेपाल देखि बाहिर रहने नेपालीहरुले विभिन्न ८७ मुलुकमा गैर आवासीय नेपाली संघ स्थापना गरेको पाईन्छ भने नेपाल पत्रकार महासंघको शाखाहरु पनि अत्यधिक बन्न सक्ने देखिन्छ तर थोरै देशहरुमा शाखाहरु छन् र केही देशमा त्यहि देशमा गठन भएको नेपाली पत्रकारहरुको संगठनलाई आबद्धता दिएको दृष्टान्तहरु पनि छन् । मेमोरेन्डम अफ अन्डरस्टण्डिङ (एमओयु) गरिसके पछि आबद्धता भएको संस्थालाई पनि शाखा सरह अधिकार प्रदान गर्न सकिन्छ ।
अमेरिकामा रहने नेपाली पत्रकारहरुको संगठन अमेरिका जर्नालिष्ट एशोसिसन (नेजा) र अष्ट्रेलियन नेपलिज जर्नालिष्ट एशोसिसन (अन्जा) लगायतले एमओयु मार्फत आबद्धता लिएका छन् । नेजा र अन्जा संगठन सार्वभौम, स्वतन्त्र रहन्छ । ति संगठन भित्र भएका समस्याहरु त्यहि संगठन भित्र समाधान हुनेगर्छ पत्रकार महासंघको केन्द्रमा पुग्दैन । यो अनुभव निक्कै उपयोगी देखिन्छ भने कानुनी रुपबाट पनि यो आबद्धताको प्रचलन आवश्यक देखिन्छ । नेपाल पत्रकारको सदस्य बन्नको लागि नेपाली नागरिक भएको हुनुपर्ने महासंघको विधान २०६० (पाँचौ संशोधन २०७५) धारा ५ (क) उल्लेख छ । विदेशमा स्थायी प्रकृतिको बसोबास रहेको युके, युरोप (बेल्जियम, नेदरल्याण्ड, डेनमार्क लगायत युरो मुलुकहरु), अमेरिकामा रहदै आउनु भएका पत्रकारहरुले त्यहि देशको नागरिकता लिईसक्नु भएकोले, त्यहि देशमा स्थायी बसोवासको डकुमेन्ट लिईसकेको कारण उनीहरु नेपाल पत्रकार महासंघको सदस्य बन्न अयोग्य देखिन्छ तसर्थ पत्रकार रहदै आएको मुलुकको कानुनअनुकुल नेपाली पत्रकार संगठन बनाई वा शाखा बनि सकेको भएमा आबद्धतामा रुपान्तरण गर्नु सबैभन्दा उत्तम विकल्प देखिन्छ ।
पत्रकारितालाई राज्यको चौथो अंगको रुपमा लिईन्छ । नेपाल पत्रकार महासंघ नेपाल सरकारसँग मिलेर काम गर्ने अभिन्न अंग हो । यो महासंघ नेपाल सरकार अन्तर्गत दर्ता भएको छ तसर्थ यसको कार्यक्षेत्र भनेको नेपाल सिमा भित्र मात्र हो । नेपालको सिमाना भन्दा बाहिर कति हदसम्म काम गर्न सक्दछ अर्थात क्षेत्राधिकार हुनसक्छ छुट्टै बहसको विषय हुनसक्छ तर जुन मुलुकमा रहेको हो त्यहि मुलुकको कानुन पालना गर्नु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास हो । त्यसैले पनि शिधै काठमाडौंबाट निर्देशन एवं संचालन हुने संगठन अन्य मुलुकमा संचालन गर्नु अवैधानिक ठहर्छ । नयाँ प्रविधि, यातायातको सुविधा र ट्रयाकिङ सहजताले विश्व नै कस्मोपोलिटियन एक गाँउ बनेको छ । विश्वको कुनैपनि कुनामा बसेर खराब स्टाटस मात्र लेख्यो भने तुरुन्त पक्राउ गर्न सकिन्छ भने देशको सिमानाको महत्व घट्दो होला तथापी संघसंस्थाको क्षेत्राधिकार तोकिने परम्परा पुरानै रहेको छ ।
महासंघको विधानको धारा ५ (३) ले हरेक वर्षको चैत्र मसान्तभित्रमा सम्बन्धित शाखामा सदस्यता नवीकरण गराउनुपर्नेछ, भनिएकोले परदेशमा आफ्नो पेशा गर्दै पत्रकारिता गर्नेको निमित्त निक्कै चुनौती पनि हुने भएकोले शाखाको रुपमा भन्दा आबद्धता लिनु वान्छानीय देखिन्छ ।
अर्कै देशमा रहेर नेपाल पत्रकार महासंघको सदस्यता बोक्नु कति सान्दार्भिक छ भन्ने पनि सवाल उठन सक्छ । नेपाल पत्रकार महासंघ अन्तर्राष्ट्रिय पत्रकार संजाल ईन्टरनेशनल फ्रिडम अफ जर्नालिष्ट (आईएफजे) र ईन्टरनेशनल फ्रिडम अफ एक्सप्रेसन एक्सचेन्च (आईएफएईएक्स) को पूर्ण सदस्य भएकोले युके र युरोपमा भएका पत्रकार महासंघको सदस्यहरुले आईएफजे को कार्ड आईएफजेको केन्द्रीय कार्यालय पेरिसबाट प्राप्त गर्दै आएको छ । सम्भवतः पत्रकार महासंघको शाखा र शाखाको सदस्य हुनुको मुख्य फाइदा यहि हुन सक्दछ । यदि पत्रकार महासंघको शाखाबाट आबद्धता लिएको संस्थाको रुपमा रुपान्तर हुने र त्यो आबद्धता भएको संस्थाको सदस्यले पनि आईएफजे को सदस्य कार्ड पाउन सक्छ भने नेपाल पत्रकार महासंघ युके, युरोपले आबद्धता भएको संस्थामा रुपान्तरण हुनु कुनै साईत पर्खनु हुर्दैन ।
महासंघको विधानको धारा २८ शाखाको गठन (६) अन्तर्गत– विदेशमा वैधानिक रूपमा रहेका नेपाली पत्रकारहरूले गठन गरेको संस्थालाई बैदेशिक शाखाको मान्यता दिइनेछ । त्यस्तो शाखाका अध्यक्षले र अध्यक्ष उपस्थित हुन नसक्ने अवस्थामा कार्यसमितिको निर्णय बमोजिम एक जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुन पाउने छ । भनिएको हुदा यो बुंदाले शाखा र आबद्धता लिएको संस्था बीच समानता देखाउछ कारण पत्रकार महासंघको बैदेशिक शाखाको प्रतिनीधिले महाधिवेशनमा सहभागी जनाउन पाउछ तथापी मतदान गर्न पाउदैनन् । यो बुंदाले शाखा र आबद्धतालाई एकै बर्गमा राखेको छ ।
ख्याल गर्नुपर्ने चाहि एक देशमा एउटै मात्र नेपाली पत्रकार संगठनसँग आबद्धताको सम्झौता गर्नु पर्दछ । आबद्धताको प्रावधानले दुबै तर्फ महासंघ केन्द्र र विदेश स्थितको पत्रकार संगठन कानुनी रूपबाट पनि सहि क्षेत्राधिकार भित्र रहने छन । विदेशमा रहेका पत्रकार, अर्धपत्रकारले विदेश घुमाउन ल्याउछु, कुनै आकर्षक वस्तु ल्याईदिन्छु, ठूला नेतालाई सोसफोर्ष गरिदिन्छु आदि अवान्छित कार्यहरू बन्द हुनेछन भने पत्रकार महासंघले यो कदम तुरून्त किन चाल्ने?
अन्तमा, आबद्धता रहेको संस्था स्वतन्त्र र सार्वभौम रहने । ति संस्था भित्रको आन्तरिक समस्या पत्रकार महासंघको केन्द्रमा नपुग्ने तर शाखाकै रुपमा रहदा शाखा भित्रको आन्तरिक समस्याहरु आवश्यक अनावश्यक केन्द्र पुग्ने भएकोले यो महासंघ केन्द्रको ठूलो टाउको दुखाईको विषय बनेको सन्दर्भमा देश बाहिरको शाखाहरुलाई आबद्धतामा रुपान्तरण गर्ने, अर्कै नाम खोले पनि हुने वा लोगो र नाम चलाउन दिएपनि हुन्छ तर विदेशका प्रत्येक शाखाले एमओयु गर्नुपर्ने र गराउन पर्ने प्रावधान सधैको लागि सबैको लागि कल्याण हुने देखिन्छ । वैदेशिक शाखाको सम्बन्धमा दलगत पत्रकार संगठनहरूको अनावश्यक रडाको समेत समाप्त हुने थियो ।
लेखकः नेपाल पत्रकार महासंघ युकेका सचिव हुन ।




