बौद्ध थेरावादी परम्परा अनुसार आश्विन शुक्ल पुर्णिमालाई पवारणा पुर्णिमा भनिन्छ | पवारणा ‘ शब्दको उत्पत्ति ‘पवर ‘ शब्दबाट भएको हो, जसको अर्थ उत्सव हो। संस्कृत, नेपाली र हिन्दीभाषामा ‘पवर’ लाई पर्व पनि भनिन्छ । यो भिक्खु, भिक्खुनिहरुको बर्षावासको अन्त्यसँग सम्बन्धित छ। यस बर्षावासको अन्त्यको उत्सव मनाउन भिक्खु, भिक्खुनिहरु एक अर्कालाई निमन्त्रणा गर्छन्, जसलाई पवारणा भनिन्छ। अर्को शब्दमा भन्ने हो भने पवारणा शब्दको अर्थ निमन्त्रणा हो ।
आश्विन पूर्णिमाका दिन मनाइने यो पर्वमा भिक्खु, भिक्खुनिहरुको बर्षावासको अन्त्य हुन्छ । त्यसैले आश्विन पूर्णिमाको दिनलाई पवारणा दिवस पनि भनिन्छ, जसको अर्थ निमन्त्रणा दिने दिन हो । निमन्त्रणा दिनेलाई ‘पवरति’ भनिन्छ र जसलाई निमन्त्रणा प्राप्त हुन्छ उसलाई ‘पवारिता’ भनिन्छ। यस दिन भिक्खु, भिक्खुनिहरुले आफ्ना श्रद्धेय गुरु( महास्थविर, स्थविर ) हरु को सामुन्ने बर्षावासको बेला आफुबाट कुनै गल्ती भएको उक्त दोष स्वीकार गर्छन र आफ्नो बर्षावासको क्रममा भएका सबै गतिविधिहरूको रिपोर्ट पनि गर्छन यदि कुनै गल्ती छ भने क्षमा याचना गर्दछन |
पवारणा पुर्णिमा भिक्षु, भिक्षुनीहरुको वर्षवास ( एकठाउमा बसेर धार्मिक अभ्यास गर्ने समय ) समापन को दिन हो | यस दिन बौद्ध धर्मावलम्बीहरूले बौद्ध भिक्षुहरू सम्मिलित संघलाई वस्त्र, भोजन र उपहारहरू चढाउनुका साथै दिपावली, बुद्ध पूजा र ध्यानको अभ्यास गर्दछन्। बौद्ध विहारहरू सजाइएका हुन्छन, आफ्नो क्षमताअनुसार बौद्ध समुदायले धम्मोत्सवको आयोजना गर्छन् ।
पाली भाषामा वर्षावासलाई वस्सावास भनिन्छ | वर्षावासको अर्थ वर्षायाममा कुनै एक स्थानमा चारमासको अबधीभर बिहार गर्नु वा बस्नु भन्ने हुन्छ | बौद्ध परम्पराअनुसार आषाढ महिनाको पूर्णिमाका दिन बाट शुरु हुने वर्षावास आश्विन महिनाको पूर्णिमाका दिन समाप्त हुन्छ । उपसंपदा संपन्न भिक्खुहरुलाई श्रद्धावान बौद्ध उपासक, उपासिकाहरुले वर्षावासको लागि निमन्त्रणा गर्छन्, वा भिक्षुले आफ्नो भौतिक परिस्थितिको आधारमा स्थान छनौट गर्न सक्छन र उक्त स्थान वा जंगलको मालिकको अनुमति लिएर आफ्नो वर्षावास बस्न सक्छन |
बौद्ध धर्ममा वर्षावासको ठूलो महत्व छ । यसको सुरुवात भगवान बुद्धले ज्ञान प्राप्तिपछि गर्नु भएको थियो । यो वर्षायामको तीन महिनाको अबधी भिक्षु, भिक्षुणीहरु एकै स्थानमा अधिस्थान लिएर बस्दछन | यो आषाढ पूर्णिमाको दिन सुरु भएर आश्विन पूर्णिमामा समाप्त हुन्छ । बुद्धको समयमा उँहाले सबै भिक्षुहरूलाई धर्म फैलाउन निर्देशन दिनु भएको थियो, सबै भिक्षुहरु यस कार्यमा लागेका थिए तथापि, उनीहरूले विभिन्न चुनौतीहरूको सामना गर्नुपऱ्यो, विशेष गरी मनसुनको मौसममा नदीहरूमा बाढी आउने,बाटोमा सर्पहरुले डस्ने, खेतको बाटो हिड्दा बालीनालीमा क्षति पुग्ने भएकाले त्यसअबधीमा तथागत बुद्धले आषाढ पूर्णिमादेखि आश्विन पूर्णिमासम्म सबै भिक्षुहरू एकै ठाउँमा बस्ने, धर्मको अध्ययन र ध्यानमा केन्द्रित हुने र भिक्षाका लागि गाउँ-गाउँमा नजाने आज्ञा दिनुभयो | त्यसैले यो वर्षावास बुद्धको पालादेखि नै चली आएको परम्परा हो, वर्षावासको समयमा कुनै भिक्षुले कतै जानु पर्ने भए बढीमा एक हप्ताको बिदा लिन सक्छन र पुन फर्किएर त्यसै ठाउमा आफ्नो वर्षवासलाई निरन्तरता दिन पाउछन | भगवान बुद्धले आफ्नो पहिलो वर्षा ईसापूर्व ५२७ मा सारनाथमा बस्नु भएको थियो |
चार महिनाको यो वर्षायाममा आषाढ, श्रावण, भाद्र र आश्विन महिना पर्दछन | यि चारै महिनामा पर्ने चारैवटा पुर्णिमालाई बौद्ध धर्ममा पवित्र दिन को रुपमा लिने गरिन्छ किनकी आषाढ महिनाको पूर्णिमाकै दिन सिद्धार्थ गौतमले सर्वजन हिताय सर्वजन सुखायका लागि आफ्नो घरत्याग गर्नु भएको थियो | जसलाई बौद्ध सभ्यता र संस्कृतिमा ‘महाभिनिष्क्रमण’ भनिन्छ | यसैदिन भगवान् बुद्धले सारनाथमा पंचवग्गीय भिक्खुहरुलाई (पाँच तपस्वीहरूलाई ) बुद्धत्व प्राप्त पछि आफ्नो पहिलो उपदेश दिनुभएको थियो त्यसैले आषाढ पुर्निमालाई धम्मचक्कप्पवत्तन दिवास पनि भनिन्छ। त्यसैगरी श्रावणमासको पुर्णिमाका दिन मगध जनपदका राजा अजातशत्रुको शासनकालमा राजगृहको सप्तपर्णी गुफामा ईसापूर्व ४८३ मा पहिलो बौद्ध परिषद् (प्रथम बौद्ध संगीति ) सम्पन्न भएको थियो । यस प्रथम बौद्ध संगीतिमा अर्हत आनन्द र उपालीले भगवान गौतम बुद्धका उपदेशहरू संकलन गरेका थिए। भदौ वा भाद्रपद महिनाको पूर्णिमा, जसलाई मधु पूर्णिमा पनि भनिन्छ । एक समय भिक्षु संघमा उठेको विवाद सुल्झाउन बुद्धले भदौ वा भाद्रपद महिनाको पूर्णिमाका दिन बुद्धले विहार छोडेर वनमा बिहार गर्नु भएको थियो ।
वन बिहारको बेला भिक्षु संघको भोजनमा मह अर्थात मधु पनि उपलब्ध गराइन्थ्यो। भोजनमा मह वा मधुको व्यवस्था हुने भएकाले यसलाई मधु पूर्णिमा पनि भनिन्छ । त्यसरी नै आश्विन महिनाको पूर्णिमा, जसलाई बौद्ध पवारणा पूर्णिमा भनिन्छ । यसै दिन बुद्धले आफ्नो ज्ञानप्राप्तिको १६ औं वर्षमा आफ्नी कान्छी आमा महाप्रजापति गौतमीलाई बौद्ध धर्मको दीक्षा दिनु भएको थियो । हुन त बौद्ध परम्परामा सबै पुर्णिमा र औसीको उत्तिकै महत्व रहेकोछ बुद्धको जन्म, बुद्धत्वप्राती र महापरिनिर्वाण(देहत्याग) एउटै पुर्णिमा अर्थात बैशाक पुर्णिमाका दिन भएको थियो भन्ने कुरा थाहा नै छ | बुद्धको समयमा हरेक पुर्णिमा र औसी, र अष्टमीका दिन भिक्षु, भिक्षुनीहरु एकै ठाउमा भेला भएर आआफ्नो कमिकम्जोरीहरु स्विकार गर्ने परम्परा रहेको थियो जसलाई उपसोथ भनिन्छ |