आदिवासी जनजाति महासंघ युकेको च्यारिटी डिनर १० मे मा हुदै

लण्डन । नेपाल आदिवासी जनजाति महासंघ (NEFIN UK) ले आगामी सन् २०२६ मे १० तारिख, आइतबारका दिन बेलायतको अल्डरसटस्थित एम्पाएर हलमा वार्षिक रात्रीभोज (Annual Dinner Night) कार्यक्रम आयोजना गर्ने भएको छ।
बेलायतमा बसोबास गर्ने नेपाली आदिवासी जनजाति समुदायबीच एकता, सहकार्य र सांस्कृतिक सद्भाव प्रवर्द्धन गर्ने मूल उद्देश्यका साथ आयोजना हुन लागेको यस कार्यक्रमले समुदायको गौरवमय पहिचानलाई झल्काउने आयोजकले विश्वास लिएको छ।
मे १० का दिन साँझ ५ बजेबाट सुरु हुने उक्त विशेष समारोहमा विभिन्न महत्त्वपूर्ण आकर्षणहरू समावेश गरिएको छ। कार्यक्रममा सहभागीहरूबीच आपसी भेटघाट तथा परिचय (Meet & Greet) हुनुका साथै समुदायका लागि विशेष योगदान पुर्याउने व्यक्तित्वहरूलाई नेतृत्व सम्मानद्वारा सम्मान गरिनेछ। यसका साथै, नेपालका विभिन्न आदिवासी जनजातिका मौलिक कला र संस्कृति झल्कने विविध सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउनेछ।
कार्यक्रममा परम्परागत नेपाली रात्रीभोजसँगै कार्यक्रमको अन्त्यमा आकर्षक लक्की ड्रको समेत व्यवस्था गरिएको छ। नेपाली मौलिक संस्कृति र आपसी भाइचारालाई अझ प्रगाढ बनाउने यो गरिमामय अवसरमा समयमै उपस्थित भई कार्यक्रमलाई भव्य रूपमा सफल बनाइदिन आयोजक संस्था NEFIN UK ले बेलायतस्थित सम्पूर्ण आदिवासी जनजाति समुदाय तथा शुभेच्छुकहरूमा हार्दिक अनुरोध गरेको छ।




