समाचार

कार्यकारी अध्यक्ष झा र क्युएनए अधिकारीबीच भेटवार्ता

दोहा (कतार), २१ मङ्सिरः राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झा र कतार न्युज एजेन्सी (क्युएनए) का उच्च अधिकारीहरूबीच समाचार आदानप्रदानसहित द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको छ ।

‘दोहा फोरम’मा सहभागी हुने क्रममा कतारमा रहनुभएका कार्यकारी अध्यक्ष झाले आज क्युएनएको प्रधान कार्यालय पुगी उच्च अधिकारीहरूसँग सहयोग र सहकार्यलगायत समसामयिक विषयमा छलफल गर्नुभएको हो ।

सो अवसरमा क्युएनएका समाचार विभागका निर्देशक युसुफ याकुब अल हमादी र कानुन विभागका सहायक निर्देशक आम्ना अहमद अल हमैदीले कार्यकारी अध्यक्ष झालाई स्वागत गर्दै समझदारीपत्रमा उल्लेख भएबमोजिम सहयोग र सहकार्यको नीतिलाई अझ प्रभावकारी र उपलब्धिमूलक बनाउन क्युएनएका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

क्युएनए र राससका बीच समाचार आदानप्रदान गर्ने सहमति भएपछि कतार र नेपालका साथै दुवै देशका जनता लाभन्वित भएकामा खुसी व्यक्त गर्दै क्युएनएका उच्च अधिकारीहरूले आपसी भ्रमण तथा तालिम कार्यक्रमको व्यवस्था गरी द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ, सुदृढ र मित्रवत् बनाउनुपर्नेमा जोड दिनुभयो ।

यसैगरी, राससका कार्यकारी अध्यक्ष झाले मित्रराष्ट्र कतारको समाचार समिति ‘क्युएनए’सँग साझेदारी र सहकार्य गर्न पाउनु नेपाल र राससका लागि खुसीको विषय भएको उल्लेख गर्दै नेपाली समुदायको उल्लेख्य बसोबास रहेको हाम्रो एक महत्वपूर्ण मित्रराष्ट्र कतारसँग सम्बन्धित समाचार सामग्रीलाई उच्च प्राथमिकता दिई राससले सम्प्रेषण गर्दै आएको जानकारी दिनुभयो ।

राससको सेवा र नीति तथा कार्यक्रमबारे जानकारी गराउँदै कार्यकारी अध्यक्ष झाले गुणस्तरीय समाचार सामग्रीसहित क्षमता अभिवृद्धिसम्बन्धी तालिम, पुस्तकालय सुदृढीकरण, सङ्ग्रहालय स्थापना तथा व्यवस्थापन र आधुनिक सूचना प्रविधिका क्षेत्रमा उदाहरणीय काम गरिरहेको राससले स्रोतसाधन सम्पन्न ‘क्युएनए’बाट सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

उहाँले नेपालको मध्यपूर्वमा द्विपक्षीय सम्बन्ध भएको, धेरै नेपालीको बसोबास रहेको र चमत्कारिक रुपमा विकास गरिरहेको समृद्ध एवं वैभवशाली देश कतारबाट नेपालीले सिक्नुपर्ने विषय धेरै रहेको प्रसङ्ग उल्लेख गर्नुभयो ।

कार्यकारी अध्यक्ष झाले दुवै देशका समाचार संस्थाबीच समाचार सामग्री आदानप्रदान गर्ने क्रममा हामीबीच यसअघि भएको औपचारिक समझदारीलाई अक्षरशः पालना गर्ने प्रतिबद्धता व्यक्त गर्दै सहयोग र सहकार्यको नीतिलाई अझ प्रभावकारी, फलदायी र उपलब्धिमूलक बनाउने सन्दर्भमा क्युएनए उच्च अधिकारीहरूबाट प्राप्त हार्दिकता, सदासयता र प्रतिबद्धताका लागि धन्यवाद व्यक्त गर्नुभयो ।

कतारका राजाको औपचारिक भ्रमणका क्रममा २०८१ साल वैशाख १२ गते काठमाडौँमा आयोजित विशेष समारोहमा ‘रासस’ र ‘क्युएनए’ बीच समाचार सामग्री आदानप्रदानसम्बन्धी समझदारी भएको थियो । नेपालको विकास निर्माणसहित विभिन्न गतिविधिमा सहयोग पुर्याउँदै आएको र कामका सिलसिलामा उल्लेख्य सङ्ख्यामा नेपाली समुदायको बसोबास रहेको ‘कतार’ को सरकारी समाचार समिति ‘क्युएनए’ र नेपालस्थित राज्यद्वारा सञ्चालित राससबीच समाचार सामग्री आदानप्रदान हुँदै आएको छ ।

Related Articles

Back to top button