मुक्कुमलुङ आन्दोलनका घाइतेहरूलाई मुन्चईत चोक सयङ हङकङको आर्थिक सहयोग

२३ फेब्रुअरी, काठमाडौं । याक्थुङ मुन्चईत चोक सयङ, हङकङले मुक्कुमलुङमा केवलकार खारेजी आन्दोलनका क्रममा गम्भीर घाइते भएकाहरुलाई आर्थिक सहयोग हस्तान्तरण गर्ने भएको छ ।
आन्दोलनका क्रममा गत माघ बाह्र गते केवलकार खारेजी पक्षका तीनजना गम्भीर घाइते भएका छन् । पाँचथर, मिक्लाजुङ गाउँपालिका निवासी सगुन लाओतीलाई सुरक्षाकर्मीले प्रहार गरेको गोली उनको देब्रे छाती वारपार भएर गएको थियो । गोलीले लाओतीको फोक्सोको देब्रे भाग छुँदै चार र छ नम्बर करङ तथा ढाडको स्क्यापुला हड्डी पनि भाँचिएको छ ।

तेह्रथुम, मेयङलुङ नगरपालिका निवासी यामबहादुर सुक्वाबाको पनि सुरक्षाकर्मीले प्रहार गरेको गोली देब्रे तिघ्राको हड्डी फोरेर वारपार भएको थियो । फुङलिङ नगरपालिका निवासी धर्मन पालुङ्वालाई सुरक्षाकर्मीले बन्दुकको कुन्जाले प्रहार गरी देब्रे काँधको हड्डी भाँचिदिएका छन् । अहिले तीनैजना घाइतेहरु काठमाडौंमा उपचाररत छन् ।
सोही दिन ताप्लेजुङ, मेरिङ्देन गाउँपालिका निवासी विशाल सेरेङलाई पनि सुरक्षाकर्मीको गोली लागेको थियो । पाखुरामा गोली लागेका उनलाई सुरक्षाकर्मीले कुटपिट गरी दाहिने हातको काइँली औंला भाँचिदिएका छन् । उनको टाउको र हातखुट्टामा थप चोटपटक लागेको छ । त्यस्तै, सुरक्षाकर्मीको कुटपिटबाट ताप्लेजुङ, मिक्वाखोला गाउँपालिका निवासी धोजनारायण साँवा गम्भीर घाइते भएका छन् । उनको टाउकोलगायत शरीरका विभिन्न भागमा चोटपटक लागेको छ । अहिले दुवैजना गृहजिल्ला ताप्लेजुङमा उपचाररत छन् ।
यसअघि गत कात्तिक तेईसमा केवलकार निर्माण पक्षधरले आन्दोलनरत पक्षका अर्जुन पराङ्देन लिम्बूलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका थिए । कुममा काटिएका उनी हाल झापामा उपचाररत छन् ।
ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङलिङ नगरपालिकामा शनिबार साँझ केवलकार खारेजी पक्षले निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गर्दा मुठभेड हुन गई छजना प्रदर्शनकारीहरु गम्भीर घाइते हुनुका साथै पन्ध्रजना प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तार गरेको छ । प्रहरीले आइतबार बिहानसम्म फुङलिङका विभिन्न होटेलमा खानतलासी गरी प्रदर्शनकारीलाई कुटपिट गरी गिरफ्तार गरिएको आन्दोलनरत पक्षले बताएका छन् । यसै क्रममा ताप्लेजुङ जिल्ला प्रशासनले फुङलिङ नगरपालिका र मुक्कुमलुङस्थित बलुडाँडा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।
याक्थुङ मुन्चईत चोक सयङ, हङकङको आव्हान तथा सयङका हङकङ अध्यक्ष रवीनकुमार नाल्बोको संयोजकत्वमा संचालन गरिएको आर्थिक सहयोग संकलन अभियानमा सात लाख तेईस हजार नेपाली रुपैयाँ संकलन भएको तथा हालसम्म अन्ठानब्बेजनाले आर्थिक सहयोग गरिसकेको सयङका हङकङ महासचिव हाङ चेम्जोङले जानकारी दिएका छन् । सोमबार सयङको ललितपुरस्थित संघीय कार्यालयमा एक कार्यक्रम आयोजना गरी आन्दोलनका घाइतेहरुलाई अभियानबाट उठेको सहयोग रकम हस्तान्तरण गरिने सयङका संघीय अध्यक्ष सागर केरुङले बताएका छन् ।