समाचार

जिआरएनसीद्वारा संकलित बाढीपीडितका लागि साढे २७ लाख रुपैयाँ भन्दा बढी रकम दूतावासमार्फत हस्तान्तरण गरिँदै

लन्डन । ग्रेटर रसमर नेपाली कम्युनिटी (जिआरएनसी) ले नेपालका बाढीपहिरो पीडितहरूको सहयोगार्थ संकलन गरेको १३ हजार ५६५ पाउन्ड ९ पेन्स रकमको औपचारिक चेक आगामी शुक्रबार लन्डनस्थित नेपाली राजदूतावासमा हस्तान्तरण गर्ने भएको छ।

जिआरएनसीको अध्यक्ष लिला सेलिङ माबोका अनुसार संस्थाले बाढीपीडितहरूको सहयोगका लागि कुल £१३,५६५.०९ (करिब २७ लाख ६० हजार रुपैयाँ) संकलन गरेको हो। जिआरएनसी संग नजिकमा काम गर्ने संस्थाहरु जस्तै रश्मोर बरो काउंसिल, फ़ार्नबोरो एयरपोर्ट, फ़ार्नबोरो फुटबल क्लब साथै फ़ार्नबोरो अनि अल्दरशोत रोटरी क्लबहरु अनि गैर नेपालीहरुले उल्ल्नेखनिय सहयोग गरेको महासचिवले जानकारी दिएका छन। उक्त रकम दुई चरणमा नेपाली राजदूतावासको बैंक खातामा जम्मा गरिसकिएको अध्यक्ष माबोले जानकारी दिनु भएको छ।

संकलित रकमको औपचारिक चेक हस्तान्तरणका लागि नेपाली राजदूतावासले जिआरएनसीका अध्यक्ष सहित प्रतिनिधिमण्डललाई २३ अक्टोबर २०२६, शुक्रबार बिहान ११ बजे दूतावासको कार्यालयमा आमन्त्रण गरेको छ।

अध्यक्ष माबोका अनुसार चेक हस्तान्तरण कार्यक्रम आर्थिक सहयोग औपचारिक रूपमा प्रस्तुत गर्ने अवसर मात्र नभई दूतावासका पदाधिकारीहरूसँग भेटघाट तथा नेपालमा बाढीपहिरोबाट प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे छलफल गर्ने महत्त्वपूर्ण माध्यमसमेत हुनेछ। यसले सहयोग रकमको पारदर्शिता सुनिश्चित गर्दै दाताहरूलाई समेत आर्थिक सहयोगको विवरण प्रस्तुत गर्न सहज हुने उहाँको भनाइ छ।

नेपालमा बाढीपहिरोबाट प्रभावित नागरिकहरूको राहत तथा सहयोगका लागि प्रवासमा रहेका नेपाली समुदायले देखाएको सक्रियता र एकताले मानवीय सहयोगप्रतिको प्रतिबद्धतालाई थप उजागर गरेको छ। जिआरएनसीले संकलन गरेको उक्त रकम पनि पीडितहरूको सहयोगका लागि समुदायले गरेको सामूहिक प्रयासको एउटा उदाहरणका रूपमा रहेको छ।

Related Articles

Back to top button