धनकुटामा एमालेको जनप्रदर्शन

धनकुटा,३ असोज । लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि भन्दै संविधान दिवसको अवसरमा नेकपा एमाले धनकुटा र युवा संघ धनकुटाको आयोजनमा धनकुटामा जनप्रदर्शन गरेको छ ।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनपछिका गतिबिधिले गणतन्त्र धरापमा पर्ने भन्दै त्यसको बिरोधमा एमालेले जनप्रदर्शन गरेको एमाले धनकुटाका अध्यक्ष शिव लिम्बुले बताए ।
धनकुटाको मदन चोकबाट सुरु भएको जनप्रदर्शन हुलाकटोल, वीचबजार, भीमनारायण चोक, माथिल्लो कोप्चे, तल्लो कोप्चे हुँदै मदनचोकमा आएर सभामा परिणत भएको थियो। सभालाई एमाले धनकुटाका इन्चार्ज तथा पूर्वमन्त्री राजेन्द्र कुमार राईले जेनजीको नाममा भएका अराजक गतिबिधीहरु छानबिन गर्नुपर्ने माग गरे ।
एमाले धनकुटाले जनप्रदर्शनमा जेनजी आन्दोलनका नाममा आगजनी र लुटपाट गर्ने कारबाही गर, संविधानको रक्षा गर लगायतका प्लेकार्ड प्रदर्शन गरेको थियो।
संविधानको रक्षाका लागि भन्दै एमालेले संविधान दिवसको अवसर पारेर देशभर जनप्रदर्शन गरेको थियो।




