समाचार

कवि अनमोलको ‘अन्तिम कुमारी रात’ सङ्ग्रहको लोकार्पण

३१ अगष्ट, बिर्तामोड । सञ्चारकर्मी तथा कवि लीला अनमोलको कविता संग्रह ‘अन्तिम कुमारी रात’ को बिर्तामोडकाे साई पार्टि प्यालेसमा लोकार्पण गरिएको छ । केहीदिन अघि काठमाडौंमा बिमोचन गरिएको अनमोलको कविता संग्रह ‘अन्तिम कुमारी रात’ को गृह जिल्ला झापामा शनिबार लोकार्पण गरिएको हो ।

अनमोलको कविता संग्रहको लोकार्पण कार्यक्रममा कवि तथा साहित्यकार प्रमुख अतिथि मनु मञ्जिलले रहेका थिए । प्रमुख अतिथि मन्जिलले साहित्य, कला संगीतमा मोफसल भन्ने नरहेको बताए ।राजधानीवासीले समेत अब त साहित्य लेख्न केही समय राजधानी छोडेर मात्र लेख्न सक्ने बताए । कुनै साहित्यकार गीतकार संगीतकारहरू एउटा ठाउँ विशेषको नभएर सिङ्गो राष्ट्रको हुने धारणा राखे ।

नेपाल लेखक संघ झापाको आयोजना तथा किरात मुन्धुम प्रतिष्ठान दमकको सह–आयोजनामा आयोजित कार्यक्रममा “अन्तिम कुमारी रात “नामक कविता संग्रहको समीक्षा साहित्यकार टीका आत्रेय र प्राज्ञ मुना राज शेर्माले गरेका थिए । लेखक संघ झापाका अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम समीक्षाको सहजीकरण साङ्सेन पन्धाकले गरेका थिए ।

अनमोलको कवितामा धेरै चुनौतीहरू रहेको प्रेम विश्वास, घात प्रतिघातमा खुलेर बोल्न लेख्न नेपालमा कमै मात्र महिला कविहरू रहेको समीक्षक टीका आत्रेयले भनिन् ।कविता लेखनको क्रममा उनको साहस र आँटको आत्रेयले  प्रशंसा गरिन् ।

अर्का समीक्षक प्राज्ञ मुनाराज शेर्माले उपत्यका बाहिरका कविहरुका कविता तमसुक हुने गरेको केन्द्रको आरोप रहेको बताउँदै अनमोलको कविता समयसापेक्ष एकदमै उत्कृष्ट भएको बताए ।

अनमोलको दुई वटा कविता कवि पत्रकार प्रज्ज्वल अधिकारीले वाचन गरे । अग्रज पत्रकार चन्द्र भण्डारी , साहित्यकार कृष्ण वराल, साहित्यकार पुन्य खरेल, गीतकार शिव शंखर थापाले कार्यक्रममा शुभकामना दिए । कार्यक्रममा झापा, माेरङ, सुनसरी, काठमाडौ, दार्जिलिङका कवि साहित्यकारहरूको उल्लेख्य उपस्थिति रहेको थियाे ।
स्वागत कवि तथा साहित्यकार केशव आर्चायले गरेको कार्यक्रमको सञ्चालन गजलकार विवश बलिभद्र कोइरालाले गरेका थिए । साेही कार्यक्रमकाे अर्काे खण्डमा कवि तथा गजलकार बाबु त्रिपाठीको एकल गजलकाे कार्यक्रमले दर्शक लाई मन्त्र मुग्ध वनाएकाे थियाे । गजल वाचनकाे कार्यक्रमकाे सञ्चालन गजलकार सुनिता तामाङले सञ्चालन गरेेकी थिइन् ।

Related Articles

Back to top button