आदिवासी

मिक्लाजुङमा लोपोन्मुख राउटे जाति मेला सुरु, ८ दिनसम्म सञ्चालन हुने

मोरङ, ३ जेठ। मोरङको मिक्लाजुङ गाउँपालिका–३ स्थित निसेलुङ याक्थुङ भिलेजमा लोपोन्मुख राउटे जातिको संरक्षण, अध्ययन तथा सांस्कृतिक आदानप्रदान गर्ने उद्देश्यले विशेष मेला शनिबारदेखि सुरु भएको छ।

 

मेला लगातार ८ दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

 

कार्यक्रमको उद्घाटन मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबीकुमार राईले प्रमुख अतिथिको रूपमा गरेका थिए। उद्घाटन समारोहमा उनले राउटे समुदायको संरक्षण, पहिचान र जीवनशैलीबारे अध्ययन गर्न यस्ता कार्यक्रमको महत्व उल्लेख गरे।

 

कार्यक्रममा पूर्व प्रदेश सांसद कुशल लिम्बु लगायत स्थानीय जनप्रतिनिधि, समाजसेवी र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

मेलामा राउटे समुदायका परिवारहरूसँग प्रत्यक्ष भेटघाट, छलफल, अध्ययन– अवलोकन, फोटो खिच्ने तथा सांस्कृतिक अन्तरक्रिया गर्ने कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। सहभागीहरूले राउटे समुदायसँग भलाकुसारी गर्दै उनीहरूको दैनिकीबारे जानकारी लिने अवसर पाएका छन्।

 

उक्त कार्यक्रममा स्थानीयसहित टाढा–टाढाबाट आएका पर्यटकहरूको उल्लेखनीय सहभागिता देखिएको छ। आयोजकका अनुसार मेलाले राउटे समुदायप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै सांस्कृतिक संरक्षणमा टेवा पुग्ने बताइएको छ।



Related Articles

Back to top button

This will close in 0 seconds