समाचार

हङकङमा याङ्वरक साङ्गीतिक साँझ हुँदै

७ जून, हङकङ । लिम्बुवानकाे ऐतिहासिक थुम याङ्वरककाे महत्त्वलाई उजागर गर्न हङकङमा याङ्वरक साङ्गीतिक साँझ हुने भएको छ । सिरिजङ्गा सिं थेबे प्रतिष्ठानकाे सहयाेगार्थ समेत साँझ हुने भएको हाे ।

जून २९ तारिख बलु ओशन रेष्टुरेन्ट एन्ड बारमा हुने साँझमा चर्चित गायक ब्रबिम शेर्मा, मञ्जु कङलिबा, साक्थिम याेङ्या, गङ्गा फियाक, मनुता काम्वाङ, इन्दिरा नेम्वाङ लगायतले प्रस्तुति दिने आयोजक पान्थर मञ्च हङकङले जनाएको छ । कार्यक्रम बेलुकी ७:३० बाट सुरु हुनेछ ।

‘ऐतिहासिक याङवरकको बिषयमा आज सम्म कहीँँ पनि विस्तृत कार्यक्रम तथा चर्चा चलेको छैन त्यसैले हङकङ बाट यसको चर्चा परिचर्चा सुरु गर्न लागिएको छ,’ आयोजकतर्फबाट बाेल्दै चलचित्रकर्मी माैसम इम्बुङले भने, ‘याक्थुङ लिम्बू र किराती समुदायले प्रयोग गरिरहेको सिरिजंगा लिपि जस्तो महत्त्वपूर्ण लिपिका निर्माणकर्ता महान सहिद त्येअंशी सिरिजंगा सिङ्थेबे जन्मिएको पवित्र भूमि ऐतिहासिक याङवरक थुमको बिषयमा सबै नेपालीले जानकारी लिई राख्दा राम्रै हुन्छ ।’

हालको राजनीतिक भूगोल विभाजनमा ऐतिहासिक याङवरक थुम ताप्लेजुङ र पाँचथरमा विभाजन भएतापनि ऐतिहासिक याङवरक थुमलाई मध्यनजर गरेर हङकङमा यो कार्यक्रम गरिन लागेकाे इम्बुङले जनाए ।

थिवाेङ याक्थुङ(दश लिम्बु शाषक)हरूमध्ये प्रशासनिक इकाई र भूगोल बाँडफाँड गर्ने क्रममा थिन्दाेलुङ खाे?याङ राजाले याङ्वरक थुममा आई शासन गरेको इतिहासकारहरूले जनाएका छन् । उनले हाल हिलिहाङ गाउँपालिकामा पर्ने हस्तपुरमा गढी बनाएको इतिहास छ । पछि, याेङहाङ वंशीहरूसँगकाे युद्धमा विस्थापित भएपछि दरबार र गढी याेङहाङकाे कब्जामा आएको थियोे । याङ्वरककाे नामकरण थर्पूछेउकाे याङ्वरक पाेखरीबाट भएको स्थानीयहरू बताउँछन् । च्याङ्थापू, फलैँचामा रहेको माङ्गेन्ना यक याक्थुङ समुदायभित्र सबैभन्दा बढी ६८ थरीहरूले मान्ने गरेको अनुसन्धाताहरूले जनाएका छन् ।

 

Related Articles

Leave a Reply

Back to top button