समाचार
Trending

पहिचानवादी माेर्चाले आन्दोलनलाई निष्कर्ष पुर्‍याउनेछ’ – डा. लाओेती

२३ मे, ताप्लेजुङ । पहिचानवादी शक्तिहरूकाे देशव्यापी ध्रुवीकरणका लागि पहिचानवादी माेर्चाले सहजीकरण गर्ने संयाेजक प्रा.डा. महेन्द्र लाओतीले जनाएका छन् । उनले नेपालमा राजनीतिक स्थिरता ल्याउन र लामाे समयदेखि चलिरहेको पहिचानको आन्दोलनलाई निष्कर्षमा पुर्‍याउन माेर्चाले सबै पहिचानवादी शक्तिलाई एक ठाउँमा ल्याउने बताएका छन् ।

बिहीबार ताप्लेजुङको सदरमुकाम फुङलिङमा नेपाल पत्रकार महासङ्घकाे कार्यालयमा आयोजित पत्रकार सम्मेलन बाेल्दै डा. लाओेतीले एकलजातीय राज्यलाई बहुजातीय र समावेशी राज्यमा रुपान्तरण गर्न माेर्चाले काम गर्ने बताए ।

त्यस्तै, उनले राज्यको राजनीतिक चरित्र बहुसाँस्कृतिकवाद र  समाजवादी रहने जनाए । ‘बहुसाँस्कृतिकवादअन्तर्गत स्वायत्तता र स्वशासनकाे अधिकार, साँस्कृतिक र जातीय अधिकार, समावेशी समानुपातिक प्रतिनिधित्व रहनेछ,’ डा. लाओेतीले जनाए ।

डा. लाओतीले गत बैशाख १५ गते भएको इलाम-२ उपनिर्वाचनकाे परिणामलाई आत्मसात् गर्दै परिष्कृत माेडल अवलम्बन गर्ने जनाए । उनले ०८४ काे निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमा व्यापक सिट जित्ने दाबी गरे । उनले राजनीति दल र माेर्चा दुवै समानान्तर रूपमा बढ्ने भन्दै शक्तिको नाम, चिन्ह लगायत पदीय जिम्मेवारी बाँडफाँड छलफलका आधारमा गरिने बताए । उनले माेर्चा देशव्यापी रूपमा मात्रै प्रदेश स्तर र जिल्लास्तरमा पनि गठन गरिने बताए ।

सत्ता समीकरणमा फेरबदल आएसँगै जनता समाजवादी पार्टी, नेपाल (जसपा, नेपाल) बाट बैशाख २३ गते विभाजन भई नयाँ दलको रूपमा जनता समाजवादी पार्टी (जसपा) बनेको थियोे । यी दुवै समूह पहिचानको मुद्दाप्रति इमानदार नरहेकाे भन्दै तेस्रो धारले प्रा.डा. महेन्द्र लाओेतीको संयोजकत्वमा बैशाख २७ गते पहिचानवादी मोर्चा घोषणा गरेको थियोे । पहिचान यात्रा अभियानअन्तर्गत माेर्चा पूर्व लिम्बुवान क्षेत्रबाट कार्यकर्ता र समर्थक भेटघाटमा जुटेकाे थियोे ।

सम्मेलनमा माेर्चाका सदस्य खगेन्द्र माखिम, पूर्वमेजर असिम पालुङ्वा, चन्द्र मादेन, कीर्तिमान मादेन लगायतका नेताहरूको उपस्थिति रहेको थियोे ।

त्यसअघि, डा. लाओेतीले जसपा एवम् अन्य दलका नेता कार्यकर्ताहरूसँग ताप्लेजुङमा भेटघाट गरेका थिए । अभियान यसअघि धरान, धनकुटाकाे पाख्रिवास, तेह्रथुमकाे फेदाप, आठराई, पान्थरकाे या:सकमा भएको माेर्चा सदस्य खगेन्द्र माखिमले जनाए ।

Related Articles

Leave a Reply

Back to top button